विश्व कविता दिवसमा ३ वटा पुस्तक विमोचित

विश्व कविता दिवसमा ३ वटा पुस्तक विमोचित

केके मानन्धर ।

चैत ९,
विश्व कविता दिवसको अवसरमा तीन वटा नेपालभाषाका पुस्तक विमोचन गरिएको छ । गाजलं दाःगु चा, चिन्तनया लँय् जि अले अमुलिइ प्यकालँय् जि जि नामका तीन वटा पुस्तकहरुलाई विमोचन गरिएको हो । नेपालभाषा केन्द्रीय विभागका प्रमुख डा. राजन लाल जोशी, प्राज्ञ ध्रुव मधिकर्मी र साहित्यकार पूर्ण ताम्रकारले संयुक्त रुपमा पुस्तक विमोचन गरेका हुन् । डा. आनन्द जोशी र विमल ताम्रकारले सम्पादन गरेको ‘गाजलं दाःगु चा’लाई छ दसक अघि नै प्रकाशन गरिएको र दोस्रो संस्करणको रुपमा कविता दिवसको सन्दर्भमा विमोचन गरिएको हो ।


कार्यक्रममा बोल्दै डा. आनन्द जोशीले नेपालभाषाको साहित्यको अवस्थाप्रति चिन्ता व्यक्त गरे । ‘नेपालभाषाका साहित्य दक्षिण एशियाकै उत्कृष्ट साहित्यहरु मध्येका छन् । दसकौं अघि विभिन्न विधामा लेखिएका साहित्यको स्तर दिनानुदिन घट्दै जानु राम्रो विषय होइन ।’ डा. जोशीको भनाइ थियो । साहित्यलाई व्यावसायिक बनाएर स्तरबृद्धि गर्नुपर्नेमा उनले जोड दिए । त्यस्तै, कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले नेपालभाषा साहित्यको विषयमा चर्चा गरेका थिए ।

रुवरिक र कुतः पिकाकको आयोजनामा सम्पन्न भएको कार्यक्रममा प्रा. डा. कुन्जली जोशी, डा. आनन्द जोशी, विमल ताम्राकार लगायत थुप्रै साहित्यकारहरु भेला भएका थिए । कार्यक्रममा गायक सत्यनारायण मानन्धरले नेपालभाषा साहित्यका आदिकवि महिन्द्र मल्लले रचना गरेको कवितालाई गीतको रुपम प्रस्तुत गरेका थिए ।