काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्याउने उद्देश्यले तयार गरिएको गीति एल्बम ‘जागृति’ राजधानी काठमाडौंमा आयोजित विशेष समारोहबीच लोकार्पण गरिएको छ । मिलापको आयोजनामा सम्पन्न कार्यक्रममा साहित्य, संगीत र संस्कृतिको त्रिवेणी संगमको अनुभूति गराउँदै महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई नयाँ पुस्तासँग जोड्ने प्रयास गरिएको थियो ।
दाहालद्वारा रचित ‘स्वेतपत्र’ महाकाव्य तथा ‘योद्धा’ काव्यबाट साभार गरिएका गीतहरू समेटिएको ‘जागृति’लाई नेपाली काव्य परम्पराको भावभूमिमा संगीतको नवीन प्रयोगका रूपमा प्रस्तुत गरिएको छ । चलचित्र निर्देशक माधवराज खरेलको सहजीकरणमा सम्पन्न भएको समारोहको सभापतित्व मिलापका प्रधान सम्पादक कृष्ण भुसालले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा शिक्षाविद् डा.यज्ञेश्वर निरौला उपस्थित हुनुहुन्थ्यो ।
समारोहको प्रारम्भमा गायक रमेश पाठकले स्वागत मन्तव्य व्यक्त गर्दै साहित्यिक सिर्जनालाई संगीतमार्फत आम श्रोतासम्म, विशेषतः युवा पुस्तामाझ पुर्याउनु समयको आवश्यकता भएको उल्लेख गर्नुभयो । उहाँले ‘जागृति’ केवल एउटा गीति एल्बम नभई नेपाली साहित्यलाई श्रव्य–दृश्य माध्यमबाट नयाँ पुस्तासम्म पुर्याउने अभियानको महत्त्वपूर्ण कोशेढुंगा बन्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा एल्बममा समावेश पाँच गीत ‘बुद्धको देश नेपाल’, ‘लालीगुराँसको साटो’, ‘बित्छ बिहान आमाको’, ‘फुल्छ बागमा फूल’ र ‘गाउँछौ अब लौ आमाका गीत’ औपचारिक रूपमा सार्वजनिक गरिएको थियो । यी गीतहरूमा राष्ट्रप्रेम, मातृत्व, प्रकृतिप्रेम, सांस्कृतिक गौरव र मानवीय संवेदनाका विविध आयाम सशक्त रूपमा अभिव्यक्त भएका छन् ।
एल्बमका तीन गीत ‘बुद्धको देश नेपाल’, ‘लालीगुराँसको साटो’ र ‘फुल्छ बागमा फूल’ मा कीर्तिमानी संगीतकार तथा गायक श्रेष्ठको स्वर रहेको छ । त्यसैगरी ‘बित्छ बिहान आमाको’ मा वरिष्ठ गायिका ज्ञानु राणा तथा ‘गाउँछौ अब लौ आमाका गीत’ मा गायक रमेश पाठकको स्वर सुन्न सकिन्छ । सम्पूर्ण गीतमा संगीतकार सन्तोष श्रेष्ठले संगीत गर्नुभएको छ । कार्यक्रममा उपस्थित साहित्यकार, कलाकार तथा अतिथिहरूले गीतहरूको श्रव्य-दृश्य प्रस्तुति अवलोकन गर्दै सकारात्मक प्रतिक्रिया व्यक्त गरेका थिए ।
शुभकामना मन्तव्यका क्रममा चलचित्र विकास बोर्डका सदस्य गणेश सुवेदी, चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, वरिष्ठ साहित्यकार राधेश्याम लेकालीलगायत वक्ताहरूले महाकाव्यकार खेमनाथ दाहालका काव्य सिर्जनाले राष्ट्र, समाज, मानवता र सांस्कृतिक चेतनालाई सशक्त रूपमा अभिव्यक्त गरेको उल्लेख गर्नुभयो । उहाँहरूले साहित्यको गहन भावलाई संगीतको माध्यमबाट जनमानससम्म पुर्याउने प्रयासले नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
एल्बमका संगीतकार सन्तोष श्रेष्ठले महाकाव्यका श्लोकलाई गीतमा रूपान्तरण गर्नु सहज नभएको बताउनुभयो । छन्द, लय र मूल भावलाई अक्षुण्ण राख्दै संगीत सिर्जना गर्न विशेष मिहिनेत गर्नुपरेको उल्लेख गर्दै उहाँले सकेसम्म मूल छन्द भंग नगरी काव्यको आत्मालाई जोगाउने प्रयास गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार संगीत सिर्जना केवल धुन निर्माण गर्ने प्रक्रिया नभई काव्यको भाव र दर्शनलाई स्वरमार्फत पुनर्जन्म दिने कलात्मक जिम्मेवारी पनि हो ।
