आकस्मिक सप्ताह व्यापी रक्तदान सुरु,पहिलो दिन ३७ प्याकेट रगत संकलन
भक्तपुर, जेष्ठ ४गते
निषेधाज्ञाको बीचमा रगतको अभाव हुन नदिनका लागि शुक्रबार देखि भक्तपुरमा आकस्मिक सप्ताहव्यापी रक्तदान कार्यक्रम सुरु भएको छ । पहिलो दिनमा शुक्रबार ३७ प्याकेट रगत संकलन भएको आयोजक भक्तपुर चेम्बर अफ कमर्श र भक्तपुर लायन्स सेवा समन्वय समितिले जनाएको छ । आयोजक समितिको संयुक्त संयोजनमा संचालन भईरहेको सेवा परमो धर्म अभियान अन्तर्गत सप्ताह व्यापी रक्तदान कार्यक्रमको पहिलो दिन शुक्रबार लान्चा फल्चा, कमलविनायकमा आकस्मिक रक्तदान कार्यक्रमको आयोजना गरी सप्ताह व्यापी रक्तदान कार्यक्रम सुरु गरेको थियो । कोभिड १९ महामारीका बीच रगतको अभावलाई न्यूनिकरण गर्ने उद्देश्य अनुरुप उक्त रक्तदान कार्यक्रमको आयोजना भएको हो । भक्तपुर जिल्लाका विभिन्न स्थानहरुमा सप्ताहव्यापी रुपमा आयोजना गरिने उक्त कार्यक्रम अन्तर्गत शुक्रबार ९ महिला र २८ पुरुषबाट गरी ३७ प्याकेट रगत संकलन भएको भक्तपुर चेम्बर अफ कमर्श, प्रमुख कार्यकारी अधिकृत, राजु मान बज्राचार्यले जनाएको छ ।

उक्त रक्तदान कार्यक्रमको संयोजन भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघबाट भएको उहांले बताउनु भयो । साथै रक्तदान कार्यक्रममा ब्लोडान भक्तपुर र पायोनियर ओपन क्रुको विशेष सहयोग रहेको थियो । अभियानलाई सफल रुपमा सञ्चालन गर्नका लागि जिल्ला प्याब्सन भक्तपुर, भक्तपुर डाक्टरस् सोसाइटी, भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघ, नेपाल नसिंड्ड संघ, सिबिआर भक्तपुर, भक्तपुर हार्ट एण्ड डायेवेटिक सेन्टर, निरोग मेडिकल केयर एट होम, भक्तपुर पार्टि प्यालेस तथा क्याटरिड्ड संघ र त्रिनेत्र बचत तथा ऋण सहकारी संस्था लि. को सहकार्य रहदै आएको छ ।
सप्ताहव्यापी रक्तदान कार्यक्रम अन्तर्गत नै आषाढ ५ गते मध्यपुरथिमि बालकुमारी, ६ गते टुरिजम मार्केट, सूर्यविनायक, ७ गते, मध्यपुरथिमि राधेराधे, ८ गते सल्लाघारी कम्प्लेस, सल्लाघारी, ९ गते नर्थ प्वाइन्ट मल, बोडे र १० गते च्याम्हसिंह भक्तपुरमा रक्तदान कार्यक्रम हुने छ ।














