जसको मौलिकता गुम्छ उसले सबथोक गुमाएको हुन्छ

जसको मौलिकता गुम्छ उसले सबथोक गुमाएको हुन्छ
सुनिल प्रजापति, प्रमुख भक्तपुर नगरपालिका
पुरातत्व विभागले भक्तपुर नगरपालिकालाई पनि यस कार्यक्रममा आमन्त्रण गरेर केही कुरा राख्ने अवसर दिनुभएकोमा म सांस्कृतिक नगर भक्तपुरको तर्फबाट पुरातत्व विभागका महानिर्देशकज्यू लगायत सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु । सर्वप्रथम बैठकको पूर्ण सफलताको निम्ति शुभकामना व्यक्त गर्दछु ।
२०७२ सालको भूकम्प गएको ७ वर्ष बित्यो । यस अवधिमा धेरै निजी घरहरु र सम्पदाहरु बने, अझै कयौं घर र सम्पदाहरु पुनःनिर्माण र जीर्णोद्धार गर्न बाँकी छन् । बैठकले भूकम्पवाट क्षतिग्रष्ट बाँकी सम्पदाहरुको पुनःनिर्माणको विषयमा केन्द्रित भएर छलफल गर्ने र व्यवस्थित योजना तयार गरी शिघ्र पुनःनिर्माणको लागि अगाडि बढ्न मार्ग स्पष्ट गर्ने आशा गर्दछु ।


हामी विश्व सम्पदा सूचिमा सूचिकृत नगरहरुबाट यहाँ प्रतिनिधित्व गर्दैछौं । विश्व सम्पदामा सूचीकृत काठमाडौं दरबार क्षेत्र, बौद्ध, ललितपुर दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, चाँगुनारायण मन्दिर क्षेत्र भएका स्थानहरुबाट प्रतिनिधित्व गर्न पाउँदा हामीलाई खुशी लाग्छ । यति छोटो दुरीमा यति धेरै विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाहरु भएको ठाउँ विश्वमा सायदै होलान् । तापनि हाम्रा सम्पदाहरुको पुनःनिर्माण र जिर्णोद्वारतर्फ केन्द्रीय सरकारको उचित ध्यान नपुग्नु विडम्बनाको कुरा हो ।
तीव्र गतिमा भइरहेको जनसंख्या वृद्धि, अनियन्त्रित सहरीकरण र आधुनिक विकास निर्माण सम्पदा संरक्षणको निम्ति चुनौती बन्दैछ । संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी एकीकृत योजना बनाएर अघि बढेमा मात्रै हाम्रा सबै सम्पदाहरु व्यवस्थित रुपमा संरक्षण गर्न सम्भव हुन्छ ।
म भक्तपुरबाट प्रतिनिधित्व गर्दैछु । भक्तपुर २०७२ सालको भूकम्पबाट धेरै धनजनको क्षतिभएको जिल्लामध्ये एक हो । भक्तपुर नगरपालिकामा पूर्ण र आंशिक गरी करिब ८ हजार निजी घरहरु र १३० वटाभन्दा बढी सम्पदा क्षति भएको थियो ।
भूकम्पबाट क्षत विक्षत अबस्थामा २०७४ सालको स्थानीय निर्वाचनमा हामी निर्वाचित भयौं । सम्पदा संरक्षणलाई प्राथमिकतामा राख्दै क्षतिग्रष्त सम्पदाहरुको पुनःनिर्माण र जीर्णोद्धारलाई अगाडि बढायौं । हाम्रो ५ वर्षको कार्यकालमा १२४ वटा सम्पदा पुनःनिर्माण र जीर्णोद्धार कार्य लगत इस्टमेटभन्दा निकै कम खर्चमा सम्पन्न भयो । हामीले स्थानीय उपलब्ध स्रोत र साधनको अधिकतम प्रयोगलाई जोड दिंर्दै मौलिक प्रविधिबाट स्थानीय जनसहभागितामा पुनःनिर्माण कार्य गर्दै आर्यौं । यसले सम्पदाहरुप्रति जनताको अपनत्व हुने, निर्माण कार्य गुणस्तरीय हुने, मौलिक सीप र प्रविधिको संरक्षण हुने तथा स्थानीय जनताले रोजगारी पाउने हुँदा यो निर्माण शैली नै सम्पदा पुनःनिर्माणको उपयुक्त विकल्प हो भने हाम्रो निस्कर्ष हो । भक्तपुर नगरपालिकाले यस शैलीलाई निरन्तरता दिंदै आएको छ । ठूल्ठूला भूकम्पबाट पनि नभत्केको उपत्यकाको सबभन्दा अग्लो ५ तले मन्दिर ३२० वर्षदेखि जस्ताको तस्तै ठडिएर रहनु हाम्रो मौलिक प्रविधिको उत्कृष्टताको उदाहरण हो । ३२० वर्ष जस्ताको तस्तै ठडिएको भक्तपुरको ५ तल्ले मन्दिरलगायतका सम्पदाहरुले हाम्रो मौलिक प्रविधिको उत्कृष्टतालाई देखाउँछ ।
