पोखरा उद्योग वाणिज्य संघका पदाधिकारी भक्तपुरमा

पोखरा उद्योग वाणिज्य संघका पदाधिकारी भक्तपुरमा
भक्तपुर ः पोखरा उद्योग वाणिज्य संघ (पीसीसीआई) का पदाधिकारी एवं कार्यसमिति सदस्यहरु बिहीबार भक्तपुर उद्योग वाणिज्य संघ (बीसीसीआई) को अवलोकन भ्रमणमा आएका छन् ।
पीसीसीआईका अध्यक्ष पवनकुमार प्रजापतिको नेतृत्वमा आएको टोलीलाई एक कार्यक्रमका बीच बीसीसीआईकी अध्यक्ष रोशनीमैयाँ धौबन्जाले स्वागत गरेकी हुन् । सो अवसरमा बीसीसीआईकी अध्यक्ष धौबन्जाले भक्तपुर र पोखराको पर्यटन विकासका लागि दुवै संघले थप पहल गर्नुपर्नेमा जोड दिइन् । उनले भक्तपुर भ्रमणमा आएका आन्तरिक तथा वाह्य पर्यटकहरुलाई पोखराका पर्यटकीय स्थलहरुको बारेमा भक्तपुरका होटल व्यवसायीहरुमार्फत र पोखरामा आएका आन्तरिक तथा वाह्य पर्यटकहरुलाई भक्तपुरका पर्यटकीय स्थल एवं सम्पदाहरुको बारेमा पोखराका होटल व्यवसायीहरुमार्फत सुसूचित गराउने व्यवस्थाका लागि दुवै संघले भूमिका निर्वाह गर्नुपर्ने बताइन् । हालै पोखरा देशको पर्यटकीय राजधानी घोषित भएकोमा बधाई दिँदै उनले पर्यटकहरुको बसाई अवधि लम्ब्लाउन सके आर्थिक विकासमा अझ बढी टेवा पुग्ने स्पष्ट पारिन् ।


कुनै पनि संघ संस्थाहरुको अध्ययन अवलोकनले आपसी सम्बन्धमा विकासको माध्यमबाट आफ्नो व्यवसाय विस्तारमा समेत महत्वपूर्ण योगदान पु¥याउने उनको भनाइ छ । विगतका दिनमा बीसीसीआईले विभिन्न जिल्लाका उद्योग वाणिज्य संघहरुको अध्ययन अवलोकन भ्रमण गरेको स्मरण गर्दै उनले पीसीसीआईका पदाधिकारी एवं कार्यसमिति सदस्यहरु बीसीसीआईको भ्रमणमा आएकोमा खुसी व्यक्त गरिन् ।

पीसीसीआईका अध्यक्ष प्रजापतिले उद्यमी व्यवसायीहरुको साझा समस्या समाधानका लागि देशभरका जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरु एकजुट हुनुपर्नेमा जोड दिए । सबै जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुको एउटै आवाज भएमा वर्तमान अवस्थामा व्यवसायीहरुले भोग्नुपरेको समस्याबाट मुक्त हुन सक्ने बताए । देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान रहेको निजी क्षेत्रलाई हेर्ने सरकारको दृष्टिकोण परिवर्तन नभएकोमा चिन्ता व्यक्त गरे ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अमरेशचन्द्र वैदार, बीसीसीआईका पूर्वअध्यक्षद्वय कृष्णप्रसाद ताम्राकार, युवक राजभण्डारी, निवर्तमान अध्यक्ष शिवप्रसाद मानन्धर, वरिष्ठ उपाध्यक्ष कृष्णमुरारी न्यौपाने, महासचिव नविन प्रजापतिलगायतले आआफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा बीसीसीआईकी अध्यक्ष धौबन्जाले पीसीसीआईका अध्यक्ष प्रजापतिलाई मायाको चिनोस्वरुप मयुर झ्याल प्रदान गरेकी थिइन् भने प्रजापतिले धौबन्जालाई पोखराका पर्यटकीय स्थलको तस्बिर प्रदान गरेका थिए । बीसीसीआई र पीसीसीआईबीच गत पौषमा भ्रातृत्व सम्बन्ध कायम भएको थियो ।