नेपालमा कुल मृत्युको झन्डै ७१ प्रतिशत कारण नसर्ने रोगहरू !

नेपालमा कुल मृत्युको झन्डै ७१ प्रतिशत कारण नसर्ने रोगहरू बनेका छन् । मुटुरोग, क्यान्सर, मधुमेह र दीर्घ श्वासप्रश्वास जस्ता रोगहरू यसका प्रमुख कारक हुन् । समयमै जीवनशैलीमा सुधार नगरेमा विश्व स्वास्थ्य सङ्गठन (डव्लूएचओ) को प्रक्षेपण अनुसार सन् २०३० सम्ममा यो दर ७९ प्रतिशतसम्म पुग्न सक्ने अनुमान छ ।
नसर्ने रोगहरूको प्रकोप बढ्नुको प्रमुख कारणहरु खानपानमा गडबडी, धेरै नुन, चिनी र अस्वस्थकर (प्याकेट) खानाको प्रयोग अदि रहेको बताइएको छ । शारीरिक निस्क्रियता, सहरीकरण र प्रविधिको बढ्दो प्रयोगले शारीरिक व्यायाम वा श्रम कम हुनु पनि यसको कारकका रुपमा रहेको बताइएको छ । चुरोट तथा मद्यपानको सेवन, सूर्तीजन्य पदार्थ र अत्यधिक मदिरापान, तनावपूर्ण जीवनशैली, मानसिक तनाव र निद्राको कमी आदि पनि यसका कारक रहेको चिकित्सकहरुले बताएका छन् । 
रोकथाम र नियन्त्रणका उपायहरूका लागि नियमित स्वास्थ्य परीक्षण, रक्तचाप, सुगर, र कोलेस्ट्रोलको नियमित जाँच गराउने, स्वस्थ जीवनशैली, दैनिक ३० मिनेट शारीरिक व्यायाम गर्ने र ताजा तथा सन्तुलित आहार (फलफूल र सागसब्जी) खाने रहेका छन् । साथै आचरणमा सुधार, सूर्ती र मदिराजन्य पदार्थको सेवन पूर्ण रूपमा बन्द गर्ने रहेका छन् । 
मुटु तथा रक्त नलीसम्बन्धी, मधुमेह, दीर्घ श्वासप्रश्वाससम्बन्धी तथा क्यान्सरजस्ता नसर्ने रोगहरू नेपालमा पनि मृत्युको प्रमुख कारण हुने, कुल मृत्युमध्ये नसर्ने रोगको हिस्सा झन्डै ७१ प्रतिशत रहेको छ । 


नेपालमा हुने कुल मृत्युमध्ये नसर्ने रोगको हिस्सा झन्डै ७१ प्रतिशत पुगेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०३० मा नेपालमा मृत्युको प्रमुख कारक बन्दै नसर्ने रोग हुने प्रक्षेपण छ । नेपालमा नसर्ने रोगहरू (उच्च रक्तचाप, मधुमेह, क्यान्सर, मुटु तथा रक्तनली र श्वासप्रश्वाससम्बन्धी रोग) समय अगावै हुने मृत्युका प्रमुख कारक रहेको जनाइएको छ ।    
विश्व स्वास्थ्य सङ्गठनका अनुसार कुल मृत्युको करिब ७१ प्रतिशत हिस्सा नसर्ने रोगका कारण हुने गरेको छ । साथै, सन् २०३० सम्म यो दर ७९ प्रतिशतसम्म पुग्ने प्रक्षेपण गरिएको छ । यस्ता रोगहरूले व्यक्ति, परिवार तथा समग्र स्वास्थ्य प्रणालीमा पर्ने भार निरन्तर बढाइरहेका छन् ।
स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयद्वारा कार्यान्वयनमा ल्याइएको ‘नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना (२०७८–२०८२) अनुसार करिब २२ प्रतिशत नेपाली जनता नसर्ने रोगका कारण ३० देखि ७० वर्षको उमेर बीचमै अकाल मृत्युको जोखिममा छन् ।
पछिल्लो समय अधिकांश घरपरिवारमा कुनै न कुनै प्रकारका नसर्ने रोगका बिरामी भेटिन थालेका छन् । नेपालमा व्यक्तिगत घटना दर्ता प्रणाली पूर्ण रूपमा प्रभावकारी नभएकाले नसर्ने रोगसम्बन्धी राष्ट्रिय मृत्यु–दरका तथ्याङ्क प्राप्त गर्न अझै चुनौती रहेको बताइएको छ ।
हाल करिब ५० प्रतिशत मृत्यु मात्र दर्ता हुने अनुमान गरिएको छ । सरकारी अस्पतालहरूको अन्तरङ्ग तथा बहिरङ्ग सेवामा आउने बिरामीहरूमध्ये ठूलो हिस्सा नसर्ने रोगसँग सम्बन्धित रहेको तथ्याङ्कले देखाएको छ । 
