भक्तपुर, पुस १५ गते
सुनको जलपले वाकुपति चाँगुनारायणको मन्दिर तल्कने भएको छ । वाकुपति चाँगु नारायणको मन्दिरमा सुनको जलप लगाएको तामाको छानो छाउन सुरु भएको हो । यो शुभ कार्यसँगै नेपाल भ्रमण वर्ष २०२०को अवसरमा सम्पदा पदयात्रा गर्ने यात्रीहरुलाई योमरी खुवाउने भएको छ । भ्रमण वर्षको पूर्वसन्ध्यामा भक्तपुर नगरपालिकाले दरवार क्षेत्रबाट सुरु गर्ने सम्पदा पद यात्रामा आउने यात्रीहरुलाई मंगलवार साँझ योमरी खुवाउने कार्यक्रम राखिएको हो । साँस्कृतिक झांकी, भजन किर्तन र नाँच गानका साथ मंगलबार सांझ साँस्कृति सम्पदा पद यात्रा दरवार क्षेत्रमा ठूलो घण्टा र ३२९ वर्ष पूरानो नगरा बजाएर सुरु हुने छ भने पद् यात्राले नगरपरिक्रममा गर्दै वाकुपति नारायण परिसरमा प्रवेश गरेपछि योमरी खुवाउने कार्यक्रम तय भएको वाकुपति चाँगुनारायण मन्दिर छाना निर्माण उपभोक्ता समतिका सचिव रविन्द्र कुसीले जनसञ्चार खवरलाई बताएको छ । एक हजार सम्पदा पद यात्रीलाई योमरी खुवाउने योजना रहेको उहाँले बताए ।

सम्पदा पद यात्रामा आएका हजारौ यात्रुहरुले स्थानीय समुदायबाट ९१ लाख आर्थिक सहयोग जुताएपछि संकलित रकमको सदुपयोग गर्दै सो मन्दिरको छाना सुनको जलपले तल्काउन थालेको प्रत्यक्ष हेर्न सक्ने छन् । भक्तपुर नगरपालिका वडा नम्वर ९ स्थित सूर्यमढी टोलमा रहेको वाकुपति चाँगुनारायण मन्दिरको सम्पूर्ण छानामा सुनको जलप सहितको तामाको पाता छाउने कार्य तिब्र्र पारिएको छ । यसै पुस मसान्तभित्र एक किलो सुनको जलपले भ्याएसम्म छाना छाउने कार्य सम्पन्न गर्ने छन् । गत दुई वर्षदेखिको निरन्तर प्रयासले जम्मा गरेको ९० लाख आर्थिक सहयोगबाट ६० लाखमा एक किलो सुन किनेर सुनको जलप भएको छाना छाउने कार्य थालेको वाकुपति चाँगुनारायण मन्दिर तामा छाना निर्माण उपभोक्ता समितिका अध्यक्ष आशकाजी प्रजापतिले बताए । दुई करोड पचास लाख लागत इष्टिमेटका साथ सुनको जलप भएको तामाको छाना छाउने उदेश्य अनुसारअझै एक करोड पचास लाख जति आर्थिक सहयोग जुताउन बाँकी हुँदै छाना छाउने कार्य सुरु गरेको उहाँले बताउनु भयो । ऐतिहासिक वाकुपति नारायण मन्दिरमा सुनको जलपले छाना छाउने भन्दै घर दैलो पुगेर १३ सय भन्दा बढीबाट ९० लाख आर्थिक सहयोग संकलन गरेको स्मरण गराउँदै अध्यक्ष प्रजापतिले सहयोग गर्न चाहनेहरुले काम सुरु गरेको छैन कसरी सहयोग गर्ने ? भन्ने जस्तो प्रश्न सोध्न थालेपछि संकलित रकमबाट छाना छाउने कार्य सुरु गरेको बताए । जति सहयोग रकम जम्मा हुन्दै जान्छ त्यति नै छाना छाउने कार्य अगाडी बढाउने जानकारी दिन्दै आवश्यक सहयोग गर्न उहाँले आग्रह गर्नु भएको छ । दिनभर संकलन भएको आर्थिक सहयोग भपाई बनाई उपभोक्ता समितिको नाममा भक्तपुर साकोसमा खोलिएको खातामा जम्मा गरिरहेको भन्दै उहाँले सहयोग रकमबाट छाना छाउने कार्यमा बाहेक अन्यत्र एक पैसा पनि खर्च नगरेको बताए । स्वयंसेवकहरुलाई चिया नास्ता र खाजाको लागि समेत स्वयंसेवकहरुबाट खर्चको व्यवस्था गर्दै सहयोग रकमलाई पारदर्शिरुपमा अभिलेख राख्ने आएको उपभोक्ता समितिका सदस्य तथा हाल आर्थिक सहयोग संकलनको जिम्मेवारी लिन्दै आएका कृष्णगोपाल प्रजापतिले बताए । दैनिक एक दुई हजार देखि कुनै दिन एक लाख भन्दा बढी पनि सहयोग संकलन भएको भन्दै उहाँले रसिद कातेर मात्र सहयोग संकलन कार्य गरिरहेको बताउनु भयो ।

