१४ वर्ष मुनिका बालबालिकालागि क्यान्सर उपचार निःशुल्क सेवा सुरु

१४ वर्ष मुनिका बालबालिकालागि क्यान्सर उपचार निःशुल्क सेवा सुरु
भक्तपुर, मंसिर ५ गते
विश्व बाल दिवसको अवसरमा आज भक्तपुर क्यान्सर अस्पतालबाट मुलुकभरका १४ वर्ष मुनिका बालबालिकाहरुकालागि लक्षित गरी निःशुल्क क्यान्सर उपचार सेवा सुभारम्भ गरेको छ । स्वास्थ्य मन्त्री प्रदीप पौड्यलद्वारा अस्पतालमा उपचारमा रहेका बालबालिकाहरुलाई निःशुल्क उपचार कार्डका साथ सामाग्री हस्तान्तरण गरी मुलुकभरकालागि सो सेवा प्रारम्भ गरेका हुन ।
सेवा प्रारम्भ गर्दै स्वास्थ्य मन्त्री पौड्यलले स्वास्थ्य क्षेत्रमा रहेका सिमित स्रोत, साधन, जनशक्ति र पूर्वाधार बीच असिमित सेवा दिने संकल्प लिएर देशभर स्वास्थ्य सेवा प्रभावकारी बनाउने कार्य अन्तर्गत १४ वर्ष मुनिका १६ लाख बालबालिकाहरुकालागि निःशुल्क क्यान्सर उपचार सेवा प्रारम्भ भएको बताउनु भयो । विश्व स्वास्थ्य संगठनको सहयोग र अन्य निकायहरुको समन्वयमा नपुग नेपाल सरकारले व्यवस्था हुने गरी सो सेवा सुरु भएको भन्दै मन्त्री पौड्यलले स्वास्थ्य विमाको भूक्तानी नपाएको विषयमा अध्ययन हुँदा अस्पतालले विरामी जाँचेको तथ्यांक बढी देखाएको भन्दै त्यस्ता अस्पताललाई निलंम्बर गर्ने चेतावनी दिनु भयो । विमालाई थप प्रभावकारी बनाउन विमा रकम ५ लाख पुर्याउने सरकारी योजना श्रोतको सुनिश्चित हुने गरी कार्यान्वयनमा ल्याउने बताउनु भयो ।


भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरका सरकारी अस्पतालहरुले देशभरका विरामीहरुलाई सेवा दिइ आएको भएपनि सरकारी निकायबाट दिने भनिएको सव बहान समेत महिनौ अल्झाइ राखेको प्रति खेद प्रकट गर्दै स्वास्थ्य मन्त्री समक्ष ध्यानाकर्षण गराउनु भयो । नगर प्रमुख प्रजापतिले नागरिकहरुमा सुगर, उच्चरक्तचाप हुँदै क्यान्सर सम्म नसर्ने रोग लाग्न थालेपछि घरबार बिहिन हुनेको संख्या बढेको प्रति गम्भिर हुन आग्रह गर्नु भयो । उहाँले भन्नु भयो ख्वप अस्पतालले १लाखको स्वास्थ्य विमाबाट गरेको उपचारबापतको २० करोड भुक्तानी पाएको छैन, मन्त्री ज्यूले स्वास्थ्य विमा ५ लाख पुर्याउने कुरा पटक पटक भन्नु भयो । राम्रो कुरा हो, तर कार्यान्वयन कसरी हुन्छ? श्रोत सुनिश्चित गरेर कार्यान्वयन गर्न सकिने गरी सेवा विस्तार गर्नुपर्यो । सरकारी अस्पतालहरु कमजोर भएको भन्दै नगर प्रमुख प्रजापतिले रोग लागेपछि जनताहरु रोइकराई उपचारको पहुँच खोज्दै गरेको चर्चा गर्दै बाध्य भएर नीजि अस्पतालमा उपचार गराउन जानुपर्ने अवस्था आएकोे अवगत गराउनु भयो ।
कार्यक्रममा बागमती प्रदेशका सांसद सुरेश श्रेष्ठले स्वास्थ्य मन्त्रालयले पछिल्लो चरणमा धेरै राम्रो सेवा प्रवाह गर्दै आएको उल्लेख गर्दै भक्तपुर क्यान्सर अस्पतालका कर्माचारीहरुलाई स्थायी दरवन्दी दिन सकेको बताउनु भयो ।

भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक उज्ज्वल चालिसेले सो अवसरमा क्यान्सर रोगबाट बच्न र उपचारको पहुँचवृद्धि गर्न १४ वर्ष मुनिका क्यान्सर रोगि बालबालिकाहरुलाई लक्षित गरी मंसिर २ गतेबाट यो सेवा सञ्चालनमा आएको बताउँनु भयो ।
कार्यक्रममा अस्पतालका व्यवस्थापक राजाराम तजलेले क्यान्सर रोगको जतिलतालाई बुझेर यस अभियान सफल पार्न सहयोग गर्न आग्रह गर्दै सहयोगि सबैलाई धन्यवाद दिनु भयो ।