काठमाडौं उपत्यकामा आजदेखि जोरविजोर प्रणाली लागू ।

काठमाडौं उपत्यकामा आजदेखि जोरविजोर प्रणाली लागू ।।
काठमाडौं उपत्यकामा आजदेखि सवारीसाधनमा जोरविजोर प्रणाली लागू भएको छ । कोरोना सङ्क्रमणको दर उच्च भएपछि काठमाडौं उपत्यकामा आजदेखि जोरविजोर प्रणाली लागू भएको हो । तर, अत्याआवश्यक सवारी साधनमा भने जोरबिजोर प्रणाली लागू नहुने प्रशासनले जनाएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले जोर गते जोर नम्बर प्लेट भएका सवारी साधन र विजोर गते विजोर नम्बर प्लेट भएका सवारी साधन चल्न दिने निर्णय गरे अनुसार कार्यान्वयनमा ल्याएका हुन् । प्रशासन कार्यालयहरूले एम्बुलेन्स, शवबाहन, दमकल, औषधि र स्वास्थ्य सामग्री बोकेका सवारीसाधनमा जोरविजोर प्रणाली लागू नहुने स्पष्ट पारेको छ । ग्यास, पेट्रोलियम पदार्थ, खाद्यान्न, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, पानी, अण्डा, माछामासु, पशुपंक्षीका दाना एवं कृषि तथा पशुजन्य सामग्रीहरू बोक्ने सवारी साधनमा पनि जोरविजोर प्रणाली लागू हुने छैन, तर यी सवारीमा चालक र सहचालक मात्र सवार हुनुपर्ने छ । निर्माण सामग्री बोक्ने सवारी साधन, परिचयपत्रका आधारमा सरकारी कर्मचारी, चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सार्वजनिक संस्थान, बैंक, बीमा, वित्तीय संस्था, वायुसेवा कम्पनी, डाक तथा कुरीयर सेवा, दूरसञ्चार सेवा प्रदायक निकायका कर्मचारीले प्रयोग गर्ने सवारी साधनमा पनि जोरविजोर प्रणाली लागू हुनेछैन ।