डेंगुका विरामीले ख्वप अस्पताल भरियो, जनचेतनामूलक र्याली आयोजना
भक्तपुर, असोज १५ गते
संक्रामक डेंगु रोग बारे जनचेतना अभिवृद्धिका लागि भक्तपुर नगरपालिकाले आज विहान जनचेतनामूलक र्याली आयोजना गरेको छ । भक्तपुर नगरको दुधपाटीबाट सुरु भएको सो र्यालीमा जनप्रतिनिधी, स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी एवं सहकारी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको सहभागिता थियो । ठाउँ ठाउँमा चुन, फिंडेल छर्कदै, पर्चा वितरण र पम्प्लेटहरु झुण्ड्याउँदै डेंगु रोग रोकथाममा सचेतना अभियान सञ्चालन गरेका हुन ।
लामखुटे, भुसुना प्राणी हुन, यिनको टोकाईले स्वास्थ्यमा ठूलो खतरा ल्याउन सक्छ भन्दै विभिन्न जनचेतनामूलक प्लेकार्ड र ब्यानर बोक्दै सहभागि समुदायले दुधपाटी, नासमना, तौमढी, स्कूलढोका , दत्तात्रय, सूर्यमढी हुँदै च्याम्हासिंहस्थित ख्वप अस्पताल पुगेर सभा आयोजना गर्दै डेंगु ज्वरोबाट सुरक्षित व्यवहारका लागि नगरवासीहरुमा अनुरोध गरेका हुन ।
भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिको अगुवाईमा आयोजना भएको सो र्याली पश्चातको सभामा बोल्नु हुदै नगर प्रमुख प्रजापतिले दशैको मुखमा डेंगु रोग संक्रामक रुपमा जनस्तरमा फैलिएर अस्पताल भरिभराउ भइसकेकाले डेंगु रोगबाट बच्न नगरवासीहरुलाई सुरक्षित व्यवहारका लागि आग्रह गर्नु भयो ।
उहाँले डेंगु मात्र होइन अन्य संक्रामक रोगबाट पनि बच्न खानपिनमा ध्यान दिन आग्रह गर्नु भयो । दसै पर्वमा सबैले आनन्दित हुन गरिने गतिविधिले स्वास्थ्यमा असर नपरोस, दुर्घटना नहोस, कोही अपांग नहोस भन्दै नगर प्रमुख प्रजापतिले सभ्य नगरवासीको भुमिकामा रहन नगरवासीमा आग्रह गर्नु भयो ।
सो कार्यक्रममा ख्वप अस्पतालका डाक्टर अमर प्रजापतिले डेंगु रोगलाई सामान्य रोगको रुपमा मात्र नलिई लक्षण देखिने बितिक्कै चिकित्सकको सल्लाह लिएर मात्र औषधीको सेवन गर्न आग्रह गर्नु भयो ।
डेंगुलाई सामान्य रुपमा मात्र लिंदा धेरैको ज्यान गइ सकेकाले लक्षण देखिने बितिक्कै सचेत रहन आग्रह गर्दै संक्रमितलाई टोकेको लामखुटेले टोकेपछि परिवारका अन्य सदस्य तथा छरछिमेकीलाई समेत संक्रमण फैलिन सक्ने भएकाले संक्रमतिलाई झुलभित्र सुरक्षित रुपमा राख्न र आवश्यक उपचारमा सहयोग गर्न आग्रह गर्नु भयो ।
यसै गरी ख्वप असपतालका डाक्टर रत्न सुन्द र लासिवाले भक्तपुर नगरमा मात्रै ५३० जनामा डेंगु संक्रमण पुष्टि भइसक्दा जिल्लाभर २० औं हजारमा संक्रमण फैलिसकेको हुन सक्ने भएकाले थप सचेतनाको आवश्यकतामा जोड दिनु भयो । सो अवसरमा जनप्रतिनिधीहरु रविन्द्र ज्याख्व, उपेन्द्र सुवाल, हरिराम सुवाल लगायतले नगरका ठाउँ ठाउँमा डेंगु रोगबाट सुरक्षित व्यवहारका लागि आआफ्नो धारणा व्यक्त गरे गरेका थिए ।













