लक्ष्मी नरसिंह मन्दिर पुनःनिर्माण निर्देशक समितिको बैठक बस्यो
२०७८ मंसिर २६, आइतबार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नपा वडा नं. ४ मा अवस्थित लक्ष्मी नरसिंह मन्दिर पुनःनिर्माण निर्देशक समितिको बैठक मंसिर २६ गते बस्यो ।
बैठकमा नगर प्रमुख प्रजापतिले विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुरन पा वडा नं. ४ गःहिटीस्थित प्राचीन सम्पदा लक्ष्मीनरसिंह मन्दिरको शिलान्यास मिति २०७८ मंसिर २७ गते सोमबार बिहान ८ः३० बजे नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)को प्रमुख आतिथ्यमा शिलान्यास हुने जानकारी गराउनुभयो ।

बैठकले भक्तपुर नपा वडा नं. ४ गःहिटीस्थित प्राचीन सम्पदा लक्ष्मी नरसिंह मन्दिर पुनःनिर्माणको क्रममा प्रयोग भएका वा प्रयोग गरिने सामाग्री तथा सांस्कृतिक एवम् ऐतिहासिक महत्वका सामाग्रीहरुको व्यवस्थित अभिलेखीकरण गरी भक्तपुर नगरपालिका, जिल्ला प्रशासन कार्यालय भक्तपुर, महानगरीय प्रहरी परिसर भक्तपुर, गुठी संस्थान भक्तपुर र पुरातत्व विभागको कार्यालय भक्तपुरमा एक एक प्रति सुरक्षित राख्ने निर्णय गर्यो ।
बैठकले लक्ष्मी नरसिंह मन्दिर पुनःनिर्माण कार्यको क्रममा आवश्यक सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउन उपभोक्ता समितिमार्फत आवश्यक सुरक्षाको प्रबन्धको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय भक्तपुर र महानगरीय प्रहरी परिसर भक्तपुरलाई दिने निर्णय गर्यो ।
मन्दिर पुनःनिर्माणको लागि स्वेच्छाले आर्थिक सहयोग, चन्दा, दान, दाताब्व्य दिन चाहने तथा श्रमदान गर्न संघ संस्था, गुठी, टीम, क्लब तथा सर्वसाधारण जनतालाई सहयोगको लागि आह्वानको लागि सार्वजनिक सूचनामा प्रकाशन गर्ने बैठकले निर्णय गर्यो ।
बैठकमा लक्ष्मी नरसिंह मन्दिर पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष शिवराम किजुले पुनःनिर्माणसम्बन्धी हालसम्मको कार्य प्रगति विवरण प्रस्तुत गर्नुभयो ।
प्रस्तुत प्रतिवेदनअनुसार हालसम्म उक्त मन्दिर पुनःनिर्माणको लागि रु. ९४ लाख ९० हजार ५३।७३ खर्च भइसकेको र मन्दिर पुनःनिर्माण कार्य शुभारम्भदेखि हालसम्म रु. २ लाख ३९ हजार ७१ आर्थिक सहयोग उठेको जनाइएको छ ।















