विश्व रक्तदाता दिवसः निःशुल्क रगतका लागि भोटको नाता ?

विश्व रक्तदाता दिवसः निःशुल्क रगतका लागि भोटको नाता ?
भक्तपुर, जेष्ठ ३० गते
विश्व रक्तदाता दिवस विभिन्न कार्यक्रम गरी संसारभर मनाइरहँदा भक्तपुरमा निःशुल्क रगत पाउन भने भोटको नाता गाँस्नुपर्ने भएको छ । भक्तपुरका ४ वटै नगरपालिकाले नगरवासीहरुलाई निःशुल्क रगत दिने समझदारी गरेपनि नगरवाहिरका समुदायलाई सो सेवा उपलब्ध नभएकाले देशका विभिन्न क्षेत्रबाट भक्तपुर बस्दै आएका, भक्तपुरमा घर नै भएका तथा उपचारका लागि आएका समुदायले निःशुल्क रगत पाउनबाट बर्जित रहनुपरेको छ । भक्तपुरबाटै पाउने सेवा भक्तपुरमै भक्तपुरबासी नभएकै कारण सेवाबाट बर्जित हुनुपरेको गुनासो बढेपछि रक्तसञ्चार केन्द्र सञ्चालक संस्था नेपाल रेडक्रस शोसाईटी भक्तपुरले त्यस्ता समुदायकालागि भक्तपुरमा बसाई सराई हुन, भक्तपुरबाट नागरिकता लिएको देखाउन तथा निर्वाचन मतदाता परिचय पत्र देखाउन समेत आग्रह गर्दै आउनु परेको रेडक्रस भक्तपुरका अध्यक्ष मनोज थापाले जनाए । बढ्दो रगतको मागलाई ध्यान दिएर बागमती प्रदेश सरकार र केन्द्रीय सरकारलाई समेत सो बारेमा ध्यानाकर्षण गराउँदै आएको उल्लेख गर्दै रेडक्रस भक्तपुरका मन्त्री पशुराम पाण्डेले भने भन्नलाई निःशुल्क भन्यौं तर बाहिरबाट आएका समुदायले सो सेवा नपाएको गुनासो बढेको छ । भक्तपुरमै अंग प्रत्यारोपण केन्द्र, क्यान्सर अस्पताल सहित दजनौं अस्पतालमा उपचार गराउन आउने विरामी त्यसै गरी काठमाण्डौ र ललितपुरका विभिन्न अस्पतालहरुमा उपचार गराउने विरामीका लागि समेत रक्त सञ्चार सेवा केन्द्र भक्तपुर नै पहिलो रोजाइमा पर्ने भएकाले यस्तो गुनासो बढेको उहाँले स्वीकारेका छन् । सरकारले सबैकालागि निःशुल्क भनेर व्यवस्था नगरेसम्म यो गुनासो सम्बोधन हुन नसक्ने भएपनि प्रदेश सरकारले केही सरकारी अस्पतालमा रगतकालागि निःशुल्क व्यवस्था गरेको छ उहाँले भने रपनि सबै अस्पतालको पहुँचमा यो सुविधा नपुगेकोले जनगुनासो रहेको बताए ।

विश्व रक्तदाता दिवसको एक दिन अगाडी भक्तपुरमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै सभापति थापाले देशका ११२ रक्तसञ्चार केन्द्र मध्ये भक्तपुर शाखा यस वर्ष पनि रगत संकलन र वितरणमा देशकै उत्कृष्ठ बन्न सफल भएका बताए । देशभर वर्षभरीमा २ लाख युनिट रगत संकलन भएको मध्ये २९ हजार भन्दा बढी युनिट रगत संकलन गरी ५१ हजार ५६ कम्पोनेट रगत वितरण गरेको बताए । भक्तपुरमै रगत संकलन र प्रशोधनका अध्याधुनिक मेसिन आएपनि खर्चालु भएकाले पूरानौ प्रविधिमै रगत संकलन गर्दै आएको चर्चा गर्दै उहाँले सरकारी निकायले एक प्वाइन्ट रगतको १२ सय सम्म लिन पाउने व्यवस्था गरेको भए पनि भक्तपुरमा रु.८ सय मात्रै लिने गरेको बताए । वर्षदिनमा ५१ प्रतिशत सफलता पाएको र ४९ प्रतिशत अझै सफलता पाउन बाँकी रहेकाले रगतको माग र पूर्ति व्यवस्थापन हुन नसकेको भन्दै उहाँले शनिबार र विदाका दिन बाहेक हरेक दिन रक्तदान गर्ने बानि बसाल्न सके रगतको कमी नहुने बताउनु भयो ।
मानिसबाटै मानिसकालागि रगत दिनुपर्ने बाध्यतालाई ध्यान दिएर पर्याप्त रगतको संकलन र वितरण गराउन रक्तदातालाई उत्प्रेरित गर्नुपर्नेमा जोड दिदै रगत नपाए भक्तपुर आउनु भन्ने उदेघोष गर्दै आएको रक्त सञ्चार केन्द्र भक्तपुर रेडक्रस शोसाईटी भक्तपुरले विश्व रक्तदाता दिवसको अवसरमा बुधबार भक्तपुरमा रक्तदाता र सहयोगि संस्थाहरुलाई सम्मानित गर्ने भएको कार्यक्रमका संयोजक सोम प्रधानले बताए ।