मन्दिरको नियमित छलफल, बैठक र काममा समेत सदस्य र स्वयंसेवकको आफ्नै सहयोग रकमबाट भोज र चिया नास्ताको व्यवस्था गर्दै समुदायको सहयोगलाई पूर्णरुपले मन्दिरको छाना छाउने कार्यमै खर्चि रहेको उपभोक्ता समितिका सचिव रविन्द्र कुसी बताउँछन् । ऐतिहासिक मल्ल कालिन वाकुपति नारायणको अर्थ धानको भारीमा उत्पति भएको मन्दिरको रुपमा चिनिन्दै आएको छ । वाकुपति मन्दिरको उपत्पतिको कथा एक मल्ल राजा दैनिक रुपमा चाँपको घारीमा उत्पति भएको चाँगुको चाँगु नारायण मन्दिर दर्शन गरेर मात्रै दैनिकि चलाउथे । भक्तपुरबाट चाँगुसम्म चाँगुनारायण दर्शन गर्न जानेक्रममा मनोहरामा बाढी आएर ४ दिनसम्म चाँगुनारायणको दर्शन गर्न नपाएपछि चाँगुनारायण स्वयंले मलाई दर्शन गर्न यहाँसम्म आइरहन नपर्ने वाकुपति नारायण नै मेरो प्रतिरुप हो भनेपछि त्यहि विश्वासका साथ वाकुपति चाँगुनारायण मन्दिरको स्थापना गरी पूज्दै आएको जनविश्वास छ । धान उत्पादन वृद्धि हुने जनविश्वास पनि वाकुपति चाँगु नारायणमा रहेको छ । विश्व सम्पदा सूचीमा सूचिकृत ऐतिहासिक चाँगुनारायणको प्रतिरुप वाकुपति चाँगुनारायण हो भन्नेमा स्थानीयबासी विश्वस्थ छन् । चाँगुनारायण मन्दिरसँगको नियमित पूजापाठ र संस्कारले पनि यसै गरी ऐतिहासिक सम्बन्ध रहँदै आएको भन्दै ऐतिहासिक मन्दिरलाई थप सुन्दर बनाउन वाकुपति चाँगु नारायण मन्दिरको छानोमा सुनको जलप लगाउने पवित्र कार्य थालेको उपभोक्ता समितिको ठहर छ । सम्पदा संरक्षण गर्दा झिंगतिले झनै आकर्षण बनाउने भए पनि सुनको जलप लगाएर तामाको छाना छाउँदा झनै सम्पन्न र समृद्धि हुने भएकाले स्थानीय धर्मालम्बीहरुको संयुक्त प्रयासले सो कार्य थालेको भन्दै स्थानीयवासी नहकुल प्रजापतिले आवश्यक सहयोगका लागि आफूहरु पनि घरदैलोमा पुगेर समुदायसँग सहयोग जुताउँदै आएको बताउनु हुन्छ ।

मन्दिरमा पटक पटक चोरी चकारी भए पछि सुरक्षाको लागि मन्दिरमा ५ वटा सिसि क्यामेरा वडा कार्यालयबाट जडान गरि दिएको छ । मन्दिरको चारैतिर फलामको बार लगाई सुरक्षित बनाएको छ । ऐतिहासिक मन्दिर परिसरमा धर्मशाला, पाटीहरु र अन्य न्हेपंस्या द्य, सरस्वति, महादेव लगायतका देवदेवीहरुका साथ तुलसीको बारी पनि लगाएका छन् । नेपाल भ्रमण वर्ष २०२०का क्रममा वाकुपति नारायण मन्दिर पनि भक्तपुर नगरको पर्यटन प्रवर्धनका लागि एक आकर्षक गणतव्यको रुपमा व्यवस्थित हुँदै छ । २०७२ सालको विनासकारी भूकम्पले भत्किएका पाटी र धर्मशालाहरु धमाधम बन्दै छन् । अवको दुई वर्षमा निर्माण कार्य सम्पन्न हुनेमा स्थानीयबासी विश्वस्थ छन् । वाकुपति चाँगु नारायण मन्दिर व्यवस्थापन र सञ्चालनका लागि पुर्खाले ४ सय रोपनी जग्गा व्यवस्था गरेको भनिए पनि अहिले नियमित पूजापाठ गर्नलाई समेत स्रोतको अभाव हुने गरेको भन्दै पुजारी श्यामकृष्ण राज भण्डारीले स्थानीयको सहयोगबाट दैनिक पूजापाठ गर्दै आएको बताउनु हुन्छ । मन्दिरको जग्गा सबै गुठी अन्तर्गत रैतानि गराएपछि मन्दिर सञ्चालनका लागि चाहिन परम्परागत स्रोत अपुग भएको पूजारी राजभण्डारीको भनाई छ ।
मन्दिर परिसरको सम्रक्षणको लागि भक्तपुर नगरपालिकाले पनि चासो राख्दै आर्थिक सहयोग समेत गर्ने भएका छन् र स्थानीय दाताहरुको सक्रिय सहयोगबाटै पनि वाकुपति नारायणको सम्रक्षण हुँदै आएको छ । मन्दिरको छानामा सुनको जलप लगाउन ललितपुर मंगलबजारको कलाकर्मीहरुको टिम दिन भर व्यष्ट देखिन्छन् । टोली नेता हिमकृष्ण ताम्राकार भन्छन् एक टोला सुनको जलप लगाउन तामाको पाटामा ४ तोला पारुको जलप लगाएर त्यसमाथि सुनको जलप लगाउँछौ र त्यसलाई पनि आगोले पोल्दा पारु उडेर जान्छ र सुनको जलप तामाको पातामा रहँछ । यो जलप २ सय वर्षसम्म पनि उस्तै बलियो सुरक्षि रहछ । भ्रमण वर्षको पूर्वसन्ध्यामा वाकुपति चाँगु नारायण मन्दिर परिसर घुम्न पुगेका एकजोडी जर्मनी आर्य र वाल्डगनले एक एक हजार आर्थिक सहयोग गर्दै सोमबार सो मन्दिर मात्र होइन नेपाल देश नै विश्वको एक सुन्दर, सांस्कृतिक देश भएको प्रतिकृया दिए ।













