योग्य शिक्षक हुन विद्यार्थीको भाषाबाट पढाउन सक्नुपर्ने अध्यक्ष विजुक्छेको जोड
भक्तपुर, मंसिर ६ गते
विद्यार्थीहरुलाई आफ्नो मातृ भाषाबाटै पढाउन सक्ने शिक्षकको योग्यता हुनुपर्नेमा जोड दिदै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले ८० प्रतिशत तामाङ भाषाका विद्यार्थीहरुले अध्ययन गर्ने आदर्श आजाद माविका शिक्षकहरुले तामाङ भाषा सिकेर सोही भाषामा विद्यार्थीहरुलाई पढाउँदा प्रभावकारी हुने बताएका छन्। विद्यालयको ६५ औ तथा कलेजको १६ औं वार्षिकोत्सब समारोहको उद्घाटन गर्दै अध्यक्ष विजुक्छेले सो कुरा बताएका हुन । अध्यक्ष विजुक्छेले शिक्षामा पनि उपनिवेश र नवउपनिवेशको प्रभाव रहेको चर्चा गर्दै विदेशी सम्बर्धन प्राप्त शैक्षिक संस्थाहरुले विद्यालयस्तरबाट तयार भएका विद्यार्थीहरुलाई कमिशनको खेलमा विदेश पलायन गराइरहेको उल्लेख गर्दै विद्यार्थीहरुलाई देशभक्तिको शिक्षा दिएर देशमै रहने वातावरण बनउनुपर्नेमा जोड दिनु भयो ।

साथै उहाँले विदेश गएका युवाहरुले पनि सिकेको ज्ञानलाई स्वदेशमै फकेर राष्ट्रहितकालागि सेवा गर्नुपर्नेमा जोड दिनु भयो । अध्यक्ष विजुक्छेले शिक्षकको हातमा देश रहेको भन्दै देशको सार्वभौमिकता रक्षाकालागि विद्यार्थीहरुलाई देशप्रेमी शिक्षा दिनुपर्नेमा जोड दिनु भयो । यदि शिक्षकले यस्तो भूमिका खेलेन भने देश नै नरहने उल्लेख गर्दै अध्यक्ष विजुक्छेंले विश्व व्यापार संगठनमा नेपाल सदस्य भएपछि विदेशी सामानहरु विना कर नेपालमा पनि बेच्न पाउने भएको र विदेशी लगानी र पूँजीले नाफा लाने भएकोले यसको विरोध गरेको बताउनु भायो । उहाँले विद्यार्थीहरुलाई डब्लुटिओ के हो? यसले के गर्छ? बुझाउने दायित्व शिक्षकको भएको पनि बताउनु भयो ।


शिक्षा सेवी सिद्धिरत्न शाक्यलाई दोसल्ला ओडाइ ताम्रपत्रका साथ सम्मानित गर्नु हुँदै अध्यक्ष विजुक्छेले देशको भाषा नीति गलत भएकोले अंग्रेजी बोल्दा ठिक हुने नेपाली बोल्दा गल्ति हुने गरेको टिप्पणी गर्नु भयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं भनपा ५का वडाध्यक्ष योगेन्द्रमान विजुक्छेंको सभापतित्वमा आयोजित सो कार्यक्रममा बोल्दै नेक्रा शिक्षक संघका अध्यक्ष ज्ञानसागर प्रजापतिले विद्यार्थीलाई कुटेर र गालि गरेर पढाउने युग अन्त्य भएको चर्चा गर्दै सरकारले कूल बजेटको २४ प्रतिशत शिक्षामा लगानी गर्नुपर्नेमा २० प्रतिशत अन्तराष्ट्रियस्तरमा प्रतिबद्धता जनाएर पनि ११ प्रतिशत मात्रै लगानी गर्दा नेपालको शिक्षा कमजोर हुनुका साथै अभिभावकहरुलाई भार परेको बताउनु भयो । शिक्षासेवी सिद्धिरत्न शाक्यले कर्णालीको दुर्गम क्षेत्र जुम्लामा शिक्षाको ज्योति फैलाउँदाका अनुभवहरु सुनाउँदै दुरदराजको शैक्षिक विकासमा विभिन्न संघ संस्थाहरुको पनि महत्वपूर्ण योगदान रहेको बताउनु भयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र तथा शैक्षिक गणतव्यस्थल बनाउने लक्ष्यले विद्यार्थीहरुलाई रोजगारीकोलागि विदेश जान नपर्ने बताउनु भयो । मंसिर २८ देखि पुस २ गतेसम्म भक्तपुरमा आयोजना हुने भक्तपुर महोत्सवले यहाँको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धन हुनुका साथै साँस्कृतिकस्तर उकास्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नु भयो । संयुक्त परीक्षा समितिका अध्यक्ष रोशनराज तुईतुईले सो अवसरमा विद्यार्थीहरुको आनिवानीमा आएको परिवर्तन बारे समीक्षा गर्दै मोबाइल र कुलतहरुबाट सुरक्षित राखेर पठ्न सिप विकास गर्न विद्यालयको मात्र भर परेर नहुने उल्लेख गर्दै उहाँले अभिभावकहरुले पनि यसमा ध्यानदिनुपर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्रीकृष्ण किसी, सह प्रधानाध्यापक चक्रबहादुर चाकतु, चिनिया भाषा प्रशिक्षक छिक्व, विद्यालय व्यवस्थापन समितका उद्व सुजखु,शिक्षक राकेश सुकुपायो, प्रेमजन थापा सहितका अतिथिहरुले विद्यालयलको शैक्षिक गतविधि र शेक्षिक उनयनका बारेमा आआफ्नो धारणा राखेका थिए । सो अवसरमा ९० जना विद्यार्थीहरुलाई विभिन्न छात्रवृत्ति वितरण गर्नुका साथै विभिन्न प्रतियोगिता र कक्षागत उत्कृष्ठ विद्यार्थीहरुलाई पुरस्कृत गरेको थियो भने लामो समय देखि क्रियाशिल ४८ जना शिक्षकहरुलाई पनि सो अवसरमा सम्मानित गरेको थियो ।
वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए भने अध्यक्ष विजुक्छेले आर्दश आजाद माविको स्मारिका पनि विमोचन गर्नु भएको थियो ।