महाकाव्यकार खेमनाथ दाहालले आफ्ना काव्यमा रहेका श्लोकहरू गीतका रूपमा जनमानससम्म पुग्न थालेकोमा खुशी व्यक्त गर्नुभयो । साहित्यलाई पुस्तकको सीमाभन्दा बाहिर निकालेर संगीतमार्फत आम श्रोतामाझ पुर्याउने अभियानमा संलग्न सम्पूर्ण कलाकार, संगीतकर्मी तथा आयोजकप्रति उहाँले आभार व्यक्त गर्नुभयो । उहाँले साहित्य जीवित रहन त्यसलाई समयअनुकूल विभिन्न माध्यमबाट प्रस्तुत गरिनुपर्ने धारणा पनि राख्नुभयो ।
प्रमुख अतिथि डा.यज्ञेश्वर निरौलाले साहित्य र संगीत एक-अर्काका परिपूरक विधा भएको उल्लेख गर्दै महाकाव्यका गहिरा भाव, दर्शन र जीवनदृष्टिलाई गीतमार्फत जनमानससम्म पुर्याउने प्रयासको उच्च प्रशंसा गर्नुभयो । उहाँले यस्ता सिर्जनात्मक अभियानले नेपाली भाषा, साहित्य, मौलिक संस्कृति तथा राष्ट्रिय पहिचानको संरक्षण र प्रवर्द्धनमा दीर्घकालीन योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार जब कविता स्वरमा रूपान्तरण हुन्छ, त्यसले केवल मनोरञ्जनमात्र होइन, चेतना, संस्कार र सांस्कृतिक स्मृतिलाई पनि पुस्तान्तरण गर्ने कार्य गर्दछ ।
सोही अवसरमा साहित्यकार डा.विलोल पोखरेललाई साहित्यिक तथा सांस्कृतिक क्षेत्रमा पुर्याउनुभएको उल्लेखनीय योगदानको कदरस्वरूप ‘मिलाप कभर सम्मान’ प्रदान गरिएको थियो । मिलापद्वारा प्रकाशित वर्ष १७, अंक १ को विशेष आवरणमार्फत प्रदान गरिएको उक्त सम्मान ग्रहणपछि उहाँले सिर्जनाको सम्मान भनेको समग्र साहित्यिक समुदायको सम्मान भएको धारणा व्यक्त गर्नुभयो । त्यस अवसरमा उहाँले आफ्नो एक कविता पनि वाचन गर्नुभएको थियो ।
कार्यक्रमको समापन गर्दै सभापति कृष्ण भुसालले साहित्य र संगीतको सहकार्यले नेपाली सिर्जनशीलतालाई नयाँ आयाम प्रदान गरिरहेको उल्लेख गर्नुभयो । उहाँले ‘जागृति’ले नेपाली काव्य, संगीत र संस्कृतिप्रेमीबीच दीर्घकालसम्म सकारात्मक प्रभाव छाड्ने विश्वास व्यक्त गर्दै यस्ता सिर्जनात्मक अभियानलाई निरन्तरता दिन साहित्यकार, कलाकार, सांस्कृतिक संस्था तथा सञ्चारमाध्यमबीच अझ सशक्त सहकार्य आवश्यक रहेको बताउनुभयो । साहित्यका अक्षरहरू जब संगीतका स्वरमा घुल्छन्, तब तिनले केवल कानलाई होइन, चेतनालाई पनि स्पर्श गर्छन् । ‘जागृति’ त्यही सांगीतिक यात्राको एउटा सशक्त दस्तावेज बनेर नेपाली साहित्य र संगीतको साझा सम्पदामा थपिएको उहाँको भनाइ थियो ।
समारोहमा उषा दाहाल, वरिष्ठ साहित्यकार लेखनाथ पोखरेल, मिलाप फाउण्डेशनकी अध्यक्ष गीता अधिकारी, संगीत सम्पादक प्रकाश मिश्र, भिडियो छायाँकार तथा सम्पादक राजन खरेल, साहित्यकार शैलेन्द्र चापागाईं, कलाकार शीला गजुरेल, गायक गणेश पराजुली, पत्रकार स्वस्तिका पन्थी, राजेन्द्र दाहाल, दीपा दाहाललगायत साहित्य, संगीत र सञ्चार क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
नेपाली साहित्यमा राष्ट्रिय भावना, सामाजिक यथार्थ र मानवीय संवेदनालाई सशक्त रूपमा अभिव्यक्त गर्ने स्रष्टामध्ये महाकाव्यकार खेमनाथ दाहाल एक विशेष व्यक्तित्व हुनुहुन्छ । तेह्रथुमको लाब्रीमा जन्मिएर हाल काठमाडौंलाई कर्मथलो बनाइरहनु भएका दाहालले कविता, खण्डकाव्य, महाकाव्य, उपन्यास तथा नियात्रा विधामा उल्लेखनीय योगदान दिनुभएको छ । साहित्यिक यात्रासँगै उहाँले सिर्जना गरेका गीतहरूले पनि राष्ट्रिय चेतना, सामाजिक यथार्थ र मातृत्वको मर्मलाई गहिरो ढंगले अभिव्यक्त गरेका छन् ।
‘श्वेतपत्र’ महाकाव्य, ‘रश्मि’ खण्डकाव्य, ‘श्रद्धाञ्जलि’, ‘योद्धा’, ‘हावर्डको चौतारीमा’ तथा ‘म त बन्दी भएको छु’ जस्ता कविता संग्रहमार्फत पहिचान बनाउनुभएका दाहालका ‘यात्राको सिकर्नी’ नियात्रा, ‘अहोरात्र’ उपन्यास, ‘सिर्जनामा दृष्टि’ समीक्षासंग्रह जस्ता कृति पनि पाठकमाझ लोकप्रिय छन् ।













