बिस्काबारे जात्राबारे सद्भाव ¥याली तथा सचेतना कार्यक्रम सम्पन्न

बिस्काबारे जात्राबारे सद्भाव ¥याली तथा सचेतना कार्यक्रम सम्पन्न
२०७८ चैत्त २७ गते, आइतबार
२०७८ चैत्त २७ गतेबाट सुरु हुने भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक बिस्का जात्रा शान्तिपूर्ण, मर्यादित र सुरक्षित ढंगले मनाउन आह्वान गर्दै भक्तपुर नगरपालिकाको आयोजनामा आइतबार सद्भाव ¥याली तथा जनचेतना कार्यक्रम सम्पन्न भयो ।
भक्तपुरको टौमढीमा आयोजित उक्त सभामा सम्बोधन गर्नुहुँदै नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालले भक्तपुरको प्रसिद्ध बिस्का जात्रा समयमै सम्पन्न गर्न सरोकारवाला निकायहरुले आआफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
भक्तपुरको सभ्यता र संस्कृतिलाई जोगाउन भक्तपुर नपाबाट आयोजित सद्भाव ¥यालीमा नयाँ पुस्ताको उत्साहप्रद सहभागिता रहेको उल्लेख गर्नुहुँदै विश्वमै भक्तपुरको बिस्का जात्राको विशेष महत्व भएको हुँदा बिस्का हेर्न आउने सबैलाई जात्रा सभ्य, भव्य र सुरक्षित बनाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले बिस्का जात्रा भक्तपुरको प्रसिद्ध जात्रा भएको हुँदा यसलाई सभ्य तरिकाले सम्पन्न गर्न सरोकारवाला निकायहरुसँग समन्वय गरी जात्रा समयमा सम्पन्न गर्न आग्रह गरिरहेको बताउनुभयो ।


आजबाट सुरु हुने बिस्का जात्रा सभ्य र भव्य रुपमा सम्पन्न गर्न सबैको संयुक्त प्रयास जरुरी रहेको बताउनुहुँदै प्रमुख प्रजापतिले जात्राको समयमा हुने उच्छृंखल गतिविधि हुन नदिन सबैजना सचेत हुनुपर्ने र जात्रालाई सहज रुपमा सञ्चालन गर्न सबैले आआफ्नो क्षेत्रबाट भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
विद्यार्थीहरुलाई यहाँको सांस्कृतिक सम्पदाको महत्वबारे थाहा दिन अनेक प्रयासहरु गर्दै आइरहेको बताउनुहुँदै भक्तपुरको मूर्त र अमूर्त सम्पदा संरक्षणमा नपाले जोड दिँदै आइरहेको बताउनुभयो ।
भक्तपुरलाई संसारकै जीवित संग्रहालयको रुपमा जीवित राख्ने प्रयासमा नपाले आवश्यक पहलहरु गर्दै आइरहेको उहाँले बताउनुभयो ।
भक्तपुर जिल्लाका प्रजिअ रुद्रादेवी शर्माले भक्तपुरको गौरव बढाउने बिस्का जात्रामा आवश्यक शान्ति सुरक्षाको निम्ति व्यवस्था मिलाउने प्रतिबद्धता जनाउँँदै जात्रालाई विगतको भन्दा अझ व्यवस्थित र अनुशासित रुपमा सम्पन्न गर्न सबैको सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै गुठी संस्थान भक्तपुरका कार्यालय प्रमुख खिमा ओलीले भक्तपुरको धार्मिक र सांस्कृतिक रुपमा महत्व बोकेको प्रसिद्ध बिस्का जात्राबारे कार्यतालिका प्रस्तुत गर्नुहुँदै बिस्का जात्रा समन्वय, सहकार्य र समझदारीको आधारमा भव्य, सभ्य र सुरक्षित तरिकाले सफल पार्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।
सचेतना कार्यक्रम सुरु हुन अगाडि भक्तपुर नपा वडा नं. ९ को सूर्यमढी र भनपा १ दुधपाटीबाट सुरु भएको सद्भाव ¥याली टौमढीमा पुगी सभामा परिणत भएको थियो । ¥यालीमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, भनपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री र भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले पनि बोल्न्ुभएको थियो । सचेतना कार्यक्रममा भक्तपुर नपाका जनप्रतिनिधि, विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, विद्यालय, कलेज, टीम क्लब खेलकुद समिति, सुरक्षाकर्मी, प्रहरी, रेडक्रस, स्काउट, सांस्कृतिक समूह र स्थानीय जनताको उपस्थिति रहेको थियो ।