छैठौँ मिस्टर भक्तपुर तथा तेस्रो महिला एथलेटिक्स फिजिक्स असोज २ र ३ गते हुने (अन्तिम तयारी पूरा)
भक्तपुर। ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ भक्तपुर शारीरिक सुगठन तथा फिट्नेस संघको आयोजनामा आगामी असोज २ र ३ गते ‘छैठौँ मिस्टर भक्तपुर तथा तेस्रो महिला एथलेटिक्स फिजिक्स २०८३’ शारीरिक सुगठन प्रतियोगिता सञ्चालन हुने भएको छ।
संघले आज भक्तपुरमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको सम्पूर्ण अन्तिम तयारी पूरा भएको जानकारी दिएको हो। मध्यपुर थिमी नगरपालिकाको मुख्य प्रायोजन तथा सूर्यविनायक र चाँगुनारायण नगरपालिकाको सह-प्रायोजनमा सञ्चालन हुन लागेको यस प्रतियोगिताको अनुमानित बजेट रु. १५ लाख रहेको कार्यक्रम संयोजक बाबुकाजी मानन्धरले जानकारी दिनुभयो।
प्रतिस्पर्धा र खेलाडी सहभागिता कृषि विकास बैंकको तालिम केन्द्र (बोडे, मध्यपुर थिमी) मा हुने उक्त प्रतियोगितामा भक्तपुर जिल्ला भित्रका विभिन्न जिम क्लबहरूबाट करिब ६० जना खेलाडीहरूले सहभागिता जनाउने अनुमान गरिएको छ। हालसम्म ५० जना खेलाडीले नाम दर्ता गराइसकेका छन्।
- पुरुष (मिस्टर भक्तपुर): पुरुषतर्फ ५५, ६०, ६५, ७० र +७० केजी गरी ५ वटा वजन समूहमा प्रतिस्पर्धा हुनेछ। एउटा क्लबबाट एक वजन समूहमा बढीमा २ जना खेलाडी र १ जना टिम म्यानेजरले प्रतिनिधित्व गर्न पाउनेछन्।
- महिला (एथलेटिक्स फिजिक्स): महिलातर्फ खुला प्रतिस्पर्धा गराइनेछ।
प्रतियोगिताको तालिका
- असोज २ गते (शुक्रबार): बिहान ७:०० बजे क्लब लिक्विड (डिस्पाराडी) मा खेलाडीको उपस्थिति, बिहान ८:०० बजेदेखि शारीरिक नापतौल र बिहान १०:०० बजे टिम म्यानेजरको बैठक हुनेछ।
- असोज ३ गते (शनिबार): बोडेमा प्रि-जजिङ तथा फाइनल खेल सञ्चालन हुनेछ।
पुरस्कार तथा उपाधि
- छैठौँ मिस्टर भक्तपुर (ओभरअल विजेता): प्रत्येक वजन समूहका विजेताहरूबीच प्रतिस्पर्धा गराई ओभरअल प्रथम हुने खेलाडीलाई ‘छैठौँ मिस्टर भक्तपुर २०८३’ को उपाधिसहित नगद रु. १,००,००० (एक लाख), ट्रफी र ब्यानेट प्रदान गरिनेछ। यस्तै दोस्रोदेखि पाँचौँ हुने विजेताहरूले क्रमशः नगद रु. ५० हजार, ४० हजार, ३० हजार र २० हजार प्राप्त गर्नेछन्।
- तेस्रो महिला एथलेटिक्स फिजिक्स: प्रथम हुने खेलाडीले उपाधिसहित नगद रु. ५०,०००, ट्रफी र ब्यानेट प्राप्त गर्नेछन्। दोस्रो र तेस्रो हुनेले क्रमशः नगद रु. ३०,००० र २०,००० का साथै ट्रफी प्राप्त गर्नेछन्।
यसका साथै दुवै विधाका प्रत्येक वजन समूहमा प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीहरूलाई क्रमशः स्वर्ण, रजत र कास्य पदक, सिल्ड तथा प्रमाणपत्र र चौथो र पाँचौँ हुने खेलाडीहरूलाई सिल्ड र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।














