भक्तपुरका ८६ हजार बालबालिकालाई टाइफाइड विरुधको खोप दिने 

भक्तपुरका ८६ हजार बालबालिकालाई टाइफाइड विरुधको खोप दिने
भक्तपुर, चैत्र २५ गते
१५ महिना देखि १५ वर्षका बालबालिकाका लागि आज देखि जारी टाइफाइड विरुद्धको खोप अभियान अन्तर्गत भक्तपुरका ८६ हजार लक्षित बालबालिकाहरुलाई खोप दिने तयारी रहेको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । देशभर जारी यो अभियान अन्तर्गत विद्यालयको पहुँचमा रहेका र विद्यालय बाहिर रहेका बालबालिकाको संख्यालाई ध्यानमा राखि खोप अभियानलाई प्रभावकारी बनाउने कार्य आजबाट सुरु भएको पनि कार्यालय प्रमुख कृष्णबहादुर मिजारले जनाएको छ ।

भक्तपुर नगरको बागेश्वरीमावि र चाँगुनगरका केही विद्यालयबाट खोप अभियान सुरु भएको कार्यालय प्रमुख मिजारले जानकारी दिनु भयो । २ सय भन्दा बढी विद्यार्थी संख्या भएका विद्यालयमा खोप केन्द्र स्थापना गरी अनिवार्य रुपमा यो खोप दिने तयारी रहेको बताए । सरकारले आज देखि बैशाख १८ गतेसम्म देशव्यापी अभियान सञ्चालन गर्ने घोषणा गरे पनि भक्तपुरमा एक हप्ता भित्र सबै विद्यार्थीको पहुँचमा खोप पुर्याउन सकिने व्यवस्था साथ खोप अभियान आजबाट सुरु भएको बताउनु भयो । यो अभियानबाट छुटेको बालबालिकालाई नियमित खोप अन्तर्गत दिने गरी खोप व्यवस्थापन समेत गरिने भएकाले १५ महिना देखि १५ वर्ष सम्मका बालबालिकाहरुलाई टाइफाइड विरुधको खोप लगाउन दिएर टाइफाइडबाट जीवनभर सुरक्षित बनाउन सम्पूर्णमा उहाँले अनुरोध गरेको छ ।