समुदाय सचेत नभएसम्म क्षयरोगको जोखिम रहने!

समुदाय सचेत नभएसम्म क्षयरोगको जोखिम रहने !
भक्तपुर, चैत्र १५ गते
जनस्वास्थ्य शाखा चाँगुनारायण नगरपालिकाले विश्व क्षयरोग दिवसको अवसरमा आज सरोकारवालाहरु बीच अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । ‘हो, हामी क्षयरोग अन्त्य गछौं’, भन्ने मुल नाराका साथ विश्वभर मार्च २४ मा मनाएको विश्व क्षयरोग दिवसको अवसरमा सो अन्तरक्रिया आयोजना गर्दै समुदायमा लुकेर रहेका क्षयरोगीहरुको खोजि गरी रोग निर्मूल पार्न जनचेतनाको खाँचो औल्याएका छन् ।


सहभागि अभियान्ताहरुले समाजका अग्रजहरुले मध्यपान, धुम्रपान गर्ने व्यक्तिहरुलाई सम्झाउन, बुझाउन सकेको खण्डमा सन् २०५० सम्ममा विश्वभरबाट क्षयरोग निर्मूल गर्न सकिने धारणा व्यक्त गरेका थिए । क्षयरोगीहरु अन्तिम अवस्थामा मात्रै उपचारकालागि अस्पतालमा आउने र ६ महिनासम्म खानुपर्ने औषधी केही समयसम्म मात्र खाएर वीचैमा औषधी छोड्ने गर्दा डिआर, एमडिआरसम्म क्षयरोग फैलिने जोखिम बढेको चर्चा गर्दै जनस्वास्थ्य कार्यालय भक्तपुरका टिबी रोग फोकल पर्सन भोला पौड्यलले विश्वभर वार्षिक १ करोड ६ लाख जनामा क्षयरोग संक्रमण रहेको अनुमान भएपनि ६४ लाख जनामा क्षयरोग संक्रमण भई उपचारकालागि आउने गरेको तथ्यहरु प्रस्तुत गरेका थिए । निःशुल्क उपचारको व्यवस्था भएपनि विश्वभर बार्षिक १६ लाख क्षयरोगका कारण मृत्यु हुने गरेको भन्दै उहाँले दक्षिण–पूर्वी एशियामा मात्रै विश्वभरका ४५ प्रतिशत क्षयरोगीहरु रहेको बताए । चार लाख पचास हजार क्षयरोगका विरामीहरूमा औषधी प्रतिरोधी क्षयरोगको विकास भएको अनुमान पनि रहेको भन्दै उहाँले नेपालमा बार्षिक ७० हजार क्षयरोगीहरु बढेको अनुमान गरेका छन् । अनुमान गरे अनुसार ३२ हजार ३ सय ५३ जना क्षयरोगीहरु हराइरहेको चर्चा गर्दै संक्रमित मध्ये बर्षेनी १८ हजारको ज्यान गइरहेको पनि बताए ।
ड्ड स्वास्थ्य शाखा चानपाका कार्यालय प्रमुख सत्यकुमार दुवालको संयोजनमा भएको सो अन्तरक्रिया कार्यक्रममा टिबि रोग चानपा संयोजक गजल श्रेष्ठले चनपामा गत वर्ष १सय ९७ जना संक्रमित पहिचान गरे पनि यो वर्ष जम्मा ३० जना मात्रै संक्रमित पहिचान गरी उपचारकोक्रममा रहेको उल्लेख गर्दै समुदायमा लुकेर रहेका क्षयरोगीहरुको पहिचान गर्न सहभागिहरुलाई जनचेतनामूलक कार्यमा सहभागि हुन आग्रह गरेका थिए । विद्यालयस्तरका बालबालिकाहरुबाटै घर घरमा क्षयरोग निवारणका गततिविधि आयोजना गर्न सकिने धारणा राखेको सो कार्यक्रममा देवी माविका प्रअ राजाराम छुकाले पनि क्षयरोग बारे आफ्नो धारणा राखेका थिए । कार्यक्रममा चाँगुनारायण नगरपालिकाका विभिन्न वडाका जनप्रतिनिधीहरु, स्वास्थ्यकर्मी, रेडक्रस भक्तपुरका प्रदिप केसी, सहित पत्रकार, शिक्षक, शिक्षिका तथा अभियन्ताहरुको सहभागिता थियो ।