भक्तपुर पनि उच्च संक्रमित जिल्लाः संक्रमित संख्या ७१८, ११ को मृत्यु १४८ कोरोना मुक्त
भक्तपुर, भाद्र २१ गते
भक्तपुर पनि कोरोना संक्रमित उच्च जोखिम युक्त जिल्लामा परेको छ । ५०० भन्दा बढी संक्रमित भएको जिल्लालाई उच्च संक्रमित जिल्लाको रुपमा लिने गरिएको हो । जिल्लामा कोरोना संक्रमितको संख्या ७ सय १८ पुगेको छ । त्यसैले यस जिल्लालाई पनि कोरोना उच्च संक्रमित जिल्लाको रुपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप सर्तकता अपनाउन आग्रह गरेको छ । संक्रमितको संख्या बढेसँगै सुरुमा प्रदेश सरकारले ५ सय बेडको आइसोलेसन बनाउने भनिए पनि अहिले २ हजार बेडको आइसोलेसन बनाउने तयारी थालेको छ ।
भक्तपुरमा आईतबारसम्म संक्रमित हुनेहरुमा ३०५ महिला र ४१३ पुरुष सहित ७१८ जना संक्रमित भएका छन् । संक्रमित मध्ये ६० महिला र ८८ पुरुष सहित १४८ जना भने कोरोना मुक्त भइ सकेका छन् । अहिले जिल्ला भरी सक्रिय संक्रमितको संख्या २४० महिला र ३१९ पुरुष सहित ५४९ जना रहेका छन् । मृत्यु हुनेको संख्या भने ५ महिला र ६ पुरुष सहित ११ जना पुगेको छ ।
स्वास्थ्य मन्त्रालयले आईतबार ३२ जना संक्रमित पुष्टि गरिए पनि स्वास्थ्य कार्यालय भक्तपुरले २८ जनाको विवरण प्रस्तुत गरिएको छ । आईतबार भक्तपुर नगरपालिकाका ६ महिला र ११ पुरुष सहित १७ जना, मध्यपुर थिमी नगरपालिकाका २ महिला र ३ पुरुष सहित ५ जना, सूर्यविनायक नगरपालिका २ महिला र ३ पुरुष सहित ५ जना र चाँगुनारायण नगरपालिकामा १ पुरुष थप संक्रमित भएका हुन । आईतबार १० महिला र १८ पुरुष सहित २८ जनामा थप कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालय भक्तपुरले पुष्टि गरेको हो ।














