भक्तपुर कप २०७८ माघ १४ गते देखि २२ गतेसम्म आयोजना हुने
भक्तपुर, पुस १७ गते
भक्तपुर कप २०७८ माघ १४ गते देखि २२ गतेसम्म आयोजना हुने भएको छ । भक्तपुर युवा टिमले आज पत्रकार सम्मेलन आयोजना गरी भक्तपुर कप २०७८ गर्ने घोषणा गरेका हुन । प्रथम हुनेलाई १ लाख १५ हजार र दोस्रो हुनेलाई ५५ हजार नगद पुरस्कारको घोषणा गर्दै भक्तपुर युवा टिमले भक्तपुर जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा सो प्रतियोगिता आयोजना गर्ने भएको हो । यस प्रतियोगितालाई आयोजक भक्तपुर युवा टिमले भक्तपुर कप २०७८, ११ ए सिड अपन फुटबल टुर्नामेण्यट भनिएको छ । सहभागि हुने टिमलाई रु. १० हजार शुल्क लिने र १६ वटा टिम मात्र सहभागि लिने पनि आयोजक समितिले जनाएको छ ।
महेश्वरी खेल मैदानमा सो प्रतियोगिता गर्ने जानकारी दिदै आयोजक समितिका संस्थापक अध्यक्ष विश्वराम कवांले खेलबाट पनि भक्तपुरको पहिचान झल्काउन सकिने गरी हरेक खेल क्षेत्रमा संलग्नता जनाउँदै भक्तपुर युवा टिम २०५० सालमै स्थापना भएको स्मरण गर्नु भयो । एक व्यक्ती एक खेलकूदको अवधारणालाई साकार बनाउन बलको अभावमा पनि पेलेले फुटबलमा लगाव राखेर विश्व चर्चित बने जस्तै यहाँका खेलाडीहरुलाई पनि सक्षम बनाउनुपर्नेमा सो अवसरमा जोड दिनु भयो ।
पूर्व जनप्रतिनिधी तथा आदर्श आजाद माविका प्राचार्य श्रीकृष्ण किसीले खेलकूद क्षेत्रलाई भेदभावरहित हिसावले सबैको पहुँचमा विकास गर्न आवश्यक भएको उल्लेख गर्दै मानिसको शारीरिक र बौद्धिक विकासका लागि खेलकूद गतिविधिलाई अगाडी बढाउन भक्तपुर युवा टिम पहिला जस्तै फेरी सक्रिय हुन आवश्यक भएकोमा जोड दिनु भयो ।

स्थानीय वडाध्यक्ष एवं नगर खेलकूद समितिका पूर्व अध्यक्ष एवं आयोजक समितिका सल्लाहकार उकेश कवांले खेलकूद विकास गर्न भक्तपुरमा पूर्वाधार भएर पनि सरकारले सहयोग नगरेको गुनासो गर्दै पक्षपातपूर्ण व्यवहारप्रति खेद प्रकत गर्नु भयो । सरकारले सहयोग नगरे पनि भक्तपुर नगरपालिकाले खेल गतिविधिलाई प्राथमिकतामा राखि नगरस्तरीय एवं अन्तर नगरस्तरीय खेलकूद प्रतियोगिताहरु आयोजना गर्दै आएको बताउँदै टोल टोलमा खेलकूदका पूर्वाधारहरु धमाधम बनाउदै आएको बताउनु भयो ।
टिमका अध्यक्ष केशव त्वयनाबासुको सभापतित्वमा भएको र रामेश्वर मचामसीले संचालन गरेको सो कार्यक्रममा जिल्ला फुटवल संघका उपाध्यक्ष सुनिल प्रजापतिले एन्फा भित्र विभिन्न खेल गतिविधिमा मतभेद भइरहेको बेला भक्तपुर युवा टिमले भक्तपुर कप २०७८ आयोजना गरेकोमा खुसि व्यक्त गर्दै यस्तो प्रतियोगिताहरुले उत्कृष्ट खेलाडी उत्पादन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो ।
आयोजक समितिका संजीव कवांको संयोजकत्वमा हुने सो प्रतियोगिताको पूर्ण सफलताको कामना व्यक्त गर्दै सो अवसरमा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिव मानन्धरले खेलकूद राष्ट्रको गहना भएकाले राष्ट्रव्यापि रुपमा यसको पहुँच बढाउनुपर्नेमा जोड दिनु भयो । खेलकूद राष्ट्रको लागि र ब्यक्तिको स्वास्थ्यको लागि समेत भएकोले खेल प्रति आफ्नो पनि गहन लगाव भएको बताउँदै खेल क्षेत्रबाट राष्ट्रिय अन्तर्राष्ट्रिय छवि बनाउन सकिने विचार व्यक्त गर्नु भयो ।















