भक्तपुर उद्योग वाणिज्य संघद्वारा उदम विकास कोष स्थापना गर्ने

भक्तपुर उद्योग वाणिज्य संघले शिक्षा, स्वास्थ्य, खेलकूद र उदम विकास कोष स्थपना गर्ने घोषणा गरेको छ । संघका संस्थापक अध्यक्ष स्व. गणेशभक्त साखको स्मृतिमा आईतबार स्व. साखका परिवारजन र संघका पदाधिकारीहरु बीच भएको छलफलकोक्रममा स्व. साखले संघ स्थपना र विकासकालागि ९१ वर्षको उम्मेरसम्म पनि गरेको महत्वपूर्ण योगदानको कदर गर्दै सो विकास कोष स्थापना गर्ने घोषणा गरेको संघका अध्यक्ष शिव मानन्धरले जनसञ्चार खवरलाई जानकारी दिनु भएको छ ।
हामी सामाजिक उत्तरदायित्व सहित प्रतिस्पर्धी व्यवसाय विकासकालागि प्रतिबद्ध छौं नाराका साथ भक्तपुरको कृषि, पर्यटन र हस्तकला प्रवर्धन गर्ने मूल उदेश्य लिएको भक्तपुर उद्योग वाणिज्य संघले ३६ औं वार्षिक साधारण सभाको तयारी संगै संस्थापक अध्यक्षका परिवारजनसंग संघले आईतबार छलफल गरेका हुन ।
संघको सभाहलमा आयोजित छलफलमा संघका संस्थापक अध्यक्ष स्व.गणेशभक्त साखका जेठो छोरा किरण साखले उद्योग व्यवसाय प्रवर्धन गर्ने विभिन्न आयामहरु बारे चर्चा गर्दै संघले अत्यन्त दु:खका साथ आफ्नै भवनमा कार्यालय स्थापना गरेर कार्य सम्पादन गर्न सकेकोमा प्रशंसा गर्नु भयो । सो अवसरमा उहाँले संघको दीगो विकासकालागि खेल्नसकिने विभिन्न भूमिका बारे जानकारी दिनुभयो भने स्व. साखका अर्का छोराहरु ज्योति साख र विश्व साखले संघको प्रगतिकालागि संघको हरेक दु:ख, सुखमा सधैसाथ रहने प्रतिवधता जनाउँदै आफ्नो बुवा (संघका संस्थापक अध्यक्ष)को योगदानको कदर गर्दै सम्झना गरेको प्रति आभार व्यक्त गर्नु भयो ।
सो अवसरमा संघका पूर्व अध्यक्ष एवं क्यासिका उपाध्यक्ष प्रदिप श्रेष्ठले संघले संस्थापक अध्यक्ष एवं आफ्नो ससुरो बाको सम्झना गरेकोमा संघलाई धन्यवाद व्यक्त गर्दै उद्योग वाणिज्य संघ भनेको सरकारलाई सहयोग गर्दै उदम विकास गर्ने जिम्मेवार संस्थाको भएको बताउनु भयो । उहाँले कुनै पनि संस्थाको विकास गर्न संस्थाकोभिजन, मिसनका साथ अध्यक्षले गरेको कार्यको समीक्षा गर्दै नयाँ अध्यक्ष र पदाधिकारीहरुलाई समेत प्रशिक्षित गरेर अगाडी बढेमा दीगो विकास गर्न सकिनेमा जोड दिनु भयो । उहाँले गबाट ख, खबाट क श्रेणीमा संघलाई विकास गर्न सकेकोमा अत्यन्त खुसी व्यक्त गर्नु भयो ।
छलफलमा सहभागि संस्थापक अध्यक्ष स्व. साखका नाती नातिनीहरुले पनि सो अवसरमा आफ्नो बाज्येले स्थापना गरेको संघमा सहभागि हुन पाउँदा गर्व महसुस भएको बताएका थिए भने संघका अध्यक्ष शिव मानन्धरले भक्तपुर उद्योग वाणिज्य संघ स्थापना गरेर स्वर्गिय गणेशभक्त साखले भक्तपुरको उदम विकासकालागि मात्र नभई देशको उदम विकासकालागि समेत भूमिका खेलेको स्मरण गर्नु भयो । अध्यक्ष मानन्धरले भन्नु भयो ‘संस्थापक अध्यक्ष ८८ वर्षको उमेरमा पनि संघमा आएर उद्मशिलताको कुरा गर्नु हुन्थ्यो, युवाहरुलाई उद्यमी बनाउन प्रेरणा दिनु हुन्थ्यो र संघको दीगो विकासकालगि सल्लाह दिनु हुन्थ्यो, त्यति मात्र होइन उहाँ ९१ वर्षको उमेरमा पनि सकि नसकि संघका कार्यक्रमहरुमा सहभागि हुन आउनु हुन्थ्यो ।’ संघका संस्थापक अध्यक्ष साखले आफू प्रतिष्ठित व्यवसायी भएर भारतका तत्कालिन प्रधानमन्त्री ज्वहाराल नेहरुसँग भेटेर नेपालको उदम विकासको कुरा गर्नु भएको थियो अध्यक्ष मानन्धरले भन्नु भयो ‘भक्तपुर उद्योग वाणिज्य संघसँगै उहाँले नेपाल उद्योग वाणिज्य महासंघमा पनि महत्वपूर्ण भूमिका खेल्नु भएको थियो ।’

संघका उपाध्यक्ष राजेन्द्रप्रसाद प्रजापतिले संस्थापक अध्यक्ष साखले भक्तपुर अस्पतालको विकासकालागि खेलेको भूमिका पनि अत्यन्त स्मरणीय रहेको भन्दै उहाँकै समितिमा रहँदाको विभिन्न महत्वपूर्ण योगदानहरु बारे चर्चा गर्नु भयो भने अर्का उपाध्यक्ष कृष्ण मुरारी न्यौपानेले पनि संस्थापक अध्यक्ष साखको योगदानको स्मरण गरेका थिए । संघका पदाधिकारीहरु सहित संस्थापक अध्यक्ष साखका परिवाजनहरु बीच भएको सो छलफलमा संघका वरिष्ठ उपाध्यक्ष रोशनी धौबन्जाले सहभागिहरुलाई धन्यवाद ज्ञापन गरेकी थिइन ।