आज २२ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस, मुल समारोह भक्तपुरमा भब्यरुपमा मनाउदै 

माघ २, भक्तपुर ।
“भूकम्पबाट सुरक्षित पुर्वाधार, दिगो सुख र समृद्धिको आधार” नाराका साथ बिहिवार यस वर्षको राष्ट्रिय भूकम्प सुरक्षा दिवस मुल समारोह भक्तपुरको ऐतिहासिक दरवार क्षेत्रमा मनाइदै छ । मूल समारोह भव्य रुपले मनाउन आज मध्यान्ह १२ बजे कमलविनायक, लामगाल र दुधपाटी भाज्य पोखरीबाट दुई वटा र्याली आयोजना गरिने छ । भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिको अगुवाईमा कमलविनायक,लामगालबाट र उपमेयर रजनी जोशीको नेतृत्वमा भाज्या पोखरीबाट प्लेकार्ड सहित सचेतनामुलक र्याली आयोजना हुने छ । र्यालीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल रेडक्रस सोशाइटी, नेपाल स्काउट र विभिन्न विद्यालय तथा कलेजका विद्यार्थी एवं सहभागिहरुका साथ साँस्कृतिक नाँच एवं परम्परागत बाजाहरुको टोलि सहभागि हुने छन् । ऐतिहासिक नगरमा ऐतिहासिक रुपले राष्ट्यि भूकम्प सुरक्षा दिवस मनाउने भएको हो । र्याली हुनु पूर्व नेपाल रेडक्रस सोशाइटी भक्तपुर, एनसेट, नेपाल स्काउट, ख्वप कलेजले भूकम्पीय जोखिम न्यूनिकरण र पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धि नमुना अभ्यास तथा सडक नाटक, कृतिम घटना अभ्यासहरु प्रस्तुत गर्ने छन् ।
देशमा भूकम्पीय जोखिम न्यूनीकरण तथा पूर्व तयारीका विषयमा विगतका प्रयास तथा अनुभवहरुको आदान प्रदान गर्दै नयाँ प्रविधि र उपायहरुको प्रभावकारी कार्यन्वयनका लागि प्रतिवद्धता जनाउने उद्देश्यले २०५५ साल देखि गृह मन्त्रालयको संयोजकत्वमा नेपाल सरकारले हरेक बर्ष माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउँदै आएको हो ।
राष्ट्रिय भूकम्प सुरक्षा दिवस भक्तपुर नगरपालिका क्षेत्रमा मुल समारोह आयोजना हुनेछ । सभाको उद्घाटन प्रधानमन्त्रीले गर्ने भनिए पनि गृहमन्त्री रामबहादुर थापाबाट उद्घाटन गर्ने अन्तिम तयारी रहेको राष्ट्रिय भूकम्प सुरक्षा दिवस प्रचारप्रसार उपसमितिले जनाएको छ । समारोह परिसरमा ख्वप इन्जिनियरिग कलेजको तर्फबाट भूकम्प प्रविधि सम्बन्धि शैक्षिक प्रदर्शनी पनि आयोजना गर्ने छन् । काठमाण्डौको राष्ट्यि सभागृहमा पनि तीन दिनसम्मको भूकम्प प्रविधि सम्वन्धि प्रदर्शनी रहने छ । साथै देशैभर संघ, प्रदेश र स्थानीय पालिकाहरुको तर्फबाट पुस १५ देखि माघ १५ गतेसम्मका लागि विभिन्न जनचेतनामूलक कार्यक्रमहरु आयोजना गरि मनाइरहेको छ । यद्यपी आर्थिक भौतिक र प्रविधिको पहुँच नपुगेका भूकम्प पीडित समुदायको लागि यी कार्यक्रमहरुले मात्रै छुननसक्ने भएकाले यस्तो सचेतनामूलकका साथै उठानशिलताका गतिविधीहरु पनि गर्न आवश्यक रहेको विश्लेषकहरु बताउँछन् ।

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस ।।

आज माघ २ गते अर्थात् वि.स. १९९० मा महाभूकम्प गएको दिन । यस दिनको स्मरणमा ‘भूकम्पबाट सुरक्षित पूर्वाधार ः दिगो, सुख र समृद्धिको आधार’ भन्ने नाराका साथ आज २२ औं भूकम्प सुरक्षा दिवस मनाइंदै छ । नेपालमा बेलाबेला ठूला भूकम्प जाने र ठूलो जनधनको क्षति हुने गरेको छ । भूकम्पीय जोखिम न्यूनीकरण गर्न विभिन्न प्रयास भइरहे पनि नेपालको पूर्व, मध्य र पश्चिम क्षेत्रमा जमिनमुनि शक्ति सञ्चय भइरहेकाले पूरै नेपाल भूकम्पीय जोखिममा रहेको भूगर्भविद्हरु बताउँछन् । वि.सं. ११९० माघ २ गते नेपालमा ८.३ रेक्टर स्केलको महाभूकम्प गएको थियो । त्यस भूकम्पमा करिब आठ हजार मानिसको मृत्यु भएको थियो । भूकम्पबाट हुने जोखिमलाई न्यूनीकरण गर्न भन्दै माघ २ गतेलाई ‘राष्ट्रिय भूकम्प सुरक्षा दिवस’ का रुपमा मनाउने गरिएको छ । नब्बे सालपछि नेपालमा २०७२ वैशाख १२ मा ७.६ रेक्टर स्केलको भूकम्प गएको थियो । खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अनुसार पूरै नेपाल भूकम्पीय जोखिममा छ । कम जोखिम क्षेत्र यो हो भनेर भन्ने ठाउँ नै नभएको उहाँले बताउनुभयो । हिमालय, भूकम्पीय उथलपुथलका कारण बनेको क्षेत्र भएको भन्दै अधिकारीले प्रत्येक ठाउँ जोखिममा रहेको नेपालीहरु जोखिम क्षेत्रमै बसोबास गर्दै आएको बताउनुभयो । २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्र बनाएर गएको ७.६ रेक्टर स्केलको विनाशकारी भूकम्प पछि ५० हजारभन्दा बढी परकम्प गएका छन् । २०७२ को भूकम्पमा करिब ९ हजार मानिसको मृत्यु भएको थियो भने २२ हजार मानिस घाइते भएका थिए । आठ लाख घर क्षति भएको भूकम्पका कारण सात खर्ब रुपियाँ बराबरको भौतिक क्षति भएको थियो ।