भक्तपुर नगरपालिका, बहुउद्देश्यीय व्यवसायिक भवन निर्माण तथा सञ्चालनसम्बन्धी कार्यविधि २०७९ सर्वसम्मतिबाट पारित

भक्तपुर नगरपालिका, बहुउद्देश्यीय व्यवसायिक भवन निर्माण तथा सञ्चालनसम्बन्धी कार्यविधि २०७९ सर्वसम्मतिबाट पारित
भक्तपुर । २०७९ फागुन ४ गते, बिहिबार
भक्तपुर नगरपालिकाको तेह्रौं नगरसभाको पाँचौ दिन सभा चालु रह्यो । भक्तपुर नगरपालिकाका प्रमुख एवम् तेह्रौं नगरसभाका सभाअध्यक्ष सुनिल प्रजापतिको अध्यक्षतामा बिहीबार बसेको नगरसभाको बैठकले भक्तपुर नगरपालिका, बहुउद्देश्यीय व्यवसायिक भवन निर्माण तथा सञ्चालनसम्बन्धी कार्यविधि २०७९ सर्वसम्मतिबाट सुझाव सहित पारित ग¥यो ।
सभामा सभाध्यक्ष प्रजापतिले भक्तपुर नगरपालिकाले आवश्यक जग्गामा नगरपालिका र नगर क्षेत्रभित्र सञ्चालित सहकारी संस्थाहरुको संयुक्त लगानीमा जनताको सहजताको लागि बहुउद्देश्यीय व्यावसायिक भवन निर्माण गरी सञ्चालन गर्न कार्यविधि बनेको बताउनुभयो ।


आज बसेको नगरसभाको विशेष समयमा सभासद्हरु मञ्जुमैंया लाखा, रिता फसिकवा, सुमित्रा बोहजु, हेरा ख्याजु, नारायणप्रसाद त्वानाबासु, पुरुषोत्तम तमखु, जितेन्द्र मुनंकर्मी, कृष्ण नारायण देशेमरु, सूर्यप्रसाद श्रेष्ठ, श्यामसुन्दर मातां, कृष्णलाल किसी, सिद्धिराम अवाल र गोविन्द दुवालले भक्तपुरनपाद्वारा सञ्चालित नगरस्वास्थ्य केन्द्रमा स्वास्थ्य सेवा विस्तार, ख्वप अस्पतालको सेवा र पार्कि· व्यवस्थापन, सुधारिएको शवदाह गृह व्यवस्थापन, पार्किङ व्यवस्थापन, अव्यवस्थित तार व्यवस्थापन, सडक बत्तीको सुधार, कृषकहरुलाई निःशुल्क वीउ विजन वितरण, आवास योजनाहरुमा सडक पेटी व्यवस्थापन लगायतका विषयमा आ–आफ्नो जिज्ञासा राख्नुभयो ।


सभामा उठेका जिज्ञासामाथि प्रष्ट पार्दै सहकारी समितिका संयोजक हरिप्रसाद बासुकलाले नगरभित्र सञ्चालित सहकारी संस्थाहरु सुरक्षित रहेको, सहकारीहरुले भाखा नाघेको ऋण व्यवस्थापन नगर्दा केही सहकारीहरुमा समस्या आएको र जग्गा बहाल करसम्बन्धी कुरा अघि बढिरहेको लगायतका धारणा राख्नुभयो भने स्वास्थ्य, शिक्षा, संस्कृति तथा वातावरण समितिका सदस्य रविन्द्र ज्याख्यले ख्वप अस्पतालमा विरामीको चाप हेरी सेवा विस्तार र सुधार गर्न प्रयास गरिने, आयुर्वेद औषधीका लागि थप बजेटको व्यवस्था गर्ने प्रयास रहने तथा घुम्ती सरसफाइको लागि समितिमा छलफल गरिने लगायतका धारणा राख्नुभयो । त्यसैगरी निर्माण समितिका संयोजक उकेश कवांले विकास निर्माण सम्बन्धी जिज्ञासामाथि प्रष्ट पार्दै वार्षिक बजेट र योजनामा समावेश भएको योजनालाई प्राथमिकतामा राख्दै कार्य गरिने र खोलाको मापदण्ड २० मीटर कायम गर्न प्रयास गर्दै आएको तथा सुधारिएको शवदाह गृह स्तरोन्नतीको लागि प्राविधिक सुझाव अनुसार अगाडि बढाइने बताउनुभयो ।
सभामा नगर प्रमुख प्रजापतिको अनुमतिमा विधायन समितिका संयोजक हरिराम सुवालले भक्तपुर नपाद्वारा सञ्चालित ख्वप कलेज अफ लको प्रस्तावित विनियम, २०७८ सभामा छलफलको लागि सभामा प्रस्तुत गर्नुभयो ।
सभाध्यक्ष प्रजापतिले नगरसभाको अर्को बैठक फागुन ८ गते सोमबार दिनको १ बजे बस्नेगरी आजको बैठक सकिएको जानकारी गर्नुभयो ।