भक्तपुर । भ्रष्टाचारविरोधी अभियन्ता प्रेमध्वज लामा शनिबार भक्तपुरमा सम्मानित भएका छन् । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री उर्मिला केसी नेपालले उनलाई सम्मान गरेका हुन् । स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रिय सदस्यसमेत रहेका लामालाई समाजको हितमा गरेको योगदानको कदरस्वरुप सम्मान गरेको हो । कार्यक्रममा भक्तपुर लेखापढी व्यवसायी संघका अध्यक्ष राम रानालगायतलाई पनि सम्मान गरिएको थियो ।
विद्या आर्जन सितेरियो कराते शाखा र दधिकोट दोजोद्धारा आयोजित प्रथम खुल्ला कराते प्रतियोगितामा उनीहरुलाई सम्मान गरिएको हो । सेराटोन ब्यांक्वेटमा आयोजित उक्त विशेष कार्यक्रमको सभापतित्व सूर्य बहादुर तामाङले गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री उर्मिला के.सी. नेपाल थिए । उनले उदघाटन सत्रलाई सम्बोधन गर्दै खेलकुद क्षेत्रको विकास र खेलाडीहरूको मनोबल उच्च राख्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताइन् ।
कार्यक्रममा खेलकुद र विभिन्न सामाजिक क्षेत्रका व्यक्तित्वहरूको बाक्लो उपस्थिति थियो । विशिष्ट अतिथिहरूमा दावा गुरुङ, प्रकाश मोहन धौभडेल, महेश रञ्जित, मच्छे काजी श्रेष्ठ (१३औं साग दोहोरो स्वर्ण विजेता तथा राष्ट्रिय टिम प्रशिक्षक), एमाले नेतृ रञ्जिता लामालगायतका रहेका थिए ।


कार्यक्रममा मिस तामाङ २०२५ साम्राज्ञी लामा, समाजसेवी भावना लामा, सन्जिवनी तामाङ, पत्रकार अनिल मल्ल ठकुरीलगायतका अतिथिहरूको पनि सहभागिता रहेको थियो । कार्यक्रममा वडा अध्यक्ष विपिन राना र कराते प्रशिक्षक पुरुषोत्तम पोखरेलले खेलकुदले अनुशासित समाज निर्माणमा खेल्ने भूमिकाबारे चर्चा गरेका थिए । स्थानीय स्तरमा मार्सल आट्र्सको प्रवद्र्धन र नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।













