भाज्य पुखःमा बाढी तथा डुवानमा आधारित अभ्यास मनसुन ५

भाज्य पुखःमा बाढी तथा डुवानमा आधारित अभ्यास मनसुन ५

भक्तपुर, जेष्ठ १४ गते
यस वर्षको मनसुनमा तुलनात्मक रुपमा बढी पानी पर्ने तथा गर्मी पनि बढ्ने मौसमविद्हरुको पूर्वानुमान अनुसार विपद्का घटनाहरु पनि स्वतः बढ्ने विज्ञहरुको मत छ । मनसुन सुरु भएसँगै बाढी, पहिरो र डुवानका घटना बढ्ने भएपछि समुदायस्तरमा विपद् प्रतिकार्य र पूर्वतयारीमा सचेत पानुपर्ने उहाँहरुको जोड हो । सरकारी श्रोत र सधन मात्रैले हुने विपद् प्रतिकार्यका गतिविधिहरुले विपद्मा राहत नमिलेको विपद् पीडितहरुको अनेक गुनासाहरु बीच समुदाय आफै विपद् प्रतिकार्यमा सक्षम तथा क्षमतावृद्धि गर्नु अति प्रभावकारी हुने विज्ञहरुको धारणा हो । यसै कुरालाई मध्यनजर गर्दै भक्तपुर नगरको ऐतिहासिक भाज्य पुखुमा आज बाढी तथा डुवानमा आधारित अभ्यास मनसुन ५ प्रदर्शनी गरेको छ । समुदायलाई पानी जन्य विपद्बाट कसरी सुरक्षित हुने, विपद् पर्दा कसरी उद्धार गर्ने, हराएका, पुरिएकाहरुको कसरी खोजी र उद्धार गर्ने तथा मृतक या घाइतेहरुको कसरी व्यवस्थापन तथा उपचार गर्ने भन्ने सवालहरुमा पूर्वाभ्यास गर्दै नेपाली सेना, शसत्र प्रहरी, नेपाल प्रहरी, रेडक्रसकर्मी सहित विपद् प्रतिकार्यका अभियान्ताहरुले आफ्नो कला र सिप तथा तार्जकीकरण मात्र होइन समुदायस्तरमा रहेको विपद् प्रतिकार्यका श्रोत साधनहरुको परिचालन पनि गरेर देखाएका थिए ।


