पत्रकारहरुको विरोध कार्यक्रम जारी, आज विरोध स्वरुप हातमा कालो पति बाँध्यो ।

पत्रकारहरुको विरोध कार्यक्रम जारी, आज विरोध स्वरुप हातमा कालो पति बाँध्यो ।

भक्तपुर, चैत्र १७ गते
पत्रकार महासंघ भक्तपुरले पत्रकार हत्या र सञ्चार गृहमाथिको आक्रमण विरुद्ध बिरोध सभा गरेको छ । महासंघ भक्तपुरको कर्यकक्षमा भेला भएका पत्रकारहरुले हातमा कालो पति बाँधेर विरोध जनाउँदै शुक्रबार आन्दोलनकारीहरुले आगो लगाएर हत्या गरिएका पत्रकार सुरेश रजकका हत्यारालाई जन्म कैदको माग गरेका छन् । जिल्ला अध्यक्ष सुन्दर शिल्पकारले पत्रकार हत्या र सञ्चार गृहमाथिको आक्रमण विरुद्ध पत्रकार महासंघले देशभर आन्दोलनको घोषणा गरेको जानकारी दिदै हत्यारालाई तत्काल कार्वाहीको माग गरेका हुन । अध्यक्ष शिल्पकारले त्यहि दिन कान्तिपुर, अन्नपूर्ण, हिमालयन टिभि लगायतका सञ्चार गृह र संञ्चारकर्मीमाथि भएको आक्रमण पनि भत्सना योग्य भएको बताउँदै त्यसको दोषी जो सुकै भएपनि कार्वाहीकालागि सरकारसँग माग गरेको बताउनु भयो । महासंघको केन्द्रको पत्राचार अनुसार नै हिजो माइतीघरमा आयोजित विरोध सभामा भक्तपुरका पत्रकारहरु पनि सहभागि भएको भन्दै आज कार्यक्षेत्रमा समेत पत्रकारहरुले कालो पति बाँधेर बिरोध जनाएको र भोली जिल्ला जिल्लामा प्रमुख जिल्ला अधिकारी मार्फत दोषीलाई कार्वाही र पत्रकारहरुको सुरक्षार्थ ज्ञापन पत्र बुझाउने बताउनु भयो । सो अवसरमा क्रियाशिल पत्रकार संघ भक्तपुरका अध्यक्ष रमेश गिरीले गत शुक्रबार भएको घटनाले लोकतान्त्रिक व्यवस्थामा पनि पत्रकारिता क्षेत्रमा गम्भिर मानव अधिकार हनन् भएको भन्दै यसले पत्रकारिता र पत्रकार असुरक्षित छ भन्ने प्रष्ट भएको बताउनु भयो । उहाँले पत्रकारको हत्या हुँदा पनि मानवअधिकारकर्मीहरुले केही नबोल्नु गम्भिर विषय भएको भन्दै हत्यारालाई जन्मकैदको माग गर्नु भयो । रफत क्लबका अध्यक्ष सुशिल थापाले बारम्बार प्रेस माथि हुने गरेको आक्रमणको भत्सना गर्दै पत्रकार हत्यारा र आक्रमणकारीहरुको राज्यले छानबिन र अनुसन्धान गरी कार्वाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिनु भयो । उहाँले पत्रकारलाई प्रत्यक्ष आगो लगाई हत्या गर्नेलाई तत्काल कार्वाही गरी पत्रकारीता क्षेत्रको सुरक्षाको अनुभूति दिलाउनुपर्नेमा जोड दिएका थिए । हत्यरालाई कार्वाही र मृतकको परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै सहभागि पत्रकारहरुले एक मिनेट मौनधारण व्यक्त गर्दै मृतक प्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए । यसै बीच नेवा राष्ट्रिय पत्रकार दबुले पत्रकार हत्या र प्रेसमाथिको आक्रमण विरुद्ध काठमाण्डौको बसन्तपुरमा धर्ना दिएको छ । विभिन्न सञ्चार माध्यमका प्रतिनिधीहरुले शुक्रबार भएको प्रेसमाथिको आक्रमण र रिपोट्रिङमा रहेका पत्रकारलाई जिउँदै जलाएर गरेको हत्याको विरोधमा हत्यारालाई कडा कार्वाहीको माग गर्दै पीडित परिवारलाई उचित क्षेतिपूर्तिको माग गरेका छन् ।