बैशाख १९ र २० गते भक्तपुरमा पहिलो पटक राष्ट्रव्यापी किक बक्सिङ प्रतियोगिता हुने

बैशाख १९ र २० गते भक्तपुरमा पहिलो पटक राष्ट्रव्यापी किक बक्सिङ प्रतियोगिता हुने
भक्तपुर, बैशाख १३ गते
भक्तपुरमा पहिलो पटक राष्ट्रव्यापी किक बक्सिङ प्रतियोगिता हुने भएको छ । यही बैशाख १९ र २० गते नेपाल किक बक्सिङ्ग संघ भक्तपुर जिल्ला समितिले सो प्रतियोगिता आयोजना गर्ने भएको भन्दै आज आयोजक समितिले पत्रकार सम्मेलन आयोजना गरेको हो । जगातीस्थित प्रहरी बित्त प्रांगणमा रहेको ईट्टा टायल कारखानाको एक हलमा आयोजना हुने सो प्रतियोगिता मार्फत राष्ट्रियस्तरका उत्कृष्ट खेलाडीहरुको पहिचान, प्रशिक्षण दिन र भविष्यमा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाल प्रतिनिधित्व गर्न सक्षम बनाउने उदेश्यले सो प्रतियोगिता आयोजना गर्न लागेको आयोजक समितिले जनाएको छ ।
११ वटा तौल तथा वर्गगत प्रतिस्पर्धाहरु सञ्चालन हुने सो प्रतियोगिता विश्व किक बक्सिङ्ग महासंघद्वारा स्वीकृत प्१ नियमावली अनुसार सञ्चानल हुने र प्रत्येक बाउट ३ राउन्डको हुने तथा प्रत्येक राउन्डको अवधी २ मिनेटको हुने जनाएको छ । प्रतियोगिताले खेलाडीहरुको शारीरिक क्षमता, प्रविधि र मानसिक बलको उत्कृष्ट प्रदर्शन सुनिश्चित हुनेगरी प्रतियोगिताको विशेष आकर्षणको रुपमा २ वटा प्रो फाइट (व्यवसायिक स्तरका खेलहरु) पनि आयोजना गरिने छ ।


बैशाख १८ गते नै प्रतियोगितामा सहभागि हुने खेलाडीहरुको दर्ता तथा तौल जाँच हुने सो प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक प्रदान गरिने छ । खेललाई पेशा, प्रतिष्ठा र भविष्य निर्माणको आधारको रुपमा पनि स्थापित गर्न आयोजक समितिले नगद पुरस्कारको समेत व्यवस्था गरेको छ । खेल अब केबल शारीरिक अभ्यास मात्र नभई जीवन निर्वाह र राष्ट्रको गौरवको माध्यम पनि हो भन्ने सन्देश सहित आयोजक समितिले खेलाडी सुरक्षालाई ध्यानमा राखेर प्रतियोगिता अवधिभर सम्पूर्ण खेलाडीहरुकालागि रु.२ लाखसम्मको बीमा नीतिको व्यवस्था गरिएको छ । किक बक्सिङका राष्ट्रिय प्रशिक्षक एवं रेफ्रि राजु बजिक्वका अनुसार हालै सम्पन्न १९ औं एसियाली खेलकूद, हङझाउ, चीनमा ऐतिहासिक रुपमा किक बक्सिङ्गलाई आगामी २० औं एसियाली खेलकूदमा समावेश गरिने घोषणा भएको सन्दर्भमा यो प्रतियोगिता नेपालका सम्भावनाशील खेलाडीहरुलाई आगामी एशियाली खेलकूदको लागि तयार पार्न महत्वपूर्ण अवसरका रुपमा लिइएको छ ।
प्रतियोगिता सबै इभेन्टहरुमा भक्तपुरका खेलाडीहरुले प्रतिस्पर्धा गरिने छन् । प्रतियोगितामा नेपालभर सातै प्रदेशहरुका २० भन्दा बढी जिल्लाहरुबाट विभिन्न क्लबका गरी करिब १२० जना भन्दा बढी खेलाडीहरुको सहभागिता हुने आयोजक नेपाल किक बक्सिङ्ग संघ भक्तपुरका अध्यक्ष कृष्णराम जाकिबन्जारले जनाएको छ । अध्यक्ष जाकिबन्जारका अनुसार बाहिरी जिल्लाबाट प्रतियोगितामा आउने खेलाडीहरुलाई प्रतियोगिता अवधिभर बस्ने र खाने व्यवस्था पनि आयोजक समितिले नै गरिने छ । प्रतियोगिताको आयोजना बारे जानकारी दिन शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता आयोजना गर्न १५ लाख खर्च लाग्ने पूर्वानुमान गरेको छ । आर्थिक स्रोत सुनिश्चित भएसँगै विजयी खेलाडीहरुलाई नगद पुरस्कार पनि घोषणा हुने आयोजक समितिले जनाएको छ ।