श्री भुवनेश्वरी माविमा एसईई उत्तीर्ण विद्यार्थी, नवआगन्तुक र शिक्षक-कर्मचारीलाई सम्मान कार्यक्रम:
भक्तपुर, साउन १६ गते, भक्तपुरको सूर्यविनायक नगरपालिका-९, नङखेलस्थित श्री भुवनेश्वरी माध्यमिक विद्यालयमा शैक्षिक उपलब्धि, सेवा र स्वागतलाई सम्मान गर्ने उद्देश्यका साथ एक भव्य कार्यक्रम सम्पन्न गरिएको छ । सो अवसरमा विद्यालयले २०८१ सालको एसईई परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरूलाई सम्मान, नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत र विद्यालयमा समर्पित भावनाका साथ कार्यरत शिक्षक तथा कर्मचारीहरूलाई सम्मानपत्रसहित सम्मान गरेको हो ।


कार्यक्रममा प्रमुख अतिथिका रूपमा सूर्यविनायक नगरपालिकाका नगरप्रमुख श्री बासुदेव थापाज्यू रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता वडा नं. ९ का वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री भगवान खत्रीज्यूले गर्नुभएको थियो । विशेष अतिथिका रूपमा शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख श्री रत्नबहादुर कटुवाल र सामाजिक विकास समितिका संयोजक श्री रविन्द्र सापकोटाको उपस्थिति उल्लेखनीय रह्यो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक संघ, पूर्व कार्यसमिति सदस्यहरू, स्थानीय अभिभावकहरू, बुवाआमाहरू, विद्यार्थीहरू तथा समाजका विभिन्न तह–तप्काका व्यक्तिहरूको उल्लेखनीय सहभागिता थियो।
कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक श्री कपिल केसीले गर्नुभएको थियो, जसले पूरै कार्यक्रमलाई प्रभावकारी, अनुशासित र आकर्षक बनायो ।
शिक्षक सुनिता देउजाले स्वागत मन्तव्य राख्दै अतिथिहरूप्रति स्वागत व्यक्त गर्नुका साथै धिमेबाजा द्धारा सांगितिक वातारण निर्माण गरिएको थियो ।
प्रधानाध्यापकको मन्तव्य:
कार्यक्रमको एक महत्वपूर्ण क्षणमा विद्यालयको प्रधानाध्यापक सुभद्रा लघुले मन्तव्य दिँदै भन्नुभयोः
“हाम्रो विद्यालयले यो सफलताको यात्रामा प्रवेश गर्नुको मूल आधार भनेकै शिक्षकहरूको समर्पण, व्यवस्थापन समितिको साथ, अभिभावकहरूको विश्वास र विद्यार्थीहरूको कडा मेहनत हो । यसपटकको एसईई परीक्षामा शतप्रतिशत नतिजा आउनु हामी सबैका लागि गौरवको कुरा हो। हामी आगामी वर्षहरूमा अझ बढी शैक्षिक गुणस्तर, सहजीकरणयुक्त पठनपाठन वातावरण र समावेशी शिक्षामा ध्यान दिनेछौं । विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि आवश्यक योजना नगरपालिकासँग सहकार्यमा अघि बढिसकेको छ ।”
उहाँले विद्यार्थीहरूको बहुपक्षीय विकासका लागि अतिरिक्त क्रियाकलाप, सूचना प्रविधिमा आधारित शिक्षण विधि र विद्यालको नयाँ भवन निर्माणमा लागिरहेको र त्यसलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सम्मान र सन्देश:
शतप्रतिशत सफलता प्राप्त गरेका एसईई उत्तीर्ण विद्यार्थीहरूलाई प्रमाणपत्र र मायाको चिनो प्रदान गरियो । त्यसैगरी, विद्यालयमा नवप्रवेशी विद्यार्थीहरूलाई स्वागत गरिँदै उत्साहजनक वातावरण निर्माण गरिएको थियो।
विद्यालयमा समर्पित शिक्षक–कर्मचारीहरूलाई सम्मानपत्र र मायाको चिनो प्रदान गर्दै विद्यालयप्रति योगदानको उच्च कदर गरिएको थियो ।
विद्यार्थी प्रतिनिधि मनिक कासुलाले मन्तव्य व्यक्त गर्दै शिक्षक, अभिभावक र विद्यालयप्रतिको सम्मान र आभार प्रकट गरे ।
प्रमुख अतिथि तथा अन्य मन्तव्य:
नगरप्रमुख थापाले सूर्यविनायक नगरपालिकाको शैक्षिक अग्रगमनबारे तथ्य प्रस्तुत गर्दै विद्यालयको भवन निर्माण, स्रोतसाधन विस्तार र गुणस्तरीय शिक्षणका लागि नगरपालिका सदैव प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । साथै प्रमुख अतिथि थापाज्यूले सूर्यविनायक नगरपालिका भक्तपुर जिल्लामा शिक्षा क्षेत्रको अग्रणी रहेको उल्लेख गर्दै हालैको एसईई परीक्षामा जिल्लाभर ४.०० जीपीए ल्याउने ३० जना विद्यार्थीमध्ये १४ जना सूर्यविनायककै भएकोमा गर्व व्यक्त गर्नुभयो । उहाँले शिक्षा तथा स्वास्थ्यलाई प्राथमिकतामा राख्दै भुवनेश्वरी माध्यमिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि नगरपालिका तथा बागमती प्रदेश सरकार सँग सहयोग लिदै छिटै नयाँ भवनको निर्माण गर्न तयारी भइसकेको जानकारी दिनुभयो । यस पालिकामा वडा अध्यक्षनै वि.व्य.स अध्यक्ष हुने र खुल्ला प्रतिस्पर्धाद्धारा प्र.अ नियुक्ति गर्दा सुरुको दिनहरुमा निकै विवाद आएतापनि अहिले नतिजामा सुधार आउदा त्यस्ता विरोधि आवाजहरु बन्द हुदै गएको र यस्ता कार्य अहिले धेरै पालिकाहरुमा सुरु भएको यथार्थ पनि उजागर गर्नुभयो ।
सामाजिक विकास संयोजक सापकोटाले विद्यालयको हरेक सकारात्मक कार्यमा सदैव साथ दिने प्रतिवद्धता जनाउनुभयो।
शिक्षा शाखा प्रमुख रत्न बहादुर कटुवालले संस्थागत समर्पण र सहकार्यले मात्र सत प्रतिशत विद्यार्थी उत्तीर्ण उपलब्धि सम्भव भएको भन्दै अन्य विद्यालयका लागि प्रेरणाको स्रोत भएको बताउनुभयो ।
कार्यक्रम समापन:
अध्यक्ष खत्रीज्यूले विद्यालयलाई शैक्षिक धरोहरको रूपमा विकसित गर्न सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको दोहो¥याउँदै, आगामी दिनहरूमा योजनाबद्ध रूपमा अघि बढ्ने र वडाबाट हुने सहयोग पूर्ण रुपमा सदैव रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सम्पूर्ण अतिथिहरुलाई विद्यालयको प्र.अ शुभद्रा लघुद्धारा मायाको चिनो प्रदान गर्दै कार्यक्रमको समापन शिक्षाको गुणस्तर, पूर्वाधारको मजबुतीकरण र विद्यार्थी–केन्द्रित सिकाइ प्रविधिको प्रवद्र्धन गर्दै अझै सशक्त र आगामि शैक्षिक सत्रमा झनै राम्रो नतिजा ल्याउने संकल्पका साथ भव्यपूर्वक सम्पन्न भएको छ ।













