छरुवा धान खेतीले ५० प्रतिशत लागत कम हुने भएपछि कृषकहरु दंग

छरुवा धान खेतीले ५० प्रतिशत लागत कम हुने भएपछि कृषकहरु दंग
भक्तपुर, असोज १३ गते
परम्परागत रुपमा धानबाली गर्दै आएका भक्तपुरका कृषकहरुलाई छरुवा धान खेती गर्ने प्रणाली बारे जानकारी पाए पछि निकै हर्षित भएका छन् । हिलोमा रोपाई गर्दै आएका कृषकहरुलाई अब हिलोमा नभई खेत जोत्दै धानको बीउ छरेर धान बाली गर्न सकिने भएपछि कृषकहरु दंग नै भएका हुन । सिद्धि कृषि सहकारी संस्थाले आज खुमलतारस्थित राष्ट्रिय बालि विज्ञान अनुसन्धान केन्द्रमा लगाइएका विभिन्न प्रजातिका धानबालीहरुको अध्ययन भ्रमण गर्नेक्रममा छरुवा धान खेती बारे अभिरुचिपूर्वक अध्ययन गरेका हुन ।


पहाडी र कम पानी पर्ने ठाउँमा धानबाली गर्न सकिने यो प्रणाली बारे केन्द्रका प्रमुख टिकाराम कार्कीले जानकारी दिएका थिए । पानी नपरेका बेला सुखा खेतमा पानी छर्केर फोखतां धान रोपाई गर्ने र धान छरेर वलाचा धान बाली गरेको अनुभव बतुलेका भक्तपुरका किसानहरुलाई मेसिनबाट खेत जोत्दै धान पनि छरेर धानबाली लगाउन सकिने प्रविधिका बारेमा कार्यालय प्रमुख टिकाराम कार्कीले विस्तृत जानकारी दिदै यसका फाइदा र छरुवा धान खेती प्रणाली बारे जानकारी समेत दिएका थिए ।


कार्यालय प्रमुख कार्कीले छरुवा प्रविधिबाट धान खेती गरेमा पचास प्रतिशत लागत कम गर्न सकिने बताउँदै छरुवा धान लगाउन मौसममैत्री ब्यवहारको आवश्यकता भने भएको बताए छन् । हिलोमा रोपेको धान बाली र छरुवा धान बालीको उत्पादनमा कुनै कमी नआएको प्रत्यक्षरुपमा अवलोकन गरेका सिद्धिकृषि सहकारीका अध्यक्ष पुण्यराम दुमरुले देशभरको भुगोल अनुसार उत्पादन बढाउन सकिने धानबाली बारे अध्ययन गर्न पाएको अवगत गराउँदै यस्तो बाली विज्ञान बारे कृषिकहरुलाई नियमितरुपमा अवलोकन र तालिमको आवश्यकता रहेको बताए ।


पचास प्रतिशत लागत घटाउन सकिने छरुवा धानबाली प्रणाली र हररर वास्ना आउने बास्मती चामलको धानबालीले कृषकहरुमा आकर्षण बढाएको सहभागि कृषकहरुले अध्ययन भ्रमण पश्चात प्रतिकृया दिएका छन् । बालि विज्ञान केन्द्र खुमलटार परिसरमा करिव १० हेक्टर क्षेत्रमा मूल बीउ उत्पादनका लागि देशभरका विभिन्न क्षेत्रमा फल्ने धान बाली लगाएको छ । राष्ट्रिय धान दिवसको अवसर पारेर गत असार १५ गतेको सरोफेरोमा सो क्षेत्रमा विभिन्न प्रजातिका धान बाली गरेका छन् ।