विश्व क्षयरोग दिवसको अवसरमा अन्तरक्रियात्मक गोष्ठी सम्पन्न

विश्व क्षयरोग दिवसको अवसरमा अन्तरक्रियात्मक गोष्ठी सम्पन्न
भक्तपुर । १४ चैत्र २०८०
भक्तपुर नगरपालिकाको आयोजनामा विश्व क्षयरोग दिवसको अवसरमा आज अन्तरक्रियात्मक गोष्ठी कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा बोल्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाले क्षयरोगलाई निर्मुल पार्न सम्बन्धित सरोकारवालाहरुसँग समन्वय गरी काम गरिरहेको बताउनुभयो ।
स्वास्थ्य सेवा अत्यन्त महँगो हुँदै गएको बताउँदै उहाँले स्वास्थ्य सेवा महँगिदै जाँदा गरिब जनताहरु उपचार विना मर्नुपर्ने अवस्था निम्तिरहेको बताउनुभयो ।


नेपालमा स्वास्थ्य उपचारको कारण हरेक वर्ष ५ लाख मानिसहरु गरिबीको रेखामुनि झरेको तथ्यांक रहेको उल्लेख गर्दै उहाँले सरकारी अस्पतालहरुमा सुधार नहुँदा बिरामीहरु निजी अस्पतालहरुमा घरखेत बेचेर स्वास्थ्य सेवा लिन बाध्य बनिरहेका छन् भन्नुभयो ।
जनतालाई सहज र सुलभ ढंगले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले भक्तपुर नपाले १०० शैय्याको ख्वप अस्पताल सञ्चालनमा ल्याएको र स्थानीय जनतासँग हालेमालो गर्दै निरन्तर जनताको सेवामा अगाडि बढिरहेको बताउनुभयो ।
राज्यले स्वास्थ्यमा निजीकरणको बाटो अपनाएकै कारण गरिब जनताले सहज रुपमा स्वास्थ्य सेवा पाउन नसकेको बताउँदै निजी अस्पतालहरु सेवा भन्दा पनि नाफा कमाउने व्यापारिक केन्द्रको रुपमा सञ्चालन भइरहेका छन् भन्नुभयो ।
ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्लले क्षयरोग जनस्वास्थ्यको प्रमुख समस्याको रुपमा रहेको बताउँदै क्षयरोगीहरुको मनोबल बलियो बनाउन क्षयरोगबारे जनचेतनाको आवश्यकता रहेको बताउनभयो ।
कार्यक्रममा स्वास्थ्य कार्यालय भक्तपुरका क्षयरोगका स्रोतव्यक्ति भोलानाथ पौडेलले प्रत्यके वर्ष मार्च २४ मा विश्व क्षयरोग दिवस मनाउनुको उद्देश्यमाथि प्रष्ट पार्दै क्षयरोगको परिचय र वर्तमान अवस्थाबारे प्रस्तुतीकरण दिनुभयो । नेपालमा क्षयरोगीहरुको तथ्यांक अझ भयावह अवस्थामा रहेको उल्लेख गर्दै उहाँले सन् २०५० सम्ममा क्षयरोगलाई अन्त्य गर्ने लक्ष्य रहेको बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख अस्मिता ओझा र ख्वप अस्पतालका डा. रत्न सुन्दर लासिवाले क्षयरोग सरुवा रोग भए पनि यसको उपचार सम्भव भएको बताउँदै क्षयरोग सर्ने माध्यम, जोखिम र उपचारबारे प्रष्ट पार्नुभयो ।
कार्यक्रममा भक्तपुर नपाका कार्यापालिका सदस्य र विभिन्न स्वास्थ्य केन्द्रमा कार्यरत क्षयरोगसम्बन्धी स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।