आज सहिद दिवस, राष्ट्रपति र प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जली व्यक्त ।
आजसहिद दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । प्रत्येक वर्ष माघ १६ गतेका दिन मनाइने दिवसको अवसरमा आज पनि सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै यो दिवस मनाइँदैछ । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन समर्पण गर्ने सहिदको सम्झनामा सहिद दिवस मनाउने गरिन्छ । वि.सं. २०१२ देखि तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाउन थालिएको हो । स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए । सहिद दिवसको अवसरमा आज बिहान शान्तिवाटिका रत्नपार्कदेखि सहिद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ । कोरोनाको तेस्रो भेरियन्ट सक्रिय रहेकाले सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर कार्यक्रम गर्ने तयारी काठमाडौं महानगरपालिकाले गरेको छ ।
दिवसको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले सहिदहरूको बलिदानद्वारा प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जलि हुने बताउनुभएको छ । दिवसले सम्पूर्ण राजनीतिक दल, आम जनसमुदाय र सम्बद्ध सबैलाई नेपाल राष्ट्र र नेपाली जनताको हित र अधिकारका लागि सहादत प्राप्त गरेका सहिदको आकाङ्क्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुने आँट र हौसला प्रदान गर्न सकोस् भन्ने कामनासमेत उहाँले गर्नुभएको छ ।
यस्तै प्रधानमन्त्री शेर बहादुर देउवाले व्यक्तिगत स्वार्थ नराखी समग्र मुलुकको विकास र रुपान्तरणका लागि सहिदको सहादत, बलिदान र त्यागले नै मुलुकमा ठूला राजनीतिक परिवर्तन सफल भएको बताउनुभएको छ । सहिद दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले सहिदहरूकै कारण जनताको शासन स्थापित हुन सकेको उल्लेख गर्नुभयो ।वि.सं. २००७ को एकतन्त्रीय जहानिया राणाशासनविरुद्धको क्रान्तिदेखि २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलन तथा २०६२÷६३ मा लोकतन्त्र स्थापनाका लागि भएको आन्दोलनलगायत विभिन्न राजनीतिक परिवर्तन सहिदकै त्याग, तपस्या र बलिदानबाट सफल भएको प्रधानमन्त्रीको भनाइ छ ।












