अष्ट्रेलियाबाट बिरजको कोसेली ‘साइली’   ( भिडियो )

अष्ट्रेलियाबाट बिरजको कोसेली ‘साइली’   ( भिडियो )

काठमाडौं। युवा गायक बिरज  महर्जनको नयाँ म्युजिक भिडियो  ‘साइली’ सार्वजनिक भएको छ। रोमान्टिक भर्सनको  यस गीतको म्युजिक भिडियोमार्फत विराजले पुनः नेपाली सांगीतिक क्षेत्रमा आफ्नो उपस्थिति जनाएका छन्।

बिरजले ८ वर्षको उमेरदेखि नै आफ्नो सांगीतिक यात्रा सुरु गरेका हुन्। १३ वर्षको उमेरमै उनले एकल सांगीतिक साँझ (एकल साँझ) प्रस्तुत गरेर आफ्नो गायन प्रतिभा प्रदर्शन गरेका थिए। त्यसपछि २०७० सालमा उनले ‘नयाँ किरण’ नामक अडियो एल्बम सार्वजनिक गरेका थिए।  उनले सुरशाला म्युजिक एकेडेमीबाट औपचारिक रूपमा संगीत अध्ययन गरेका थिए। हाल अष्ट्रेलियामा रहे पनि नेपाल आउँदा उनी नयाँ गीत रेकर्डिङ, म्युजिक भिडियो निर्माण तथा विभिन्न लाइभ सांगीतिक कार्यक्रममा व्यस्त रहने गरेका छन्।

यसअघि उनले नेपाल भाषाका (नेवारी) थुप्रै गीत सार्वजनिक गरिसकेका छन्। उनका ‘छ लिसे’, ‘तुयु तुयु धागु’, ‘नक्कालिम्हा मयेजु’ र ‘छ लुइवोन हे जीवन’ लगायतका गीतले दर्शक तथा श्रोतामाझ राम्रो चर्चा बटुलेका छन्। साथै उनका नेपाली म्युजिक भिडियो ‘आमा’ र ‘तिमी आउने बाटोभरी’ पनि दर्शकमाझ परिचित छन्।

सांगीतिक यात्रामा विराजले विभिन्न राष्ट्रिय पुरस्कारसमेत प्राप्त गरिसकेका छन्। उनले २०७४ सालमा ‘तुयु तुयु धागु’ गीतबाट पेज थ्री अवार्ड अन्तर्गत बेस्ट न्यू आर्टिस्ट पुरस्कार प्राप्त गरेका थिए। त्यसैगरी ‘आमा’ गीतका लागि २०७५ सालमा नेसनल पावर न्युज म्युजिक अवार्ड अन्तर्गत बेस्ट सङ अफ द इयर – इन्करेजमेन्ट अवार्डबाट सम्मानित भएका थिए। ‘तुयु तुयु धागु’ बाटै उनले नेसनल बक्स अफिस अवार्डमा बेस्ट डेब्यु सिङ्गर (जुरी च्वाइस) अवार्ड पनि जितेका थिए। यस्तै २०७९ सालमा ‘छ लुइवोन हे जीवन’ गीतका लागि दोस्रो नेपालभाषा स्टार म्युजिक भिडियो अवार्ड अन्तर्गत बेस्ट मेल सिङ्गर – राइजिङ स्टार (जुरी) अवार्ड प्राप्त गरेका थिए।

यसपटक भने विराजले नेपाली प्रेमगीत ‘साइली’ लिएर आएका हुन्। गीतमा विराज महर्जनको स्वर रहेको छ भने शब्द, संगीत तथा संगीत संयोजन जुगल डंगोलले गरेका छन्।

गीतको म्युजिक भिडियोमा कृषल श्रेष्ठ र श्रीतिका श्रेष्ठको अभिनय देख्न सकिन्छ। भिडियोको छायांकन रकी महर्जनले गरेका हुन् भने सम्पादन रकी महर्जन र रामकृष्ण खड्गीले संयुक्त रूपमा गरेका छन्। भिडियोको निर्देशन रामकृष्ण खड्गीले गरेका छन्।

निर्माण टिमका अनुसार प्रेम र भावनाको सुन्दर कथालाई संगीत तथा दृश्यमार्फत प्रस्तुत गरिएको ‘साइली’ले युवा पुस्तासँगै सबै उमेर समूहका श्रोता–दर्शकको मन जित्ने अपेक्षा गरिएको छ।