आदर्श आजाद माध्यमिक विद्यालयमा कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण
भक्तपुर, १ भदौ । भक्तपुर नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष योगेन्द्रमान बिजुक्छेंले विद्यार्थी सर्टिफिकेटमुखी नभई ज्ञानमुखी बन्नुपर्ने बताएका छन् ।
भक्तपुरको भेलुखेलस्थित आदर्श आजाद माध्यमिक विद्यालयको कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरणमा अध्यक्ष बिजुक्छेंले पढ्नका लागि मात्र नपढी जीवनकै लागि पढ्नु पर्ने बताए ।
सो विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका उनले पढाइलाई प्रभावकारी बनाउनका लागि शिक्षकले मात्र नभई स्वयम् विद्यार्थीको पनि भूमिका महत्त्वपूर्ण हुने बताए । उनले शिक्षकसँग अन्तरक्रिया गरि अध्ययन गर्दा विद्यार्थीलाई नै फाइदा हुने उल्लेख गर्दै विद्यालयमा सामाजिकीकरणको असल अभ्यास गर्नुपर्नेमा जोड दिए।
‘कम्तिमा पनि कक्षामा आउँदा पढेर आउँ, शिक्षकलाई प्रश्न गरौं, त्यो हुँदा शिक्षक आफूले पनि पूरा तयारी गरेर आउँछन्, त्यसले विद्यार्थीलाई नै फाइदा हुन्छ, शिक्षकसँग प्रश्न गर्ने बानी बसालौं’, अभिमुखीकरणमा उनले भने, प्रश्न सोधौं, प्रश्नले शिक्षकको अल्छीपन घट्छ ।’
कोर्सका किताबमा मात्र ध्यान नदिई बाहिरी ज्ञानका लागि अन्य पुस्तक पनि पढ्न अनुरो गर्दै शिक्षाकर्मी समेत रहेका अध्यक्ष बिजुक्छेंले त्यसका लागि राम्रो ठाउँको रुपमा पुस्तकालय भएकाले पुस्तकालय संस्कृति विकास गर्न उनले जोड दिए ।
कार्यक्रममा विद्यालयका प्राचार्य श्रीकृष्ण किसीले आदर्श आजाद मावि भक्तपुरको उत्कृष्ट विद्यालय भएको बताउँदै विद्यालयको शैक्षिक उपलब्धि उच्च रहेको बताए । उनले विद्यालयमा अध्ययन गरेका विद्यार्थीले विभिन्न पेशा र पढाइमा सफलता हासिल गरेको जनाउँदै विद्यार्थीको सर्वाङ्गीण विकासका लागि विद्यालय लागिरहेको बताए ।
कार्यक्रममा विद्यालयका सहायक प्राचार्यद्वय चक्रबहादुर चाकतु र राजेन्द्र कायस्थले शिक्षाको विकासका लागि सबै पक्षको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै विद्यार्थी अनुशासित र व्यवहारिक हुनुपर्ने जनाए । सो अवसरमा विद्यालयले विद्यार्थीलाई कक्षा ११मा पढाइ हुने पाठ्यपुस्तक पनि वितरण गरिएको थियो ।