सूर्यविनायकमा उत्कृष्ट खेलाडी तथा प्रशिक्षक सम्मानित: खेलकुद विकासका लागि बजेट अभाव हुन नदिने नगर प्रमुखको प्रतिबद्धता
सूर्यविनायक, भक्तपुर — सूर्यविनायक नगर खेलकूद समितिको आयोजनामा “सूर्यविनायक नगरपालिका उत्कृष्ट खेलाडी तथा प्रशिक्षक सम्मान कार्यक्रम २०८३” सम्पन्न भएको छ। नगर प्रमुख वासुदेव थापाको प्रमुख आतिथ्यतामा आयोजित सो कार्यक्रममा नगरभित्रका उत्कृष्ट खेलाडी, प्रशिक्षक तथा खेल क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई नगद, कदरपत्र तथा मायाको चिनोसहित सम्मानित गरिएको छ।
कार्यक्रममा नगर प्रमुख वासुदेव थापाले नगरपालिकाले खेलकुद क्षेत्रको विकासलाई विशेष प्राथमिकतामा राखेको बताउनुभयो। उहाँले खेलकुदका लागि छुट्याइएको एक करोड रुपैयाँ बजेट अपुग भएमा अन्य शीर्षकबाट रकम रकमान्तर गरेर भए पनि खेलकुदको विकास र खेलाडीको प्रोत्साहनमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो।


त्यसैगरी, नगर उपप्रमुख सरिता भट्टराईले खेल र खेलाडी राष्ट्रका गौरव भएकाले उनीहरूको मनोबल बढाएर नै राष्ट्रको पहिचान विश्वसामु झल्काउन सकिने धारणा राख्नुभयो। नगर खेलकूद समितिका अध्यक्ष दिपक थापाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नगर प्रवक्ता रविन्द्र सापकोटा लगायतका जनप्रतिनिधिहरूले सम्मानित खेलाडीहरूलाई बधाई दिँदै शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
सम्मानित खेलाडी, प्रशिक्षक तथा संस्थाहरूको विवरण:
नगरपालिकाद्वारा प्रकाशित विवरण अनुसार विभिन्न विधामा योगदान पुर्याएका २२ जना खेलाडी, प्रशिक्षक तथा संस्थालाई सम्मान गरिएको छ:
- साफ गेम पदक विजेता खेलाडीहरू:
- रामशरण त्वाती (कराँते)
- लक्ष्मी वन (भारोत्तोलन)
- अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी तथा प्रशिक्षकहरू:
- बसिल त्वायना (Savate)
- रुपक कुमार विष्ट (प्रशिक्षक – भलिबल)
- सन्ध्या नगरकोटी (कराँते)
- समिक्षा नगरकोटी (कराँते)
- सन्जु नगरकोटी (कराँते)
- वैभवी सापकोटा (तेक्वान्दो)
- एकिन कासुला (Savate)
- आरती सिलवाल (Savate)
- प्रभुराम के सी (ITF तेक्वान्दो र Savate)
- सनम मुलगुठी (शारीरिक सुगठन)
- राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीहरू:
- रुपक भुजु (कबड्डी)
- निरोज कार्की (रगबी)
- विवस वासु (रगबी)
- राम ढुङ्गाना (हक्की)
- गङ्गाराम देउजा (फुटबल)
- ग्रासरुट फुटबल तर्फका उत्कृष्ट खेलाडीहरू:
- शिभम के सी (उत्कृष्ट U६-१०)
- पुजन हिङ्गुजु (उत्कृष्ट U११-१६)
- उत्कृष्ट प्रशिक्षक, लाइफ टाइम एचिभमेन्ट र उत्कृष्ट विद्यालय:
- विक्रम लामा (उत्कृष्ट प्रशिक्षक – कराँते)
- शेर बहादुर थापा मगर (लाइफ टाइम एचिभमेन्ट अवार्ड – तेक्वान्दो)
- अरनिको मा वि (खेलकुदमा उत्कृष्ट विद्यालय)














