भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठलाई बिदाइ

भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठलाई बिदाइ
२०७८ मंसिर २६, आइतबार
भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठलाई बिदाई गरिएको छ ।
भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले धनगढी उपमहानगरपालिकामा उपसचिव पदबाट सहसचिव पदमा प्रथम श्रेणीमा बढुवा भई सरुवा हुनुभएका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठलाई भादगाउँले टोपी र दोसल्ला ओढाईदिनुका साथै भक्तपुरको मौलिक ‘आँखी झ्याल र नगरपालिकाका प्रकाशनहरु मायाको चिनोस्वरुप दिएर बिदाई तथा बधाईज्ञापन गर्नुभएको हो ।


सोही क्रममा नगर प्रमुख प्रजापतिले भक्तपुरमा १ वर्ष ४ महिनाको कार्यकालमा बिताउनुभएका श्रेष्ठलाई इमानदार कर्मचारीको उत्कृष्ट उदाहरणको रुपमा रहेको बताउनुहुँदै क्षमतावान कर्मचारीले आफू सेवा निवृत्त भइसकेपछि पनि देश र जनताको सेवा गर्नुपर्ने विचार प्रकट दिनुभयो ।
जनताको आँखामा भ्रष्टाचार र अनियमित काम गर्ने कर्मचारीहरुप्रति नकारात्मक धारणा हुने बताउनुहुँदै प्रमुख प्रजापतिले समयको परिपालनामा जनप्रतिनिधि र कर्मचारीहरुले विशेष ध्यान पु¥याउनुपर्ने बताउनुभयो ।
संकटको समयमा व्यक्तिको सही मूल्यांकन हुने बताउनुहुँदै उहाँले ख्वप अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका क्रममा जनताबाट पाएको आर्थिक र भौतिक सहयोगका कारण भक्तपुरका जनता र जनप्रतिनिधि एकताबद्ध छन् भन्ने बलियो आधार पुष्टि भएको बताउनुभयो ।
नगरपालिकाका उपप्रमुख रजनी जोशीले प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ भक्तपुर नपाका कर्मचारीहरुका कुशल प्रशासक र मागदर्शकको रुपमा रहन सफल भएकोमा बधाई दिनुहुँदै कोभिड महामारीमा उहाँले पु¥याउनुभएको साथ र योगदानको लागि धन्यवादज्ञापन गर्नुभयो ।
भक्तपुर नपाका प्रप्रअ रामलाल श्रेष्ठले भक्तपुर नगरपालिकाको बसाई सुखद, सफल र प्रेरणादायी भएको बताउनुहुँदै देशकै नमुना नगरपालिकामा बसी काम गर्न पाउनुमा गौरवान्वित महसुस भएको बताउनुभयो ।
भक्तपुर नगरपालिका देशको ७५३ वटा नगरपालिकाभन्दा कार्यशैलीगत हिसाबबाट फरक र पृथक भएको बताउनुहँुदै भक्तपुर नपाले स्वात्तताको अभ्यास गर्दै समाजवादी दर्शनअनुसार गरेको काम र ख्वप मोडलबाट आफू निकै प्रभावित भएको बताउनुभयो ।
आफ्नो कार्यकालमा भक्तपुर नपाका कर्मचारीहरुको वृत्तिविकास गर्न पाएकोमा खुशी भएको र कर्मचारीहरुले आफ्नो दक्षता अभिवृद्धि गर्न निरन्तर अध्ययनमा जोड दिनुपर्ने पनि उहाँले बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले भक्तपुर नपाको उद्देश्य पूर्तिमा श्रेष्ठले खेलेको भूमिका सकारात्मक भएको बताउनुहुँदै उहाँ सक्षम प्रशासकीय अधिकृतको रुपमा रहन सफल भएको बताउनुभयो ।
उक्त कार्यक्रममा भनपा ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्व, नेपाल नगरपालिका कर्मचारी एशोसियसन भक्तपुरका अध्यक्ष गौतमप्रसाद लासिवा र भक्तपुर नपाका प्रशासकीय अधिकृत दामोदर सुवालले पनि श्रेष्ठको कार्यशैलीबाट नगरपालिको विकासमा पुगेको भूमिकाहरुबारे प्रष्ट पार्नुभएको थियो ।
भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ २०७७ साल साउन २८ गते सुनवल नगरपालिकाबाट भक्तपुर नगरपालिकामा सरुवा भई आउनुभएको थियो ।