डोलेश्वर महादेव संरक्षण समितिको आज १६ औं वार्षिक साधारण सभा

डोलेश्वर महादेव संरक्षण समितिको आज १६ औं वार्षिक साधारण सभा
भक्तपुर, माघ १७ गते
भक्तपुरको प्रसिद्ध सिपारे महादेवलाई केदारनाथको शिर डोलेरश्वर महादेव घोषणापछि २०६६मा गठित संरक्षण तथा विकास समितिले आज १६ औं वार्षिक साधारण सभा आयोजना गरेको छ । सो साधारणसभाको बागमति प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले पानसमा दिप प्रज्वलन गर्दै उद्घाटन गरेका हुन । डोलेश्वरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गरी स्थानीय उत्पादन बृद्धि तथा रोजगार सृजना गर्ने अभिप्रायले पनि सो क्षेत्रको धार्मिक तथा सांस्कृतिक विकासकालागि विभिन्न पूर्वाधार विकासक्रममा रहेको चर्चा गर्दै सो अवसरमा मन्त्री थापाल केन्द्र सरकार र प्रदेश सरकारको बजेटले डोलेश्वर तिर्थातनकालागि आवश्यक पूर्वाधारहरु बन्दै गरेको उल्लेख गर्दै आन्तरिक तथा बाह्य पर्यटक बढउने प्रयास जारी रहेको बताए ।


समितिका अध्यक्ष धर्मराज बस्नेतको सभापतित्वमा आयोजित सो साधारण सभामा भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले डोलेश्वर मन्दिरको पवित्रतालाई अच्छुन्न राख्नुपर्नेमा जोड दिदै समाजलाई धार्मिक र आध्यात्मिक क्षेत्रमा प्रेरित गर्नका निम्ति युवा पीडितमा संस्कार र संस्कृतिका बारेमा अझ गहिरो छाप बढाउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटा, सूनपा ८का वडाध्यक्ष पुष्पराज बस्नेतले सम्पदा संरक्षणकालागि स्थानीय तहले खेल्दै आएको भूमिका बारे प्रकाश पारेका थिए भने समितिका महाचिव हरिशरण बस्नेतले गत वर्षको प्रगति तथा आगामी वर्षको लक्ष्य प्रस्तुत गरेका थिए । यसै बीच कोषाध्यक्ष रत्नप्रसाद छुकाले आ.व. २०८०।८१मा १ करोड ४१ लाख २३ हजार ७९० रुपियाँको आय तथा ६३ लाख ११ हजार २८७ रुपियाँको खर्च विवरण प्रस्तुत गरेका थिए ।
सो अवसरमा लेखापरिक्षकको तर्फबाट मन्दिरको गरिमा बढाउन हिसाव किताबलाई दुरुस्त राख्नुपर्ने, पुस महिनाभित्र साधारण सभा सम्पन्न गरिसक्नुपर्ने कानूनी व्यवस्थालाई पनि समितिले ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।