मानसिक स्वास्थ्य सुधारका लागि धार्मिक अगुवा र सरकारको सहकार्य आवस्यक ।
ललितपुर, जेष्ठ ४ गते
महिला र वालवालिकाको मानसिक स्वास्थ्य कल्याण तथा हिंसा हटाउने कार्यका लागि बिभिन्न धर्मका धार्मिक अगुवा मार्फत सरकारले काम गर्न सके प्रभावकारी हुने सरोकारवालाहरुले बताएका छन् । महिला हिंसा विरुद्ध राष्ट्रिय अन्तरधार्मिक सञ्जाल (निरन) नेपालले आज ललितपुरमा गरेको कार्यक्रममा बक्ताहरुले सो कुरा बताएका हुन् । हानिकारक परम्परागत अभ्यास अन्त्यका लागि धर्मगुरुहरुको भूमिकाको प्रशंसा गर्दै अब महिला हिंसा अन्त्य गर्ने र महिलाको मानसिक स्वास्थ्यको क्षेत्रमा काम केन्द्रित गर्न लागेको निरनका उपाध्यक्ष एवं ओसोधाराका प्राचार्य डा. नर्मता पाण्डेले बताउनुभयो ।


अन्तरधार्मिक गतिविधीहरु मार्फत बिभिन्न कार्यक्रम गरेर समाजमा चलेका कुरीतिहरुको अन्त्य गर्न सकिएको उदाहरण दिदै अब मानसिक स्वास्थ्यको लागि धर्मगुरुहरु केन्द्रित हुने योजना रहेको निरनका व्यवस्थापक नहिदा बानुले जानकारी दिनुभयो । इसाई धर्मका पास्टर रुविन पाख्रीनले धर्मका नाममा हुने कुरीतिको अन्त्य गर्दै मानव तथा परिवार कल्याणमा आफुहरुले काम गर्ने बताउनुभयो । कार्यक्रममा विभिन्न धर्मका संघसंगठनका नेतृत्ववर्ग, धर्मगुरुहरू र धार्मिक अगुवा, सरकारका प्रतिनिधि र सरोकारवालाबीच भएको छलफलमा मुस्लीम आयोगले सहभागिता जनाई धेरै कुरा सिकेको आयोगका कार्यबाहक अध्यक्ष महमुद्धिनी अलीले बताउनुभयो । महिला आयोगका उपसचिव शिता अधिकारीले महिला आयोगले पनि महिला हिंसा तथा मानसिक स्वास्थ्यको क्षेत्रमा अन्तरधार्मिक क्षेत्रसँग सहकार्य गर्ने बताउनुभयो । कार्यक्रममा बरिष्ठ पत्रकार तीर्थ कोइरालाले मानसिक स्वास्थ्य प्रवर्धन र महिला हिंसा अन्त्यमा सञ्चार माध्यम र सामाजिक सञ्जालको पनि क्षमता विकास गर्न आवस्यक रहेको बताउनु भयो । समाजकल्याण परिषदका निर्देशक भगवती संग्रौलाले परिषद सधैं यस्ता समाजकल्याण र मानसिक कल्याणको गतिविधी गर्ने संस्थाहरुसँग सहकार्य गर्न तयार रहेको बताउनु भयो । मानसिक स्वास्थ्य सुधारका लागि धार्मिक अगुवा र सरकारको सहकार्य आवस्यक रहेको सीआईएनका व्यवस्थापक दीपक आचार्यले बताउनु भयो ।














