विश्व मुटु दिवसकाे अवसरमा मुटुराेग सम्बन्धी सचेतनामूलक प्रस्तुतिकरण र अन्तरक्रिया कार्यक्रम
ललितपुर,
उपत्यकामा पनि अविरल वर्षाकाे भय, त्राश , बाटाे अवरुद्धकाे कारण खेप्नु परिरहेकाे सास्ति, दु:ख, कष्टका वावजुद पनि विश्व मुटु दिवस-२०२६ काे अवसरमा मुटुराेग सम्बन्धी सचेतनामूलक कार्यक्रमहरूकाे आयाेजना हुने क्रम जारी रह्याे । यही सन्दर्भमा नेपाल हृदयराेग निवारण प्रतिष्ठान केन्द्रीय कार्यालय, ललितपुर शाखा, काठमाण्डाै शाखा, भक्तपुर शाखा, काभ्रे शाखा र हर्ट क्वव नेपालकाे संयुक्त आयाेजनामा प्रतिष्ठानकाे सभाकक्ष,पुल्चाेक, ललितपुरमा विश्व मुटु दिवस – २०२६ काे नारा Don’t Miss a Beat ” मुटुलाई धड्किन देऊ” सँगै वरिष्ठ मुटुराेग विशेषज्ञ डा. राजेन्द्र काेजूले सचेतनामूलक कार्यपत्र प्रस्तुतिकरण गर्नुहुँदै ” सामान्य परिस्थितिमा पनि नियमित हिंड् डुल, नियमित व्यायाम, धुमपान र मद्यपानबाट टाढा रहने, शरीरलाई माेटाेपन हुन नदिने, सन्तुलित आहारमा बढी जाेड दिने, मुटुराेगका बैगुनी चिजहरूबाट टाढा रहने, विना चिल्लाेका थाेरै खाएर स्वस्थ रहने गरेमा मुटुराेगबाट बच्न सकिने व्यवहारिक आधार प्रस्तुत गर्नुहुँदै मुटुराेगकाे लक्षण देखिएका र आशङ्का भएमा इसिजि/ ईकाे परीक्षण र विविध परीक्षण गरी यकिन गर्नुपर्ने आवश्यकता आैंल्याउनुभयाे । साथै उहाँले आफ्ना मुटुराेगी विरामीहरूका दु:ख, पीडा अनि राेचक प्रसङ्गले भरिएका कथाहरूलाई सङ्गालेर तयार पारिएका भिडियाे क्लिपहरूलाई प्रस्तुतिकरणसँगै दृष्टान्तका रूपमा मुटुराेगबाट बच्नकाे लागि हामीले अपनाउनु पर्ने सावधानीसँगै जाेड्नुभएकाे थियाे । उक्त प्रस्तुतिलाई उत्साहजनक रूपमा उपस्थिति जनाएका सहभागी सबैले अत्यन्तै रूचिपूर्वक ग्रहण गरेकाे पाईएकाे थियाे ।


नेपाल हृदयराेग निवारण प्रतिष्ठानका केन्द्रीय अध्यक्ष डा. सत्यनारायण सुवालकाे सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि प्रतिष्ठानका पूर्व केन्द्रीय अध्यक्ष वरिष्ठ मुटुराेग विशेषज्ञ डा. अवनिभुषण उपाध्यायले याे वर्षकाे नाराभित्र रहेकाे आशयलाई प्रष्ट पार्नुहुँदै हाम्राे मुटुलाई स्वस्थ राख्न हाम्राे शरीर स्वस्थ हुनुपर्ने, छातिभित्र चल्ने ढुकढुकीलाई विशेष ख्याल गरी मुटुले हामीलाई दिने सङ्केतलाई बेवास्ता गर्न नहुनेमा जाेड दिनुभयाे । त्यसैगरी उहाँले मुटुराेगका कुनै पनि लक्षणहरूलाई समयमै परीक्षण गराउनुपर्ने, केही भएकाे छैन भनी ढुक्क बस्न नहुने, मुटुकाे धड्कन बचाउनलाई सधैं ध्यान दिनुपर्नेलगायतका विषयहरूमाथि प्रकाश पार्नुभएकाे थियाे । त्यसैगरी प्रतिष्ठानका पूर्व अध्यक्ष वरिष्ठ मुटुराेग विशेषज्ञ .डा.प्रकाश राज रेग्मीले सहजकर्ताकाे भूमिका निभाउँदै आफ्नाे स्वास्थ्य स्थितिकाे बारेमा आफै सचेत हुनु जरूरी रहेकाे बताउनुभयाे ।
समाराेहमा कार्यक्रम तालिका बमाेजिम कार्यपत्र प्रस्ताेताकाे प्रस्तुतिबारे, मुटुराेगबारे र समसामयिक स्वास्थ्यबारे सहभागीहरू, प्रतिष्ठानकाे काठमाण्डाै शाखाका सभापति मेहन माेहन श्रेष्ठ र भक्तपुर शाखाका सभापति राजुराम मुनंकर्मीले उठाउनुभएकाे प्र्श्न र जिज्ञासाबारे विशेष अतिथि नेपाल हर्ट नेटका वर्तमान संयाेजक वरिष्ठ मुटुराेग विशेषज्ञ डा. चन्द्रमणी अधिकारी ( कार्डियाक साेसाईटी अफ नेपाल ), प्रस्ताेता डा. काेजू, वरिष्ठ कार्डियाे भास्कुलर सर्जन डा. प्रेमराज वैद्यलगायतले प्रष्टाेक्ति दिनभएकाे थियाे भने प्रतिष्ठानका ललितपुर शाखाका उपसभापति रूपक कान्त राजाेपाध्यायकाे सञ्चालनमा उपस्थित प्रमुख अतिथि, विशेष अतिथि, अतिथिहरूलगायत सम्पूर्ण सहभागीहरूलाई आयाेजककाे तर्फबाट प्रतिष्ठानका महासचिव काेमल प्रकाश घिमिरेले स्वागत गर्नुभयाे भने हर्ट क्लव नेपालका अध्यक्ष निर्मल प्रधानाङ्गले कृतज्ञता ज्ञापन गर्नुभएकाे थियाे ।
साेही कार्यक्रममा प्रतिष्ठानका पूर्व अध्यक्ष डा. प्रचण्ड प्रधानद्वारा आफ्ना अनुभवहरूलाई संगालेर तयार पार्नुभएकाे इ- पुस्तक ” In My Memory ” काे सार्वजनिकिकरण समेत गरिएकाे थियाे ।












