वायु प्रदुषण व्यवस्थापन नागरिक सञ्जालद्वारा स्वच्छ वातावरणीय मौलिक हकका लागि वृक्षारोपण

वायु प्रदुषण व्यवस्थापन नागरिक सञ्जालद्वारा स्वच्छ वातावरणीय मौलिक हकका लागि वृक्षारोपण

काठमाडौं महानगरपालिका (१३ ताहाचलस्थित जन प्रभात मा।वि। परिसरमा सोमबार ‘प्लास्टिक प्रदूषण विरुद्ध लागौँ’ भन्ने मुल नाराका साथ वृक्षारोपण गरिएको छ । वायु प्रदुषण व्यवस्थापन नागरिक सञ्जाल काठमाडौंको आयोजनामा भएको उक्त वृक्षारोपण कार्यक्रमा जडीबुटी तथा फलफुलका १०८ बोट वृक्ष रोपिएको छ ।

विश्व वातावरण दिवस अवसर पारेर पर्यावरण स्वच्छता बढाउने उद्देश्यकासाथ विद्यालय परिसरमा विभिन्न प्रजातिका वृक्षारोपण गरिएको सञ्जालका अध्यक्ष निरू महर्जनले बताए । उनले सिंगो विश्व वातावरण प्रदूषणको समस्याले पिरोलिएको बताउँदै वनस्पति, प्राणी तथा मानिसको गुणात्मक तथा परिमाणात्मक स्वरूपले एकअर्कालाई प्रभाव पारिरहेको बताए ।

‘वातावरण प्रदुषणका कारण गर्भमा भएको बच्चाको दिमागमा समेत प्रतिकुल असर पार्ने हुनाले वृक्षारोपण स्वच्छ स्वासप्रस्वासको लागि नभइ नहुने एक अपिहार्य कार्य हो’, उनले बताए ।

वृक्षारोपण कार्यक्रममा प्रधानाध्यापक सत्येन्द्रलाल कर्णले वायु प्रदुषण व्यवस्थापन नागरिक सञ्जालले गरेको कार्यक्रमले आफ्नो विद्यालय परिसर हरियाली एवं वायु स्वच्छता हुने बताए ।

कामपा २० वडा अध्यक्ष राजेन्द्र मानन्धरले वृक्षारोपणमा मात्र सिमित नरहि बिरुवा हुर्काउनमा पनि थप कदम चाल्नुपर्ने बताए । विरुवा रोप्न सजिलो तर हुर्काउन अन्यन्तै गाह्रो हुने भएकोले आफ्ना बालबच्चा सरह नियमित हेरचाह गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष रामशरण डंगोलले वृक्षारोपणले गर्दा विद्यालय क्षेत्र प्रदूषणमुक्त हरियालीयुक्त हुने र यसबाट विद्यार्थीहरुले स्वास्थलाभ गर्न सकिने बताए ।

१६ जुन, १९७२ मा संयुक्त राष्ट्र सङ्घले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । उक्त सम्मेलनबाट वातावरण संरक्षणका लागि विश्वभर राजनीतिक र सामाजिक जनचेतना जगाउनुपर्ने अन्तर्राष्ट्रिय ऐक्यबद्धता बन्यो । त्यसैअनुरूप यो दिवसलाई संस्थागत गर्न सम्मेलनको दोस्रो वर्ष अर्थात् ५ जून १९७३ मा विश्वमा पहिलो पटक विश्व वातावरण दिवसलाई एक अन्तर्राष्ट्रिय दिनका रूपमा अङ्गीकार गरिएको हो ।

नेपालमा वातावरण संरक्षण सम्बन्धमा नेपालको अन्तरिम संविधान ०६३ सालको धारा ८३ बमोजिम संविधानसभाले फोहोर मैला व्यवस्थापन ऐन ०६८ पारित गरेको छ भने ०७२ को संविधानमा मौलिक हकको रूपमा वातावरणसम्बन्धी हकको व्यवस्था गरेको छ  ।

जनस्वास्थ्य तथा वातावरणमा पर्न सक्ने प्रतिकूल प्रभावलाई कम गरी स्वच्छ वातावरण कायम गर्नका लागि फोहोर मैला व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन एवं एकीकरण गर्न वाञ्छनीय भएकोले नेपालको संविधान ०७२ को धारा ३० मा प्रत्येक नागरिकलाई स्वच्छ वातावरणको मौलिक हकको प्रत्याभूत गर्नुको साथै पीडित पक्षलाई वातावरणीय प्रदूषण वा ह्रास वा कानुनबमोजिम क्षतिपूर्ति पाउने व्यवस्था पनि गरेको छ ।

स्टेट अफ ग्वोबल एअरले सन् २०२० गरेको अध्ययन अनुसार मृत्युको विश्वव्यापी अवस्थामा श्वासप्रश्वास असरका कारण ४० प्रतिशत, फोक्सोको क्यान्सरका कारण १९ प्रतिशत, फोक्सो तथा श्वासप्रश्वास प्रणालीमा हुने सङ्क्रमणका कारण ३० प्रतिशत, मधुमेहका कारण २० प्रतिशत, इस्केमिक हृदय रोगबाट २० प्रतिशत मानिसको मरण हुने गरेको छ । यस्ता असरको मूख्य कारण वायु प्रदूषण हो ।
यस्तै वायु प्रदूषण न्यूनिकरण गर्नका लागि काठमाडौं महानगरपालिकाले विष्णुमती नदीलाई छुने काठमाडौं महानगरपालिकाका १० वटा वडालाई समेटेर वायु प्रदूषण व्यवस्थापन नागरिक समाज सञ्जाल गठन गरिएको हो ।

वृक्षारोपण कार्यक्रममा कामपा १३ वडाका वडासदस्यहरू रजनि महर्जन र मैयाँ देउला तथा २० वडाका सदस्य अनेश चित्रकारलगायत वातावरणसम्बन्धी कार्य गर्ने संस्था एन्फो, विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी एवम् शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता थियो ।