४४ औं तःमुज्याकालागि सञ्चार र प्रविधि समिति गठन
भक्तपुर, भाद्र १६ गते
४४ औं नेपाल भाषा साहित्य तःमूज्या व्यवस्थित रुपमा मनाउन प्राविधिक समिति र सञ्चार समन्वय समिति गठन गरेको छ । आज भक्तपुरको कमलविनायमा आयोजित एक भेलाबाट लक्ष्मीप्रसाद कुसीको संयोजकत्वमा प्राविधिक समिति र सञ्चारकर्मी विकुराम तजलेको संयोजकत्वमा सञ्चार समन्वय समिति गठन गरिएको हो । जनताको साझा मञ्चको रुपमा विकास हुँदै आएको तःमुज्यालाई व्यवस्थित रुपले मनाउन विभिन्न समिति, उपसमिति गठन गरी कार्य विभाजन गर्ने सिलसिलामा प्राविधिक समिति र सञ्चार समन्वय समिति गठन गरेको ४४ औं तःमुज्याका अध्यक्ष कृष्णभक्त लवजुले जनाएको छ । असोज २८ र २९ गते दुईदिनसम्म कमलविनायकस्थित लामुगःमा आयोजना हुने तःमुज्यामा विद्युत, बत्ति, मञ्च व्यवस्थापन, तथा प्रचार प्रसारकालागि साथै तःमुज्याको प्रत्यक्ष प्रशारण, फोटो र भिडियो खिच्ने एवं प्रचारप्रसार सहितका प्राविधिक एवं सञ्चारसँग सम्बन्धित विषयहरुलाई व्यस्थित र जिम्मेवार बनाउन सो समिति गठन गरेको तःमुज्याले जनाएको छ ।




सो अवसरमा भनपा १०का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखाले तःमुज्या सबैको साझा मञ्च भएकाले यसलाई व्यवस्थित रुपमा आयोजना गर्न सबै जनाले तःमुज्या आयोजना गर्ने विषयमा अपनत्व ग्रहण गर्नुपर्नेमा जोड दिनु भयो भने भनपा ९का वडाध्यक्ष रविन्द् ज्याख्वले देश विदेशमा रहेका दर्शकहरुलाई पनि सजिल्लै हेर्न सकिने गरी तःमुज्या सञ्चालन गर्न प्रविधिको भरपूर उपयोग गर्नुपर्नेमा जोड दिनु भयो । जनताको आर्थिक, भौतिक सहयोगले जनताकै लागि ‘जनता म्वासा, भासा म्वाई’ (जनता बाचे, भाषा बाच्छ) नाराका साथ हरेक वर्ष विजया दशमी पश्चातको द्वादर्शी र त्रियोदर्शीका दिन भक्तपुर नगरका विभिन्न टोलहरुमा तःमुज्या आयोजना हुँदै आएको छ ।
आज गठन भएको सञ्चार समन्वय समितिमा संयोजक विकुराम तजले सहित सरेशराज शाक्य, कृष्णराम किसी, सुरेशप्रसाद सैंजू, प्रेम प्रजापति, रेणु त्वानावासु, श्याम बासुकला, सत्यराम कासिछ्वा, श्रीराम कासिछ्वा, सहित ९ जना सदस्य छन् । यसै बीच प्रविधि समितिमा संयोजक लक्ष्मीप्रसाद कुसी, र सदस्यहरुमा रमेश प्रजापति, पुण्यराम कोजु, प्रेम प्रजापति, सविन, शिव प्रसाद बाला, राजाराम प्रजापति, साजन साँध र कृष्णेश्वरी दुवाल सहित ९ जना छन् । ४४ औं तःमुज्याका सचिव संजय मानन्धरले तःमुज्याको प्रचार प्रसार अन्य प्राविधिक व्यवस्थापनकालागि यी समितिहरु गठन भएको बताउनु भयोे ।














