भक्तपुर ट्रक व्यवसायी संघ भक्तपुरको साधारणसभाः पुराना गाडी मर्मत गरेर चलाउनुपर्नेमा जोड
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले देशमा विद्यमान परिवहन प्रणालीलाई दिगो र प्रभावकारी बनाउन पुराना सवारी साधनलाई मर्मत गरेर चलाउन सके देशको आर्थिकभार कम गर्न सकिने धारणा राखेका छन् । २० वर्ष पूराना गाडीलाई कवाडीमा फालेर देशलाई अवौ आर्थिक भार पार्नु भन्दा मर्मत गरी पुनः सञ्चालन गर्न आवश्यक भएकोमा सचिव सुवालले जोड दिएका हुन । भक्तपुर ट्रक व्यवसायीसंघ भक्तपुरको आज २६औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै उहाँले आधुनिक प्रविधिसँग मेल खाने, सुरक्षित र वातावरणमैत्री यातायातका लागि आवश्यक तयारी गर्नुपर्नेमा जोड दिनुभयो ।

सचिव सुवालले विद्युतीय सवारी साधन तथा विद्युतीय ऊर्जामा आधारित यातायात प्रणालीतर्फ सरकार र निजी क्षेत्र दुवैले ध्यान दिनुपर्ने उल्लेख गर्दै यस्तो परिवर्तनले इन्धन खर्च घटाउने, प्रदूर्षण कम गर्ने र दीर्घकालीन रुपमा देशलाई आर्थिक रूपमा फाइदाजनक हुने जिकिर गरेका हुन । ।
कार्यक्रममा बोल्दै उहाँले सत्ता सञ्चालनमा सहभागी दलका सांसद तथा मन्त्रीहरूको अव्यवस्थित गतिविधिका कारण काठमाडौं उपत्यकामा यातायात चाप दिनानुदिन बढ्दै गएको बताउनु भयो । जनताको सहज यातायात व्यवस्थापन र सेवाको गुणस्तर वृद्धि गर्न नीतिगत सुधार अनिवार्य भएको भन्दै सचिव सुवालले नीतिगत समन्वयको कमी तथा व्यवस्थापनमा देखिएको कमजोरीले यातायात समस्या झनै गम्भीर बन्दै गएको बताउनु भयो । सचिव सुवालले नीजिकरण भन्दा सार्वजनीक यातायात सेवालाई सामूहिकीकरण गर्नुपर्नेमा जोड दिनु भयो ।

५सय ३८ वटा ट्रकहरुको व्यवसायिक हितकालागि क्रियाशिल भक्तपुर ट्रक व्यवसायी संघका अध्यक्ष लक्ष्मीप्रसाद गोराको सभाध्यक्षतामा आयोजित सो कार्यक्रममा ढुवानी व्यवसायसँग सम्बन्धित चुनौती, विद्यमान संरचना, आगामी नीतिगत आवश्यकताहरू र व्यवसायीहरूको समस्या समाधानका विषयमा व्यापक छलफल गरिएको थियो । कार्यक्रमले स्थानीय ढुवानी क्षेत्रको सुधार तथा आधुनिकीकरणका लागि आवश्यक दिशानिर्देश तय गर्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वार, नेपाल इटा उद्योग महासंघका केन्द्रिय अध्यक्ष केपी अवाल, संघका संस्थापक अध्यक्ष विश्वराम कवां, भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशी, भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, संघका सल्लाहकार नविन प्रजापति, भक्तपुर ईट्टा व्यवासायी संघका अध्यक्ष नातिभाई कवां, संघका कोषाध्यक्ष जितेन्द्र खायमली सहितका अतिथिहरुले ट्रक व्यवासायीहरुका साझा समस्या र चुनौतीहरुका साथै ढुवानी व्यवसायलाई थप व्यवस्थित पार्न सकिने विभिन्न विषयहरुमा आआफ्नो धारणा ब्यक्त गरेका थिए ।














