जेनजी आन्दोलनमा असहाव अस्ताएपछि बस्ती नै मर्माहत
वीरगञ्ज (पर्सा), २८ भदौ : दुई महिनाअघि मात्रै वीरगञ्ज महानगर–१२ का असहाव आलम ठकुराई वैवाहिक बन्धनमा बाँधिनुभएको थियो । आफ्नो वैवाहिक जीवन राम्रोसँग अघि बढाउन नपाउँदै असहावले गत मङ्गलबार काठमाडौँमा भएको जेनजी समूहको प्रदर्शनीमा प्रहरीको गोली लागेर ज्यान गुमाउनुभयो ।
बाइस वर्षे असहाव भारतको विहार राज्यको पूर्वी चम्पारणको आदारपुर नजिकै बेल्दर्वाका रोक्सिता खातुनसँग दुई महिनाअघि मात्रै प्रणयसूत्रमा गाँसिनुभएको थियो । तर, कलिलो उमेरमै आन्दोलनमा परेर ज्यान गुमाएपछि अहिले वीरगञ्ज महानगर मुर्लीका बासिन्दा शोकमा डुबेका छन् ।
विगत तीन वर्षदेखि अध्ययन तथा रोजगारीका सिलसिलामा असहाव काठमाडौँमा रहँदै आइरहनुभएको थियो । तर, मङ्लबार पठाओमा यात्रुलाई गोङ्गबु लैजाने क्रममा प्रहरीको गोली लागेर जेनजी आन्दोलनमा सहादत प्राप्त गरेको उहाँको परिवारले जनाएको छ ।
उहाँको मृत्युसँगै अहिले उहाँको आमा नजला खातुन र उहाँकी श्रीमती रोक्सिता खातुन बेलाबखतमा मुर्छित हुँदै अचेत अवस्थामा रहनुभएको छ । आफ्नो छोराको मृत्युले विछिप्त हुनुभएकी आमा नजला खातुनले आफ्नो छोरा श्रवणकुमारजस्तै आमाबुबालाई असाध्यै माया गर्ने सन्तान रहेको बताउनुभयो ।
“मेरो छोरा श्रवणकुमार जस्तै थियो । भर्खरै बिहे गरेर बुहारी भित्र्याएको छ । अब मेरी बुहारी कसको मुख हेरेर बाँच्ली ?” आमा नजलाले रुँदै भन्नुभयो, “दुई महिनाअघि मात्रै विवाह गरेर ल्याएकी बुहारीको सिउँदो उजाडिएको छ ।” आमा नजमाले आफ्नो छोरालाई प्रहरीले किन मारेको भनेर बारम्बार प्रश्न सोध्दै आइरहनुभएको छ । “अहिले बुहारी छोराको यादमा बिलौना गरेर बसिरहेकी छन् । मेरी बुहारीले के अपराध गरेकी थिइन् र उनलाई बिछोड गराइयो ?” उहाँले स्तब्ध हुँदै भन्नुभयो ।
मृतक ठकुराई पाँच सन्तानमध्येका तेस्रो छोरा हुन् । असहाव वीरगञ्जको ग्लोबल विजनेस कलेजबाट कक्षा १२ व्यवस्थापन सङ्कायमा पास गरेर थप अध्ययन र रोजगारीका लागि काठमाडौँ गएका थिए । असहावका छिमेकी मनोज गुप्ताले असहाव गत मङ्गलबार बिहान १०ः०० बजेपछि सम्पर्कविहीन भएपछि खोजी गर्दा उहाँको शव काठमाडौँको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भेट्टिएको जानकारी दिनुभयो ।
“असहावको छाती र पेटमा गरेर दुई वटा गोली लागेको देखिन्छ”, उहाँले भन्नुभयो, “शुक्रबार परीक्षणलगायतका प्रक्रिया पूरा गरेर असहावका काकाले उहाँको शव ल्याउँदै हुनुहुन्छ ।” छिमेकी गुप्ताले असहाव निकै मिजासिलो र आँखामा राख्दा पनि नबिजाउने प्रकृतिको व्यक्तित्व रहेको बताउनुभयो ।
असहावका काका असराल आलम ठकुराईले असहावको मृत्युले निकै मर्माहत भएको बताउनुभयो । “उनको मृत्युले हामी निकै मर्माहत भएका छौँ”, उहाँले भन्नुभयो, “जेनजी आन्दालेनमा असहावजस्तै ज्यानको आहुति दिने योद्धाको बालीदानले मुलुकमा नयाँ क्रान्तिको सुरुआत होस् ।”














