नगर प्रमुख प्रजापतिसँग सुरुङ्गा नगरपालिकाका प्रमुख गीता चौधरीको भेट

नगर प्रमुख प्रजापतिसँग सुरुङ्गा नगरपालिकाका प्रमुख गीता चौधरीको भेट
२०७९ साउन २९ गते, आइतबार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग सप्तरी जिल्लाका प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरी र सप्तरी जिल्लाकै सुरुङ्गा नगरपालिकाका प्रमुख गीता चौधरीले आइतबार नपा सभाकक्षमा भेट गर्नुभयो । नगर प्रमुख प्रजापतिले उहाँहरुलाई खादा र भादगाउँले टोपीले स्वागत गर्नुभएको थियो ।
भेटमा उहाँहरुबीच शिक्षा, स्वास्थ्य, विकास निर्माणलगायतका विषयमा अनुभव आदानप्रदान भयो ।
प्रमुख प्रजापतिले संविधानको भावनाअनुसार प्रत्येक नागरिकलाई शारीरिक व्यायामको अधिकार प्रदान गर्ने उद्देश्यले भक्तपुर नपाले टोल टोलमा खुल्ला व्यायामशाला स्थापना गरेको, २०७२ सालको भूकम्पबाट भत्केका अधिकांश सम्पदाहरुको पुनःनिर्माण सम्पन्न भइसकेको र उच्च शिक्षा हासिल गर्नबाट बञ्चित नहोस् भनी रु. ५ लाखसम्मका शैक्षिक ऋणको व्यवस्था गर्दै आइरहेको बताउनुभयो ।
भक्तपुरमा सामुदायिक र संस्थागत विद्यालयहरुबीच प्रतिस्पर्धा हुने गरेको स्मरण गर्नुहुँदै शिक्षाकै जगबाट भक्तपुर आज शैक्षिक गन्तव्यस्थलको रुपमा विकास भएको हो भन्नुभयो ।


भेटमा प्रतिनिधिसभाका माननीय सदस्य तेजुलाल चौधरीले भक्तपुर नपाले शिक्षा गरिरहेको योगदान उल्लेखनीय भएको बताउनुहुँदै यहाँबाट धेरै कुरा सिक्न भक्तपुर भ्रमणमा आएको बताउनुभयो । उहाँले भक्तपुरले जस्तै अन्य स्थानीय तहले शिक्षा र स्वास्थ्य क्षेत्रमा उदारणीय ढंगले काम गर्न सके देशको विकास हुन धेरै समय नलाग्ने पनि बताउनुभयो ।
सुरुङ्गा नगरपालिकाका प्रमुख गीता चौधरीले सुरु·ा नगरपालिका प्रदेश नं. २ को सप्तरी जिल्लाको प्रसिद्ध सुरु·ा पहाडको नामबाट नामाकरण गरिएको नगरपालिका रहेको र हाल यस नपा ११ वटा वडामा विभाजित रहेको बताउनुभयो ।
भ्रष्टाचार, आर्थिक अनियमितताका कारण देशको विकास झन पछि पर्दै गएको बताउनुहुँदै उहाँले शिक्षित समाजले देशलाई अगाडि बढाउन मद्दत पुर्याउने विचार राख्नुभयो ।
भेटमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, सुनपा ७ सप्तरीका दिनेश यादव, सुनपा ९ सप्तरीका विद्यानन्द चौधरी, वडा नं. २ अध्यक्ष इन्द्रदेव यादव र वडा नं. २ का अमरेश यादवको उपस्थिति थियो ।