साहित्यकार हरिबहादुर श्रेष्ठद्वारा लिखित ‘समाज विकासको एक झलक पुस्तक’ आज सार्वजनिकीकरण

साहित्यकार हरिबहादुर श्रेष्ठद्वारा लिखित समाज विकासको एक झलक पुस्तक आज सार्वजनिकीकरण

भक्तपुर जेष्ठ ३० गते
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छेको साहित्यिक नाम हरिबहादुर श्रेष्ठद्वारा लिखित ‘समाज विकासको एक झलक’ पुस्तक आज सार्वजनिकीकरण भएको छ । स्रष्टा समाज नेपालले ख्वप इन्जिनियरिग कलेजको सभा हलमा आज सो पुस्तकको सार्वजनिकीकरण तथा परिचर्चा कार्यक्रम आयोजना गरेको होे । अध्यक्ष विजुक्छेद्वारा प्रवासमा रहँदा लेखेको सो पुस्तक आज अध्यक्ष विजुक्छे आफै, वरिष्ठ कानूनविद कृष्णप्रसाद भण्डारी, स.प्रा. इटिहासविद् विश्वमोहन जोशीले संयुक्तरुपमा विमोचन गर्नु भयोे ।


जनतालाई राजनैतिक चेतना दिन आज भन्दा ४८ वर्ष अगाडी प्रवासमा रहँदा हरिबहादुर श्रेष्ठको नाममा लेखेको ‘समाज विकासको एक झलक’ पुस्तक आज प्रकाशन हुनु (उज्यालो देख्नु) आफैमा सफलता भएको उल्लेख गर्दै अध्यक्ष विजुक्छेले सो अवसरमा किसान कार्यकर्ताहरु सैद्धान्तिक र बौद्धिक रुपले कमजोर भएकाले बारा, पर्सा रौतहतको किसान आन्दोलन असफल भएको चर्चा गर्नु भयो । अध्यक्ष विजुक्छेले सो आन्दोलन कलेज पढ्ेका विद्यार्थीहरुमा जागेको समाजबादप्रतिको विश्वास भएको उल्लेख गर्दै निरन्तरको संघर्षले यो पुस्ताले नसके अर्को पुस्ताले सफलता पाउने विश्वास व्यक्त गर्नु भयो ।

सो कार्यक्रममा बोल्दै कार्यक्रमका विशेष अतिथी कानूनविद कृष्णप्रसाद भण्डारीले पुस्तक साह्रै उपयोगी भएको चर्चा गर्दै लेखक हरी बहादुर बास्तबै हिराबहादुर भएको बताउनु भयो । उहाँले सो पुस्तक ईतिहासका पाना हुन र गौरवका विषय हुन भन्नु भयो । कार्यक्रममा ससाजका अध्यक्ष, लक्ष्मणराज जोशी, सदस्य सुशिला कर्माचार्य, योगेन्द्रमान विजुक्छे, विश्वमोहन जोशी, बागमति प्रदेशका सांसद सृजना सैंजू, नेक्राविसंघका अध्यक्ष प्रकाश गुरुग, सुरेश परियारसहितका अतिथीहरुले पुस्तकका विषयवस्तु माथि प्रकाश पार्दै मानव समाजको विकासका आयामहरु बारे चर्चा गर्नु भयो ।

प्रकाशित पुस्तकमा पृथ्वीको उत्पति, मानिसको विकासक्रम, आदिम साम्यवाद, दास समाज, सामन्ती समाज, पुँजीवादी समाजको विकास, मजदुर वर्गको अवस्था र वर्ग संघर्ष र समाजवादी विचारको उदयका ८ अध्याय एवं सन्दर्भ सामग्री र परिशिष्ट सहित १४७ पेज रहेको छ । स्रष्टा समाजले पहिलो संस्करणकोे रुपमा लेखक हरिबहादुर श्रेष्ठको समाज विकासको एक झलक पाँच हजार प्रति प्रकाशन गरेको हो । सो पुस्तकको मूल्य रु ३ सय छ ।


प्रकाशक स्रष्टा समाजले यो पुस्तकको प्रकाशनको भनाईमा राजनीतिक स्वतन्त्रता नै मानवीय स्वतन्त्रता नभई नेपाली समाजले अझै थुप्रै खुड्किलाहरु उक्लिन बाँकी छ भन्दै नेपाली समाज विकासका विभिन्न अनुभवको विश्लेषण समाज विकासको एक झलकको विशिष्ट पक्षको रुपमा हाम्रो सामाजिक वस्तुस्थिति बुझ्न, यस विषयमा थप अध्ययन गर्न र वर्ग संघर्षलाई आत्मसात गर्न घच्घच्याउने कुरा उल्लेख गरेको छ ।