गाईजात्रा पर्व (सापारु) प्रदक्षिणा मार्गमा विशेष सरसफाई

गाईजात्रा पर्व (सापारु) प्रदक्षिणा मार्गमा विशेष सरसफाई
२०७९ साउन २४ गते, बुधबार
भक्तपुर नगरपालिकाको आयोजनामा २०७९ सालको गाईजात्रा पर्व (सापारु) प्रदक्षिणा मार्गमा बुधबार बिहान विशेष सरसफाई गरिएको छ । यस वर्षको गुन्हिपुन्ही (जनैपूर्णिमा) र सापारु (गाईजात्रा) एकै दिन परेको कारण जनमानसमा अन्योल पैदा नहोस् भनी भक्तपुर नगरपालिका र सरोकारवालाहरुबीच भएको छलफलले २०७९ साउन २६ गते बिहीबार गुन्हिपुन्ही (जनैपूर्णिमा) र मिति २०७९ साउन २७ गते सापारु (गाईजात्रा) मनाउने निर्णय गरेको हो ।
भक्तपुरको दरबार क्षेत्र, खौमाबाट सुरु भएको सरसफाई ¥यालीमा भक्तपुर नपा वडा नं. १ देखि ५ सम्मको मार्गमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वको टोली र वडा नं. ६ देखि १० सम्म भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्व नेतृत्वको टोलीले सरसफाई गरेको थियो ।


सरसफाई कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाको आयोजनामा भएको सचेतनामूलक सरसफाई कार्यक्रममा सहभागी सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नुहुँदै हाम्रो कला, संस्कृतिको संरक्षण गर्ने हाम्रो साझा दायित्व भएको बताउनुभयो ।
गाइजात्रा र जनैपूर्णिमा शान्तिपुर्ण रुपमा मनाउन अनुरोध गर्नुहुँदै प्रमुख प्रजापतिले प्रदिक्षणा मार्गमा रहेका फोहोर व्यवस्थापन गर्न वातावरणलाई सफा राख्न सरसफाइ अभियानकै भक्तपुर नपाले जोड दिँदै आएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले भक्तपुर नपाले विगतका वर्षमा झैं यस वर्षमा पनि सापारुको उपलक्ष्यमा परम्परागत र आधुनिक सांस्कृतिक विधाहरु तथा घिन्ताङघिसीलाई प्रतियोगिता गर्न लागेको जानकारी गराउनुहुँदै गाईजात्रा प्रदक्षिणा मार्गमा तार व्यवस्थापनको कार्य पनि भइरहेको बताउनुभयो ।
¥याली सुरु हुन अगाडि भएको सभामा भनपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराले विगतका दिनमा कोभिडका कारण गाइजात्रा पर्व स्थगित गर्नुपरेको बताउनुहुँदै यस पटकको गाईजात्रा सभ्य र भव्य तरिकाले मनाउन लागेको अवगत गराउनुभयो ।
गाईजात्रा प्रदक्षिणा मार्गमा भक्तपुर नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, दाफा–भजन, टीम–क्लब, संघसंस्था, सहकारी संस्था, विद्यालय र सयौं नगरबासीहरुको सक्रिय सहभागिता मा सरसफाइ गरिएको हो ।
विभिन्न विद्यालयका विद्यार्थीहरुसहित सहभागितामा भएको सरसफाइमा विद्यार्थीहरुले सन्देशमूलक नारा लेखिएका प्ले कार्डसहित नगर परिक्रमा गरेका थिए ।