विश्व वातावरण दिवसको अवसरमा “हरियाली चाँगुनारायण अभियान” को शुभारम्भ

विश्व वातावरण दिवसको अवसरमा “हरियाली चाँगुनारायण अभियान” को शुभारम्भ

२२ जेठ २०८०
खरीपाटी, भक्तपुर

विश्व वतावरण दिवस २०८० को अवसरमा चाँगुनारायण नगरपालिकाले नवनिर्मित भवनको परिसरमा बृक्षारोपण गरेर हरीयाली चाँगुनारायण अभियानको शुभारम्भ गरेकोछ । “प्लाष्टिकजन्य प्रदुषण निर्मुल पारौ, वातावरणमैत्री विकल्पको प्रयोग गरौं” भन्ने नाराका साथ विश्वभर मनाउदै गरिएको विश्व वातावरण दिवसको अवसरमा नगरपालिकाको नयाँ भवन परिसरमा नगर प्रमुख जीवन खत्रीले बृक्षारोपण गरेर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । कार्यक्रममा नगर उपप्रमुख रमेश बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत चुरामणि पन्थी लगायत वडाध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, नगरपालिकाका शाखा प्रमुख लगायत कर्मचारीहरुले बृक्षारोपण गर्नु भएको थियो ।
चाँगुनारायण नगरपालिकाको आयोजना तथा डिसिए नेपाल र आईसेट नेपालको सहयोग र साझेदारीमा नगरपालिका परिसरमा विभिन्न फलफुल तथा शहरी बृक्षारोपणसंग सम्बन्धित बोटबिरुवाहरु धुपी, कपुर, मंकी पजर धुपी, टिकु गरी विभिन्न जातका १०० वटा विरुवाहरु रोपिएको थियो ।


चाँगुनारायण नगर क्षेत्रको जैविक विविधता तथा वातावरण संरक्षण, जलवायु परिवर्तन अनुकुलनमा सहयोग तथा हरियाली चाँगुनारायण अभियान अन्तर्गत नगरपालिकाको परिसरबाट आज शुरुवात भएको कार्यलाई अभियानकै रुपमा अगाडी बढाई सबै वडामा बृक्षारोपण लगायत वातावरण संरक्षणका कार्यक्रमहरु निरन्तर संचालन गरिने कुरा नगर प्रमुख जीवन खत्रीले बताउनुभयो । उहाँले धार्मिक एवं पर्यटकीय गन्तव्यको रुपमा विकसित हुदै गएको चाँगुनारायण नगरपालिकालाई स्वच्छ, स्वस्थ्य र हराभरा बनाउने कार्यमा यस किसिमको पर्यावरण एवं वतावरण संरक्षणका गतिविधिले अझ टेवा पुग्ने बताउनुभयो । चाँगुनारायण नगरपालिका वन, वातावरण एवं विपद् व्यवस्थापन समितिका संयोजक सोम प्रधानले बृक्षारोपण कार्यक्रमका लागि सहयोग गर्नु भएकोमा आइसेट नेपाल र डिसिए नेपाल प्रति आभार व्यक्त गर्नुहुदै विरुवाहरुको संरक्षण नगरपालिकाले गर्ने बताउनुभयो ।
बृक्षारोपण कार्यक्रममा उपस्थित सबै महानुभावहरुलाई चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामण्ीा पन्थीले स्वागत गर्नुभएको थियो । नगरपालिका परिसरमा आयोेजित उक्त कार्यक्रममा डिसिएका परियोजना ब्यवस्थापक दिनेश गुरुङ्ग, रिगेन्द्र खड्का, आइसेट नेपालका कार्यवाहक कार्यकारी निर्देशक योगेन्द्र सुवेदी, केशब मलाशी, भरत ढुंगानाको पनि उपस्थिति रहेको थियो ।

दिनेश थापा
विपद् जोखिम न्यूनीकरण परामर्शदाता
चाँगुनारायण नगरपालिका