४४ औं तःमुज्याको गोसाखल उद्घाटन, तःमुज्याले भक्तपुरको भाषा, संस्कृति र बर्गीय चेतना दिन्छ ।

४४ औं तःमुज्याको गोसाखल उद्घाटन, तःमुज्याले भक्तपुरको भाषा, संस्कृति र बर्गीय चेतना दिन्छ ।
भक्तपुर, भाद्र १ गते
नेपाल भाषा साहित्य तःमुज्या व साँस्कृतिक ब्वज्याको ४४ औं गोसाखलको कार्यालय आज कमलविनायकमा उद्घाटन गर्नु हुँदै नेमकिपा सचिव एवं संघिय सांसद प्रेम सुवालले देश र जनताको सेवा गर्न राजनीति गर्नुपर्नेमा जोड दिदै साहित्यमार्फत राजनैतिक चेतना जागृत गर्न तःमुज्यामा जनपक्षिय साहित्य वाचन हुँदै आएको बताउनु भयो । मानिस राजनैतिक प्राणी भएकाले दबिएका जनताको शिक्षा, स्वास्थ्य, रोजगार र हकहित लगायतका विषयमा बोल्नु नै राजनैति भएकोले यस्तो विषयहरुलाई तःमुज्याको दबुमा प्रभावकारी रुपमा प्रस्तुत हुँदै आएको बताउनु भयोे । उहाँले युवाहरुलाई सिप सिकाएर मात्र देश विकास नहुने भनाई राख्नु भयो । पत्रु खाना र खानपीनमा आएको परिवर्तनले जनता रोगी भएको चर्चा गर्दै सांसदले जनताको कुरा संसदमा उठाएपछि सरकारले त्यसको कार्यान्वयन गर्नुपर्नेमा त्यस्तो नभएको भन्दै उहाँले समाजवादी व्यवस्थामा मात्रै जनताको समस्या समाधान हुन सक्ने धारणा राख्नु भयो ।


४४ औं तःमुज्याका अध्यक्ष कृष्णभक्त लवजुको सभापतित्वमा आयोजित सो उद्घटन समारोहमा वरिष्ठ साहित्यकार आशाकाजी थकुले भक्तपुरको मौलिक भाषाशैलीले लेखिएको साहित्य नै विशिष्ट हुने भएकाले यसका लागि नयाँ पुस्ता तयार गर्नुपर्नेमा जोड दिनु भयो । तःमुज्या मुगुठीका अध्यक्ष आशाकुमार चिकंबन्जाले तःमुज्या भक्तपुरकै भएकाले यसमार्फत ख्वप भाय (भक्तपुरको भाषा)लाई प्राथमिकता दिएको उल्लेख गर्दै जनपक्षिय साहित्य लेखनकालागि निरन्तर प्रशिक्षण दिदै आएको बताउनु भयो । उहाँले भन्नु भयो हामीले भन्दै आएको कुरा हाम्रो साहित्यले वर्गीय सेवा गर्नुपर्छ । साहित्यमा बर्गीय कुरा भएन भने बीज नभएको अन्न रोपे जस्तो हुने छ भन्दै उहाँले वर्गीय उठानका कुरा नभएको साहित्यलाई तःमुज्यामा ठाउँ नदिएको बताउनु भयो । नेमकिपा भक्तपुर नगर समितिका कृष्णगोविन्द लाखाजु जनताको भाषा बोल्न तःमुज्याले ख्वप भाय्लाई प्राथमिकता दिदै आएको मात्र कुरा नभई राजनैतिक दबुको रुपमा जनतालाई सचेतनादिने दबुको रुपमा प्रस्तुत हुँदै आएको बताउनु भयो । भनपा ९का वडाध्यक्ष रविन्द्र ज्याख्व र भनपा १०का लक्ष्मीप्रसाद ह्यौमिका सहितको आतिथ्यतामा आयोजित सो गोसाखल उद्घाटन समारोहमा गोसाखलका संजय मानन्घरले पनि बोल्नु भएको थियो ।