धनगढीका मेयर गोपाल हमल भक्तपुर नगरपालिकामा
२०७९ साउन ११ गते, बुधबार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग कैलालीको धनगढी उपमहानगरपालिकामा २०७९ को स्थानीय तहको चुनावमा स्वतन्त्र रुपमा विजयी हुनुभएका नगर प्रमुख गोपाल हमलले बुधबार भेट गर्नुभएको छ । भक्तपुर नपाको शिक्षा, स्वास्थ्य र विशेषगरी फोहर मैला व्यवस्थापनबारे अध्ययन भ्रमणमा आउनुभएका हमललाई नगर प्रमुख प्रजापतिले नगरपालिकाद्वारा सञ्चालित विविध गतिविधिहरुबारे प्रष्ट पार्नुभयो ।

भेटमा प्रमुख प्रजापतिले स्वास्थ्य क्षेत्रमा जनताको सहज पहुँचको लागि भक्तपुर नपाले स्वास्थ्य केन्द्र हुँदै अहिले १०० शैय्याको ख्वप अस्पतालमार्फत अन्तरंग सेवा सुरु गरिसकेको अवगत गराउनुहुँदै प्रमुख प्रजापतिले ख्वप अस्पतालबाट व्यापक जनताले सस्तो र स्तरीय स्वास्थ्य सेवा पाइरहेको चर्चा गर्नुभयो ।
भक्तपुर नपाले आजभन्दा ४ वर्ष अघिदेखि कुहिने र नकुहिने फोहर अलग अलग दिन संकलन गर्दै आएको र हाल कुहिने फोहरबाट कम्पोष्ट मल निर्माण गरी किसानहरुलाई सस्तोमा बिक्री समेत सुरु गरिसकेको उहाँले बताउनुभयो ।
विकास निर्माणको सन्दर्भमा भक्तपुर नपाले जनताको आर्थिक तथा भौतिक सहयोग र श्रमदान जुटाई उपभोक्ता समितिमार्पmत पारदर्शी ढङ्गले गुणस्तरीय निर्माण गर्दै आइरहेको बताउनुहुँदै उहाँले भक्तपुर नपा युवा तथा विद्यार्थीहरुलाई लक्षित गर्दैै सञ्चालित सीपमूलक तालिमले रोजगारी सिर्जना भएको बताउनुभयो ।
त्यस्तै धनगढी उपमहानपाका प्रमुख हमालले सबैसँग सहकार्य गर्दै अगाडि बढिरहेको बताउनुहुँदै धनगढी उपमहानपाले वडा क्लिनकको अवधारणाअनुसार गर्भवती महिलाहरुको लागि यसै आर्थिक वर्षदेखि विशेषज्ञसहित १९ वटै वडामा अल्ट्रासाउण्ड, इसीजी र ल्याबको स्वास्थ्य सेवा निःशुल्क रुपमै सुरु गरेको बताउनुभयो ।
उहाँले भक्तपुर नपाको सरसफाइ र फोहोर व्यवस्थापनको चर्चा व्यापक रहेको हुँदा यहाँबाट सिक्ने उद्देश्यले भक्तपुर आएको बताउनुहुँदै जनतालाई स्थानीय सरकारको औचित्यता पुष्टि हुने ढंगले जनप्रतिनिधिहरुले काम गर्नुपर्छ भन्नुभयो ।
उक्त भेटमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, धनगढी उपमहानपाबाट महेशप्रसाद दाहाल र रुपक जोशीको उपस्थिति रहेको थियो ।
प्रमुख प्रजापतिले नगर प्रमुख हमललाई खादा र भादगाउँले टोपीले स्वागत गर्नुभएको थियो भने उहाँलाई मयुरको झ्याल र नपाका प्रकाशनहरु उपहारस्वरुप प्रदान गर्नुभएको थियो ।
सोही क्रममा उहाँहरुले भक्तपुर नपाबाट सञ्चालित ख्वप कलेज, ख्वप अस्पताल र ख्वप इन्जिनियरिङ कलेजको समेत स्थलगत अवलोकन भ्रमण गर्नुभएको थियो ।














