भक्तपुरमा मुटुराेग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

भक्तपुरमा मुटुराेग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न
भक्तपुर,
नेपाल हृदयराेग निवारण प्रतिष्ठान,भक्तपुर शाखाकाे महिला सहक्तिकरण उपसमिति र भक्तपुर नासमनास्थित नित्यनाथ बचत तथा ऋण सहकारी संस्थाकाे संयुक्त अायाेजनामा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस-८ मार्च २०२५ काे अवसरमा मुटुराेग सम्बन्धी सचेतना कार्यक्रम र BMI परीक्षण एवं रक्तचाप मापन कार्यक्रम सफलतापूर्वक सम्पन्न भयाे । उक्त कार्यक्रममा वरिष्ठ कार्डियाे भास्कुलर सर्जन एवं प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष डा. प्रेमराज बैद्यले नसर्ने राेगहरू मध्ये भयावह रूपमा बढिरहेकाे मुटुराेगबाट बच्न अपनाउनुपर्ने सावधानी र समय र परिस्थिति अनुसार जीवनशैलीमा परिवर्तन गर्नुपर्ने अावश्यकताबारे सचेतनामूलक प्रस्तुतिकरण गर्नुभयाे । त्यसैगरी वरिष्ठ स्त्री क्यान्सर विशेषज्ञ एवं लेजर थेरापि विशेषज्ञ डा. सुशिला बैद्यले पाठेघरकाे मुख तथा स्तन क्यान्सरबारे जानकारीमूलक प्रस्तुतिकरण गर्नुभयाे ।

प्रस्तुतिकरणकै क्रममा प्रतिष्ठानका अाजीवन सदस्य एवं जनस्वास्थ्य ज्ञाता सकि थापाले महिलाहरूमा लाग्ने मुटुराेग राताे संकट सूचकबारे जानकारी दिनुका साथै अपनाउनुपर्ने सावधानीबारे प्रस्तुतिकरण गर्नुभयाे । महिला सशक्तिकरण उपसमितिका संयाेजक विद्या राजभण्डारीकाे संयाेजनमा सम्पन्न साे कार्यक्रममा प्राविधिकहरू रत्नमाया सुवाल, गङ्गा गुरूङ्ग र सरिता याकामी गाेसाईंलगायतबाट BMI परीक्षण तथा रक्तचाप मापन कार्य सफलतापूर्वक सम्पन्न गरिएकाे थियाे । उक्त परीक्षणमा ६० जना महिला र ७ जना पुरूषले सक्रिय सहभागिता जनाएकाे थियाे । प्रतिष्ठानले तयार पारिएकाे प्रतिवेदन अनुसार १० जनामा उच्च रक्तचाप देखिएकाे, सामान्य ताैल ८ जना, माेटाेपना ३८ जना, कम ताैल १७ जना र अतिरिक्त माेटाेपना ४ जना देखिएकाे थियाे ।
कार्यक्रमकाे अन्तमा नित्यनाथ साकाेसका सचिव अाशाराम त्वायना र महिला समितिका संयाेजक सीता देशेमरूले संयुक्त रूपमा धन्यबाद ज्ञापन गर्दै प्रस्तुतिकर्ता अतिथिहरूलाई मायाकाे चिनाे प्रदान गरिएकाे थियाे ।
(सम्पन्न मिति : २०८१ फागुन २४ गते शनिबार)