जनप्रतिनिधीको पहिलो काम भक्तपुर नगरमा मेलम्चीको पानी वितरण सुरु
भक्तपुर, जेष्ठ १२
भक्तपुर नगरपालिका क्षेत्रमा पनि मेलम्चीको पानी परिक्षण वितरण सुरु गरेको छ । सांस्कृतिक नगरी भक्तपुरमा खानेपानीको काकाकुल रहेको जनगुनासोको सुनुवाई गर्दै भक्तपुर नगरपालिकाका जनप्रतिनिधीले पद्भार ग्रहण गरेको दिनमै घोषाण गरे अनुसार मेलम्चीको पानी वितरण आजबाट सुरु गरेको हुन् । नगर प्रमुख सुनिल प्रजापतिले स्थानीय तहको प्रमुखमा पुनः निर्वाचित हुनु भएपछि जेष्ठको दोस्रो हप्ताबाट मेलम्चीको खानेपानी वितरण हुने विश्वास व्यक्त गरेका थिए । सोक्रममा आज दिउँसो १२.१५ बजेको समयमा सूर्यविनायक नगरपालिकास्थित कटुञ्जेमा निर्माणाधिन पानी ट्याकीबाट साँचो खोलेर भक्तपुर नगरको तौमढी चोक भन्दा माथिका समुदायका लागि पानी वितरण गरेका हुन ।
काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड अन्तर्गत भक्तपुरमा पाइपलाईन जडान भएकाहरु मध्ये बोडेको खानेपानीसँग जोडिएका पाइपलाईनलाई हाल सो पानी वितरण भएको खानेपानी कार्यालय भक्तपुरका कार्यालय प्रमुख सुरेन्द्र हिमालयले जनाएको छ । उनका अनुसार भक्तपुर नगरका लागि मात्रै दैनिक ७०, ८० लाख लिटर खानेपानीको आवश्यकता पर्छ । सो पुर्तिका लागि कटुञ्जेमा बनेको २० लाख लिटरको पहिलेको र अहिले बनेको ६०लाख लिटरको ट्यांकीबाट दैनिक ८० लाख लिटर खानेपानी वितरण हुने गरी परिक्षण गरिएकोे हो । मेलम्ची खानेपानी योजनाबाट सम्पूर्ण भक्तपुरबासीले खानेपानीको अपेक्षा गरेको देखिए पनि हाललाई खानेपानी कार्यालय भक्तपुरको पाइपलाईनबाट मात्रै वितरणको व्यवस्था गरेको छ । सो आयोजना अन्तर्गत थप पाईपलाईन विस्तार गर्न आवश्यक भए पनि हाललाई कीर्तिपुरमा ६० लाख र बोडे तिग्नीमा ३० लाख र भक्तपुरको कटुञ्जेमा ६० लाख लिटरको ट्याकी निर्माणका साथै पाइपलाईन बनाउन १ सय ६६ करोड लागत इष्टिमेटमा काम भइरहेको आयोजनाका इन्जिनियर बासुदेव दाहालले जनाएको छ ।

बोडेको खानेपानी लाईन भक्तपुर नगरको तौमढी माथि मात्र छ । महादेव पोखरीको खानेपानी लाईनमा पनि सो योजना जोड्न थप पाईपलाईन विस्तार गर्न आवश्यक भएको कार्यालय प्रमुख हिमालयको भनाई छ । महादेव खोलाको पानी र मेलम्चीको पानीलाई ब्यवस्थापन गरी खानेपानी वितरण गर्दा हाललाई भक्तपुर नगरका लागि पानी पर्याप्त हुने उनको विश्वास छ । यद्यपी वर्षायामसँगै मेलम्ची खानेपानी आयोजनामा गत वर्ष झै बाढी, पहिरो आउन सक्ने भएकाले वर्षातको समयमा मेलम्ची बन्द रहन सक्ने भएकाले सो बेला अन्य बैकल्पिक व्यवस्था हुने पनि उनले जनाए । खानेपानी कार्यालय भक्तपुरका पाईपलाइन पूरानो भइसकेकाले ठाउँ ठाउँमा टुठफुट हुन सक्ने भन्दै परिक्षणको रुपमा वितरित पानीलाई फिल्टर गरेरमात्रै प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।