महत्वपूर्ण सम्पदा पुनःनिर्माण वा जीर्णोद्धार अघि विज्ञ टोलीबाट सम्पदाको ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक महत्वबारे अध्ययन प्रतिवेदन र प्राविधिकहरुबाट अलग्गै प्राविधिक प्रतिवेदन तयार गर्ने र त्यसपछि मात्रै पुनःनिर्माण कार्यलाई अगाडि बढाउने गर्दै आएका छौं । यसबाट प्राचीन प्रविधिबारे नयाँ पुस्तालाई जानकारी प्राप्त हुने र सम्पदा संरक्षणमा मदत पुग्ने हाम्रो विश्वास छ ।


भक्तपुर नपाले मूर्त सम्पदाहरुका साथै अमूर्त सम्पदाहरुको संरक्षणमा पनि उत्तिकै ध्यान दिइरहेको छ । हरेक वर्ष विभिन्न सांस्कृतिक विधाको प्रतियोगिताको आयोजना, साँस्कृतिक गुरुहरुको सम्मान र विभिन्न सांस्कृतिक समूहहरुलाई आर्थिक अनुदानको व्यवस्था यसका उदाहरणहरु हुन् ।
हाम्रो भाषा र संस्कृतिको महत्वबारे नयाँ पुस्तालाई बुझाउनु पनि हाम्रो महत्वपूर्ण काम हो । त्यसको लागि स्थानीय पाठ्यक्रम बनाइ लागू गर्यौं । भाषा र संस्कृतिबारे नयाँ पुस्तालाई अध्ययन, अध्यापन गराएनौं भने त्यो लोप भएर जानेछ । कुनै भाषा वा संस्कृति लोप हुनु भनेको राज्यको सम्पत्ति समाप्त हुनु हो । त्यसको संरक्षण र सम्बद्र्धन गर्नु सबैको साझा जिम्मेवारी हो । पुरातत्व विभागले यसबारे बिशेष पहल गर्नु आवश्यक छ । नेपाल सरकारले पालिका स्तरमा भाषा र सँस्कृति सम्बन्धी सङ्ग्रहालय बनाउनेतर्फ ध्यान दिनु जरुरी छ ।
उचित संरक्षणको अभावमा हाम्रा थुप्रै सम्पदाहरु लोप भए, अझै कयौं सम्पदाहरु लोपोन्मुख अवस्थामा छन् । हरेक सम्पदाको आ आफ्नै ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक महत्व हुन्छ । काठमाडौं उपत्यकामा अवस्थित लिच्छविकालीन र मल्लकालीन संस्कृति र सम्पदाहरु विश्वस्तरीय छन् । भक्तपुरको चाँगुनारायण, पाँचतल्ले मन्दिर, पचपन्न झ्याले दरबार, सुनढोका वास्तुकलाको दृष्टिले अनुपम उदाहरणहरु हुन् । त्यसका अवलोकनका लागि हरेक वर्ष विश्वका लाखौं पर्यटकहरु नेपाल आउने गर्छन् । पर्यटन क्षेत्रको विकासमा सम्पदाहरुको उल्लेखनीय भूमिका रहेको हामीले बिर्सनु हुँदैन ।
त्यस्ता महत्वपूर्ण सम्पदाहरुको पुनःनिर्माण वा जीर्णोद्धार ठेक्कामार्फत गराइदा त्यसको मौलिकता हराउन सक्छ । ठेकेदारले सम्पदाको मूल्य र महत्व बुझ्दैन वा बुझ्न चाहन्दैन । उसले नाफालाई मात्रै ध्यान दिन्छ । ठेकेदारको नाफासँग हाम्रा सम्पदाहरुको महत्व साट्न मिल्दैन । त्यसैले कुनै पनि सम्पदा पुनःनिर्माणको काम स्थानीय जनतामार्फत गर्ने कानुनी बन्दोबस्त हुनु आवश्यक छ । अहिले प्रचलित आर्थिक ऐन, नियमहरु सम्पदा पुनःनिर्माणको लागि बाधक बनिरहेका छन् ।
पुरातात्विक क्षेत्रहरुको अध्ययन, अनुसन्धानलाई जारी राख्नुपर्छ । सिन्धुघाटी, हरप्पा र मोहन्जोदाडोको पुरातात्विक उत्खननले प्राचीन कालमा त्याहाँ कस्तो नगर योजना थियो, तत्कालीन वास्तुकला र कलाको विकास, आर्थिक र सामाजिक जीवन तथा धार्मिक अवस्था कस्तो थियो भनी बुझ्न सजिलो भए झैं काठमाडौं उपत्यकाका लिच्छविकालीन र मल्लकालीन सम्पदाहरुको अध्ययन अनुसन्धानले नयाँ नयाँ तथ्यहरु पत्ता लागाउन मदत गर्नेछ । हाम्रो ध्यान त्यसतर्फ केन्द्रित हुनु आवश्यक छ ।