चाँंगुमा समुदायमा नसर्ने रोग सम्वन्धी स्क्रिनिंग
चाँंगु । समुदायस्तरमा बढ्दो नसर्ने रोग र मानसिक स्वास्थ्य समस्याको रोकथाम तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन महिला स्वास्थ्य स्वयंसेविकाहरूको भूमिका सुदृढ गर्ने उद्देश्यले आयोजित अभिमुखीकरण कार्यक्रममा स्वस्थ जीवनशैली अपनाउन र समयमै स्वास्थ्य परीक्षण गराउन आग्रह गरिएको छ ।
जिल्लाको चाँंगुनारायण नगरपालिका स्वास्थ्य शाखाले सोमबार नगरपालिकामा समुदायमा नसर्ने रोग सम्वन्धी स्क्रिनिंग तथा जनचेतना कार्यक्रम २०८३ को उदघाटन कार्यक्रममा प्रस्तुत गरिएको सामग्रीअनुसार नेपालमा हुने कुल मृत्युको करिब ७० प्रतिशत नसर्ने रोगका कारण हुने गरेको छ । हृदयरोग, क्यान्सर, मधुमेह तथा दीर्घ श्वासप्रश्वास सम्बन्धी रोगहरू देशका प्रमुख नसर्ने रोगका रूपमा रहेका छन् । धूम्रपान, मदिरा सेवन, अस्वस्थ खानपान, शारीरिक निष्क्रियता, वायु प्रदूषण र तनावलाई यस्ता रोगका मुख्य जोखिम कारकका रूपमा औँल्याइएको छ ।
उच्च रक्तचापलाई ’सुषुप्त हत्यारा’ को संज्ञा दिँदै नियमित रक्तचाप परीक्षण, रक्तचिनी जाँच तथा आवश्यक स्वास्थ्य परीक्षण गर्न सबैलाई आग्रह गरिएको छ । समयमै पहिचान र उपचार गर्न सके जटिलता कम गर्न सकिने चिकित्सकहरूले बताएका छन् ।
कार्यक्रममा मानसिक स्वास्थ्यबारे पनि विशेष चर्चा गरिएको थियो । डिप्रेसन, चिन्ता तथा अन्य मानसिक समस्याहरू बढ्दो चुनौती बन्दै गएको उल्लेख गर्दै लामो समयसम्म निराशा, अत्यधिक चिन्ता, निद्रा र भोकमा परिवर्तन, थकान तथा दैनिक कामकाजमा रुचि घटेमा स्वास्थ्य संस्थामा परामर्श लिन सुझाव दिइएको छ ।
प्रशिक्षणमा नसर्ने रोग र मानसिक स्वास्थ्यबीच घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै दीर्घरोग भएका व्यक्तिमा मानसिक समस्या देखिन सक्ने तथा मानसिक तनावले रोग व्यवस्थापनलाई थप जटिल बनाउन सक्ने जानकारी दिइयो ।
कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविकाहरूले समुदायमा जनचेतना फैलाउने, स्वस्थ जीवनशैली प्रवद्र्धन गर्ने, उच्च जोखिममा रहेका व्यक्तिको प्रारम्भिक पहिचान गरी स्वास्थ्य संस्थामा सिफारिस गर्ने, औषधि सेवनको निरन्तरता सुनिश्चित गराउने तथा समुदाय र स्वास्थ्य संस्थाबीच समन्वयकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको थियो ।
स्वस्थ खानपान, नियमित शारीरिक गतिविधि, धूम्रपान तथा मदिरा त्याग, पर्याप्त निद्रा, तनाव व्यवस्थापन र नियमित स्वास्थ्य परीक्षणलाई नसर्ने रोग तथा मानसिक स्वास्थ्य समस्याबाट बच्ने प्रभावकारी उपायका रूपमा प्रस्तुत गरिएको थियो । कार्यक्रमका सहभागीहरूले समुदायमा रहेका गलत धारणा र विभेद अन्त्य गर्दै समयमै उपचारमा पहुँच बढाउन सामूहिक प्रयास आवश्यक रहेको बताएका थिए ।
कार्यक्रमको प्रमुख अतिथि पूर्वमन्त्री मनमोहन भटराई, चाँंगुनारायण नगरपालिकाका मेयर जीवन खत्री रहेका थिए । कार्यक्रममा प्रमुख प्रशाशकीय अधिकृत मोहनकुमार श्रेष्ठ, ब्रनडेथ प्रचारप्रसार समितिका अध्यक्ष सोमबहादुर थापा, चाँंगुनारायण नगर अस्पतालका मेसु डा अर्जुन कार्की अतिथि रहेका थिए । कार्यक्रमको सञ्चालन चाँंगुनारायण नगरपालिका स्वास्थ्य शाखाका प्रमुख दिलकुमार दुवालले गर्नुभएको थियो ।