विभिन्न विद्यालयका विद्यार्थीहरु एवं समुदाय तथा सुरक्षा निकाय विशेष गरी विपद् प्रतिकार्यमा आवद्ध निकायहरु बीच भएको सो अभ्यास श्री रणशेर गण सूयविनायक व्यारेक भक्तपुर समन्वय गरेको थियो ।
आज विहान ८ बजे एक्कासी भाज्यपोखरीमा आएको बाढीबाट डुवेका मानिसहरु बचाउ बचाउ भन्दै चित्कार गर्न थालेपछि छरछिमेकीहरु पनि बचाउ बचाउ भन्दै हारगुहार गर्न थाले, रुवाबासी चल्यो, विपद्को चित्कारहरु गुन्जियो । अनि एक्कैछिन्मा बाँस, घैटा, प्लास्टिकका भाडा, केराको बोटबाट पानीमा नडुब्ने गरी बनाएका विभिन्न सामग्रीमा चढेर बाढीले डुबेका मानिसहरुको उद्धारमा जुत्न थाले । अनि सेना, प्रहरीको उद्धार टोली पनि डुँगा खियाउँदै बाढीले डुबेका मानिसहरुको उद्धार गर्न पुग्छन् । साँचिकै बाढीमा डुबेका मानिसहरुको उद्धार गरे जस्तै उद्धारकर्मीहरु खतिन थाले । यो खताइ हेर्दा लाग्छ, अव बाढी आयो र डुवानमा पर्यो भने सजिल्लै उद्धार गर्न सकिन्छ । धनजनको क्षति कम गर्न सकिन्छ । तर यो अभ्यासको अवलोकन गरेका दर्शकहरुले भने यो अभ्यासमा ओभर एक्टिङ भयो ? बास्तविक घटनामा यस्तो अवस्था आउँदैन होला । न उद्धारकर्मी नै आइपुग्छन् चाहिएको बेला? जस्ता अनेक जिज्ञासाहरु पाल्दै दर्शकहरु अवलोकन गर्दै थिए । अनि उद्घोषकहरुले घटना विवरण प्रस्तुत गर्दै भने यो डुवानमा परेको मानिसहरुको उद्धार कार्य यसरी गरिन्छ भनेर उद्धारकर्मीहरुले गरेर देखाएको हो । यसै बीच पहिरोले पुरिएका, पानीमा डुबेका मानिसहरुको खोजतलास तालिम प्राप्त कुकुर र गोटाखोरहरुले उद्धार गरेर देखाए । यति मात्र होइन उद्धारकोक्रममा डुंगा डुब्यो वा पल्टियो भने कसरी सजिलै पल्टाउन सकिन्छ भन्ने अभ्यास पनि देखाए । अनि नदी वा डुवानको वारपार डोरी तागेर गरिने उद्धार कार्यका अभ्यासहरु देखाएर सुरक्षाकर्मीहरुले अहिलेसम्मको विपद् प्रतिकार्यका अभ्यासहरु प्रस्तुत गरेका थिए । यो अभ्याससँगै विपद् प्रतिकार्यमा परिचालन गरिने विभिन्न सामग्रीहरुको प्रदर्शनी तथा रक्तदान एवं स्वास्थ्य परिक्षण शिविर आयोजना गरी आज भाज्य पुखु परिसरमा बाढी तथा डुवानमा आधारित अभ्यास मनसुन ५ गरेको हो । यो कुनै विपदिय् घटना नभई विपद् आइपर्यो भने कसरी उद्धार कर्मीले गद्धार गरिन्छ र गर्न सकिन्छ तथा स्थानिय जनताको भूमिका कस्तो हुनुपर्छ ? भन्ने सन्देश दिन गरेको अभ्यास थियोे ।


योसँगै विपद्मा परेका मानिसहरुको प्राथमिक उपचार र सुरक्षित तवरले कसरी थप उपचारकालागि नजिकैको अस्पताल पुर्याउन सकिन्छ भन्ने विधिहरु पनि सिकाए । अनि हेर्दै रहेका दर्शकहरुलाई पनि लाग्न थाल्यो, आफ्नो घर आगँनमा यस्तै डुवान, पहिरो गयो भने धेरै घनजनको क्षति पुग्न सक्ने भएकाले विपद् अनुसारको प्रतिकार्यकालागि पूर्वतयारी अवस्थामा रहनुपर्नेछ ।
सो अभ्यासको अवलोकन गर्दै श्री उपत्यका पृतना हेडक्वाटर नारायणहिटीका पृतनापति उपरथी विष्णु राउत, जिल्ला विपद् व्यवस्थापन समिति भक्तपुरका संयोजक एवं भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गोपालप्रसाद अर्याल, भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशी, वडा नं १का वडाध्यक्ष श्यामकृष्ण खत्री, श्री नं १ बाहिनी अडा बालाजु काठमाडौंका बाहिनीपति सुनिल सिंह राठौर, रणशेर गण भक्तपुरका गणपति निरज प्रताप जवरा, जनस्वास्थ्य कार्यालय भक्तपुर , रेडक्रस भक्तपुर आरएन १६का अभियन्ताहरुले सबै खालका विपद्हरुमा सुरक्षा निकायसँग भएको औजार र उद्धारकर्मीहरुको पहुँच पुग्न नसक्ने विश्लेषण गर्दै समुदायमा आधारित विपद् प्रतिकार्यमा जनचेतना अभिवृद्धि गर्न आवश्यक भएकोमा जोड दिएका थिए ।
घर घरमा रहेको गाग्री, प्लास्टिकका भाडाकुडाहरु, जार, मिनरल बाटरका बोटलहरु समेतलाई पनि भित्र पानी नपस्ने गरी बिर्काे लगाएर पानीमा नडुब्ने गरी डोरीले बाढेर मानिसको जीउमा बाड्यो भने डुवानमा पर्दा पानीमा सजिलै तैरिन सकिन्छ भनेर अभ्यास गरेर देखाएका थिए ।