भक्तपुर दरबार क्षेत्रमा अवस्थित कला सङ्ग्रहालय रहेको न्ह्यकं झ्या दरबार अझै पुनःनिर्माण हुन सकेको छैन । त्यसबारे थुप्रै प्रश्नहरु उठ्ने गरेका छन् । प्राप्त प्रमाणको आधारमा मल्लकालीन शैलीमा बनाउनमा भक्तपुर नगरपालिका, पुरातत्व विभाग र संस्कृति मन्त्रालयको संयुक्त बैठकले मिति २०७५।४।८ मै निर्णय गरिसकेको थियो । युनेस्कोको अनुमति नभएको भन्दै पुनःनिर्माणको काम कहीबाट पनि अगाडि बढेको देखिएन किन ? देशको सम्पदाप्रति पुरातत्व विभागले चासो लिएर पुनःनिर्माणको काम अगाडि बढाउनु पर्ने होइन ? सबै काम स्थानीय तहले गर्ने हो भने पुरातत्व विभागको औचित्यमाथि पनि प्रश्न उठ्छ । दरवार हेरचाह तथा स्मारक संरक्षण कार्यालय, गुठी संस्थानलाई स्थानीय तह अन्तर्गत राख्न सकेमा काम छिटो छरिटो गर्न सकिन्छ ।
अहिले नेपालमा विदेशी संस्कृतिको प्रभाव बढ्दै गएको छ । मौलिकताको संरक्षण गर्दै संस्कृतिको नाउँमा हुने वैदेशिक हस्तक्षेप रोक्नु हाम्रो लागि ठूलो चुनौती बनेको छ । सुधारको नाउँमा गरिएका कतिपय कामले हाम्रो मौलिकतालाई ठाडै चुनौती दिएको छ । मौलिकता हाम्रो पहिचान हो । जसको मौलिकता गुम्छ उसले सबथोक गुमाएको हुन्छ । त्यसैले मौलिक सम्पदा र संस्कृतिको महत्व बोध गराउने, त्यसप्रति निष्ठा जगाउने र मौलिक संस्कृति र सभ्यताबारे विद्यालय, कलेजको पाठ्यक्रममा समावेश गर्नुपर्ने आवश्यकता छ ।
सम्पदा पुनःनिर्माण र जीर्णोद्धारका लागि सहज काठ उपलब्ध गराउने, जनसहभागितामा सम्पदाहरुको पुनःनिर्माणको लागि आवश्यक ऐन नियमको बन्दोबस्त गर्ने, तिनै तहका सरकारहरुबीच समन्वयको संयन्त्र निर्माण गर्ने र स्थानीय सीप र प्रविधिबारे सघन तालिमको बन्दोबस्त गर्ने तथा परम्परागत शैलीमा घर निर्माण गर्नेलाई अनुदानको व्यवस्था गर्ने कानुनी बन्दोबस्त गर्न सके हाम्रा सम्पदाहरु संरक्षणमा सहयोग पुग्ने छ ।
भक्तपुर नपाले सम्पदा पुनःनिर्माणमा आर्थिक अनुशासन, मितव्ययिता र पारदर्शितालाई ध्यानमा राखी काम गर्दै आएको छ । आवश्यकताअनुसार जनशक्ति तयार गर्न सिकर्मी, डकर्मी, लोहँकर्मीहरुको नियमित तालिमको व्यवस्था गर्दै आएको छ । त्यसैगरी पुरानो नगर क्षेत्रभित्र मौलिक शैलीमा घर बनाउने घर धनीहरुलाई काठ, इटा र झिंगतिमा लाग्ने खर्चको ३५ प्रतिशत अनुदान प्रदान गर्दै आएको छ ।
भक्तपुरको प्राचीन सहरी क्षेत्रभित्र स्थानीय जनताले मात्र घर जग्गा किनबेच गर्न सक्ने कानूनी बन्दोबस्त गर्न खोज्यौं । तर त्यसको लागि अदालत बाधक बन्यो । देशका महत्वपूर्ण सम्पदाहरुको संरक्षण गर्न सम्पदा रहेको महत्वपूर्ण क्षेत्रका जग्गा किनबेचमा रोक लगाउने कानुनी बन्दोबस्त गर्न र काठमाण्डौ उपत्यकालाई साँस्कृतिक केन्द्रको रुपमा विकास गर्न आवश्यक पहल गर्न पनि अनुरोध गर्दछु ।
(काठमाडौँ उपत्यका विश्व सम्पदा स्थलको संरक्षण एवं व्यवस्थापन विषयमा चैत्र ९ गते भएको इन्टरनेसनल साइन्टिफिक कमिटी बैठकको उद्घाटन कार्यक्रममा भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिको मन्तव्य)