रक्तदानसम्बन्धी उत्प्रेरणात्मक अन्तरक्रिया सम्पन्न

रक्तदानसम्बन्धी उत्प्रेरणात्मक अन्तरक्रिया सम्पन्न
भक्तपुर ः
ब्लड डोनर्स एशोसिएसन नेपाल (ब्लोदान) केन्द्रको आयोजनामा सोमबार स्वयंसेवी रक्तदानःमहिलाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
विश्व रक्तदाता दिवस २०८० को अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रम ब्लोदान भक्तपुरको व्यवस्थापन तथा भक्तपुर उद्योग वाणिज्य संघअन्तर्गत महिला उद्यमी उपसमितिको सहकार्यमा संघको सभाहलमा सञ्चालन भएको हो । “नियमित रगत तथा प्लाज्मा दान गरौं, जीवन बचाउने कार्यक्रममा हातेमालो गरौं” भन्ने नाराका साथ सञ्चालित सप्ताहव्यापी कार्यक्रमअन्तर्गत छैठौं दिन महिलाहरुमा रक्तदानसम्बन्धी कौतुहलता निवारण गर्न तथा उत्प्रेरणा जगाउने उद्देश्यले कार्यक्रम गरिएको ब्लोदान भक्तपुर शाखाका अध्यक्ष रुकेश रञ्जितले जानकारी दिए ।


कार्यक्रम उद्घाटन गर्दै संघका अध्यक्ष शिवप्रसाद मानन्धरले यस कार्यक्रमले महिलाहरुमा रहेको रक्तदानसम्बन्धी कौतुलहता निवारण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । मानिसको लागि रगतको विकल्प मानिसको रगतबाहेक अन्य नरहेको भन्दै उनले जीवनदान जस्तो रक्तदान गर्ने कार्यमा बिनाहिच्किचाहट सरिक हुन सबैमा अनुरोध गरे । रक्तदानको क्षेत्रमा महिलाहरु पनि उत्तिकै अग्रसर हुनुपर्ने उनको भनाइ छ ।
विशेष अतिथि संघकी वरिष्ठ उपाध्यक्ष रोशनीमैयाँ धौबञ्जाले महिलाहरु घरपरिवार, समाज र आफ्नो व्यवसायमा मात्र सीमित नभएर अब नितान्त सामाजिक भावले गरिने रक्तदानमा पनि सक्रिय हुनुपर्नेमा जोड दिइन् । ब्लोदान केन्द्रका अध्यक्ष इन्जिनियर सानुबाबु प्रजापतिले ब्लोदानको उद्देश्यलगायत विश्व रक्तदाता दिवसको बारे स्पष्ट पारेका थिए ।
यसैगरी, अतिथि डा. मनिता राजकर्णिकारले रगत र रक्तत्वको बारेमा जानकारी गराइन् भने ब्लोदानका सल्लाहकार सूर्यकुमारी श्रेष्ठले मानव शरीरमा हुने रगतको अवस्था, रक्तदान गर्दा वा नगर्दाको फाइदा तथा बेफाइदाबारे प्रकाश पारेकी थिएन् । ब्लोदानकी अर्की सल्लाहकार निता घिराइयाले भित्री मनदेखि सेवाभावले गरिने कार्य भएकाले समाजमा नाम उच्च राख्नको लागि रक्तदान गर्न सहभागी महिलाहरुलाई प्रेरित गरिन् । संघअन्तर्गत महिला उद्यमी समितिकी संयोजक श्रीया बल्लले रक्तदानजस्तो पवित्र कार्य गर्ने संस्थाले गरेको कार्यक्रममा आफूहरुले सहकार्य गर्न पाउँदा खुसी लागेको भन्दै आगामी दिनमा पनि सहकार्य गर्न सदैव तयार रहेको बताइन् ।
कार्यक्रममा विभिन्न क्षेत्रका ११० जना महिलाहरु सहभागी भएका थिए ।